site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
प्रदेश सरकार : इतिहास रच्ने कि बन्ने ?

देशमा व्याप्त बेथिति, गरिबि, पछौटेपन, भेदभाव तथा सीमान्तीकरणजस्ता एकात्मक प्रमाणीका कमजोरीबाट देखिएका समस्या समाधान गर्न संघीय प्रणालीको सुरु गरिएको हो । तर, यो व्यवस्था नेपालमा कार्यान्वयन हुँदाका बखतदेखि नै आलोचित बन्न पुग्यो । अहिले साधारण जनताको मानसपटलमा ‘संघीयता’ भन्नासाथ ‘एकदम खराब किसिमको’, ‘खारेज गरिहाल्नुपर्ने व्यवस्था’ को चित्र बन्न थालेको छ । व्यवस्था फेर्ने लडाइँ सकियो अब अवस्था फेर्ने हो भनिरहँदा संघीयताप्रति यस खालको धारणा बढ्नु दुःखद पक्ष हो ।

यथार्थमा संघीयताको वास्तविक अभ्यास प्रदेश सरकारले गर्ने हो । संघीय प्रणालीको आधारभूत मर्मभन्दा परम्परागत केन्द्रीकृत सोच र भावनात्मक तथा सतही व्यवहार गरिँदा यसले जनताको विश्वास जित्न नसकेको हो । मूलतः प्रदेश सरकारको जटिल पाटो अधिकार बाँडफाँट र शक्ति सन्तुलनमा देखिएको छ । 

नेपालको संविधानमा तीनवटै तहका एकल तथा साझा अधिकार सूची (अनूसूची ६, ७ र ९) को व्यवस्था छ । तर, यिनीहरूबीच संघीयताको मर्मअनुरुप समन्वयको अभाव देखिन्छ । प्रदेशलाई चाहिने तर संघले बनाइदिनुपर्ने कानुनहरू समयमा नबनाइदिएर, प्रदेश र स्थानीय तहका अधिकारक्षेत्रमा संघीय सरकारले कब्जा जमाएर बस्दा पनि प्रदेश सरकार कमजोर बनिरहेका छन् । यसरी कसिइरहेको गाँठो फुकाउनुको साटो संघले प्रदेशमाथि थिचोमिचो गरिरहेको छ । यस्तै प्रकारका जटिलतालाई फुकाउन व्यवस्था गरिएको राष्ट्रिय समन्वय परिषदको बैठक नै नबसी किन टारिने गरिएको हो ? संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को कार्यान्वयनमा तदारुकता किन नदेखाइएको हो ? अहिले प्रश्न उठेको देशको व्यवस्था बेठीक हो कि व्यवस्थापक बेठीक हुन् ?

KFC Island Ad
NIC Asia

प्रादेशिक संरचना संघको प्रशासनिक इकाइमात्र होइनन् । संघको मातहतमा प्रदेश वा प्रदेशको मातहतमा स्थानीय तह हुने नभई यिनीहरू संविधानप्रदत्त अधिकारसम्पन्न स्वतन्त्र अस्तित्व भएका निकाय हुन् । संघीयताको वास्तविक मर्म यही हो ।

स्थानीय तह जनतासँग प्रत्यक्ष जोडिने हुने हुँदा नागरिकले हेर्दा आफूसँग जोडिँदै नजोडिएको प्रदेश सरकारको काम जनताले देख्न नसकेका पनि होलान् । तर, यसो भनेरमात्र प्रदेश सरकारले उन्मुक्ति पाउँदैन । प्रदेश सरकार अहिले निकम्माजस्तो देखिएको त आफूले पाएको अधिकारलाई ठीकसँग प्रयोग गर्न नसकेर हो । न त प्राप्त अधिकार उपयोग गर्न सक्ने न संघमा आफ्नो अधिकारबारे कुरा राख्न सकेको देखिएको छ । बरु माथिबाट जता चलायो उतै चल्ने कठपुतली बनेको छ । होइन भने आफ्नो अधिकार माग्न कसले रोक्यो ? मागेर पाइएन भने खोसेर लिने ल्याकत प्रदेशले राख्नुपर्छ । प्रदेशलाई अधिकार नै दिइएन भनेर अन्यत्र दोषारोपण गरेर पन्छिन मिल्छ ?

