राज्यले देशको आधा जनसंख्यालाई कदर र सम्मानको नजरले हेर्न नसक्दासम्म कुनै पनि समाजको सुधार र मुलुकको विकास सम्भव हुँदैन । स्वामी विवेकानन्दका अनुसार - ‘शिक्षित र सुसंस्कृत महिला शक्तिबाट देशको भाग्य बदल्न सकिन्छ ।’ हामी भने विपरीत अवधारणा पालेर बसेका छौँ ।
कानुनमा महिला/पुरुष बराबर भनिन्छ तर व्यवहारमा विभेदका कारण नेपाली गृहिणीहरूको जीवन अत्यन्तै कष्टकर छ । आफ्नो घरपरिवारदेखि बाहिरसम्म सारा काम गर्नुपर्ने हुन्छ । यसरी सबैको ख्याल राखेर व्यवहार मिलाउँदा मिलाउँदै पनि घरमुलीहरूले घरको कामलाई खासै महत्त्व दिँदैनन् ।
पतिले बाहिर कामबाट पैसा कमाएर ल्याएकै कारण पत्नीको कामलाई गौण बनाइने गरिन