Royal Enfield Island Ad

प्रदेशको जति अधिकार हो त्यही अधिकार पनि प्रयोग गर्न नसक्ने, प्रदेशवासीलाई के गर्छु, कसरी गर्छु, कहिलेसम्म गर्छु भन्ने विश्वासिलो खाका देखाउन नसक्नेले दोषमात्र दिन मिल्दैन । अहिले प्रदेश सरकारप्रति जनआक्रोश बढ्नुमा मूख्य जिम्मेवार प्रदेश कै भद्दा प्रशासनिक संयन्त्र अनि त्यहाँका गन्जागोल प्रतिनिधि हुन् । प्रदेश सरकारका पदाधिकारीले सुविधाभोग गर्नमा भने उस्तै परे संघलाई नै उछिनेका छन् । मिलेसम्मको सुविधा बढाउन, आसेपासे पोस्न, गाडी, स्वकीय, सुरक्षाकर्मी, आवास, तेल, तलबभत्ताजस्ता सुविधा पाउन मिल्नेजति सबै उपाय अपनाएकै छन् । खल्तीबाट योजना बाँढ्ने, पाएसम्म त्यसमै कमिसन असुल्न खोज्ने सुविधाभोगी नेता, सांसद, मन्त्रीले चाहिँ सच्चिनु पर्दैन र ?

हाम्रा नेता, सांसद, मन्त्रीलाई हेरौँ त ! उनीहरूलाई दिनरात फुर्सद छैन । एक घन्टा कसैसँग राम्ररी कुराकानी गर्ने समय निकाल्न तिनका स्वकीयहरूलाई हम्मेहम्मे पर्छ । यद्यपि, उनीहरू जताततै कुदिरहेका पुगिरहेका हुन्छन् । यसरी दिनरात काम गर्नेहरूसँग जनता किन आशावादी नभएका हुन् ? गम्भीर प्रश्न उठेको छ जनताका प्रतिनिधि दिनरात नभनी कसका लागि खटिएका हुन् ? साँच्चै जनता कै लागि हो ? सांसद, मन्त्रीलाई आफू केका लागि त्यहाँ छु र भइरहेको के छ भनेर मनन गर्ने पनि फुर्सद देखिएन । यसरी एकछिन फुर्सद नलिई काम गर्दा पनि प्रदेशले विनियोजित विकास बजेट अपेक्षा गरिए जति खर्च गर्न किन नसकेको हो ?

सरकार भन्नासाथ दृश्यमा विकास, दृष्टिकोण, कार्ययोजना, नीति, अनुसन्धान, समुन्नत जनजीवन जस्ता कुरा देखिनुपर्नेमा बेथिती, भ्रष्टाचार, फोस्रा भाषण, अतिरञ्जित प्रचारवाजी, चिल्ला गाडी, अनावश्यक रवाफका परिदृश्य किन आउन थाले ? प्रदेश सरकारको काम आफ्नो सुविधा थप्न मनपरी कर लगाउने, जनताको सुविधा घटाउने हो ?

अब प्रश्न उठ्छ के प्रदेश तहको काम नै छैन त ? कतिपयले भनेझैँ प्रदेश सेतो हात्ती नै हो र ? नेपालको प्रदेश संरचना खर्चिलो अवश्य छ तर यसको औचित्य नै छैन भन्न हतार हुन्छ । प्रदेश सरकार खर्चिलो र बोझिलोमात्र छैन उपयोगी पनि छ । प्रादेशिक खर्च धान्न के गर्ने हो अहिलेसम्म कुनै भरपर्दो अनुसन्धान भएको छैन । यसमा सबैले चिन्ता र चासोका साथ काम गर्नुपर्छ । उत्पादन शून्यताले संघको स्रोतमा नै निर्भर हुनुपर्ने भएपछि राजनीतिक लाभका लागि राज्यस्रोतको मनोमानी बाँडीचुडी गर्न छोड्नुपर्छ । साँढे पाँचसय सांसद सङ्ख्या, अनावश्यक राजनीतिक पद तथा भद्दा प्रकृतिको प्रशासनिक संरचनालाई चुस्त बनाउनुपर्छ ।

प्रदेश स्तरमा स्थापना गरिएको प्रदेश योजना आयोगलाई मन्त्रालयको शाखाजस्तो गरी खुम्च्याइएको छ । आयोगलाई थप वैज्ञानिक, व्यवस्थित, सबल र प्रभावकारी बनाइनुपर्छ । आयोगलाई अधिकारसम्पन्न बनाई प्रादेशिक विकासको मोडेल के हो ? स्पष्ट खाका तयार पारिनुपर्छ । स्थानीय सरकारसँग समन्वय प्रभावकारी बनाउँदै टुक्रे योजना बाँड्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्छ । आफ्नो क्षेत्रको विकासका लागि मन्त्रीका क्वाटरमा फाइल बोकेर धाउनुपर्ने भए संघीयता किन चाहियो ? मुख्यमन्त्री र मन्त्रीका क्षेत्रमा, उनीहरूसँग विचार मिल्ने पालिका प्रमुख भए बढी बजेट पाउने अन्यायपूर्ण प्रवृत्ति अन्त्य गरी योजना छनौट गर्दा आवश्यकता र प्राथमिकतामा विचार पुर्‍याइनुपर्छ ।  

नीति निर्माण, सीमा रक्षा, मुद्रा, परराष्ट्र सम्बन्धबाहेक प्रदेशभित्र राख्नुपर्ने विषय केन्द्रले किन कब्जा गरेर राखेको हो ? या त प्रदेशमाथि विश्वास छैन भन्न सक्नुपर्‍यो होइन भने अधिकारलाई ओगटेर राखेर प्रदेशलाई मात्र प्रश्न उठाउन पाइँदैन ।

प्रहरी र निजामती सेवा सरकार संचालनको न्यूनतम आवश्यक आधार हुन् । तर, प्रदेश लोकसेवा आयोग, दण्ड सजाय र प्रहरी परिचालनको अधिकार प्रदेशले पाएकै छैनन् । संघले खटाएका केन्द्रीकृत मानसिकताका कर्मचारी संयन्त्रसँग काम गर्नुपर्दा सरकार र कर्मचारी संयन्त्रबीच सामञ्जस्य देखिँदैन । नाममा संघीयता राखेर शक्ति काठमाडौंमा नै केन्द्रित राखिएको छ । प्रदेश सरकारका न्यूनतम कामकाज सञ्चालन गर्न आवश्यक बाटो संघले खोलिदिनुपर्छ । संघीय सरकारसँग प्रदेशले कुनै सरोकार राख्नुपर्‍यो भने मुख्य सचिवमार्फत ‘बक्साउनुपर्ने’ घुमाउरो संरचना किन राखिएको हो ? प्रदेश तहका राजनीतिक नेतृत्व काबिल छैनन् कि अविश्वास गरिएको हो ? यस्तै समस्याको निराकरणार्थ निर्माण गरिएका राष्ट्रिय समन्वय परिषद, प्रदेश समन्वय समिति, अन्तर प्रदेश परिषद जस्ता जिम्मेवार तर मृतप्रायः निकायलाई क्रियाशील बनाएर त्यहाँबाट सार्थक प्रयास गरिनुपर्छ ।

अर्को महत्त्वपूर्ण विषय नेपाल बहुदलीय संसदीय व्यवस्था भएको मुलुक हो । दलीय व्यवस्थामा सरकारको कार्यकौशल प्रर्दशनमा राजनितिक दलको महत्त्वपूर्ण भूमिका हुन्छ । तर, नेपालका मुख्य दलहरूको प्रादेशिक समिति झन् अस्तव्यस्त छन् । दलहरूले आफ्ना प्रतिनिधिलाई रचनात्मकरूपमा निर्देशित गर्न सकिरहेका छैनन् । दलका प्रादेशिक समितिले जनता र सरकारबीच समन्वय गर्ने, पैरवी तथा आवश्यक सहायता गर्नुपर्ने हो । पार्टीका केन्द्रीय शक्ति केन्द्रले पनि प्रदेश समितिरलाई स्वायत्तता दिन कन्जुस्याइँ गरिरहेका छन् । आफ्नो दलले नेतृत्व वा साझेदारी गरिरहेको प्रदेश सरकारलाई प्रभावकारी बनाउन आवश्यक सहयोग, निर्देशन, समन्वय तथा सचेत खबरदारी जरुरी छ । प्रदेश समितिहरूलाई केन्द्रले अनावश्यक च्यापेर थिलथिलो बनाउने गरी प्रदेश समितिले गर्ने काममा हस्तक्षेप गर्न छोड्नुपर्छ । प्रदेशको सरकार कस्तो बनाउने ? निर्वाचनमा कस्तो उम्मेदवार छान्नेजस्ता अधिकारमा प्रदेश समितिलाई स्वायत्तता दिनुपर्छ । यहाँ त प्रदेशले निर्य गरेको उमेदवारी संघले उल्ट्याई दिन्छ । अनि यस्तो दलीय संयन्त्रमा दलले प्रदेशलाई कसरी मार्गनिर्देश गर्न सक्ला ? बरु प्रादेशिक समितिहरूलाई प्रशिक्षण, क्षमता विकास, अनुगमन, सहयोग र सकारात्मक हस्तक्षेप गरी संगठनलाई जवाफदेही, जिम्मेवार र औचित्यपूर्ण पो बनाउँदै लैजानुपर्छ त ।

प्रदेश सरकारले आफ्नो आवश्यकता र औचित्य आफैँले पुष्टि गर्नुपर्ने बेला आएको छ । अब प्रदेश सरकार कुनै संयन्त्रको जालोमा अल्झिने होइन माताहतको प्रशासनलाई दिशानिर्देश गर्न सक्नेगरी सबल बनेर आउन सक्नुपर्छ । पहिलो पाँच वर्षे कार्यकालले जनताको मन जित्न सकेको छैन । यथास्थितिमा प्रदेश चलाइरहने कि यसलाई प्रभावशाली बनाउने भनेर गम्भीररूपमा सोच्ने बेला आएको छ । प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठिरहँदा समुन्नतिको इतिहास रच्ने कि प्रदेश आफैँ इतिहास बन्ने हो भन्ने छनोट प्रदेश सभाकै सांसदहरूले गर्नुपर्छ छ ।
(सैलुङ, दोलखा) 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro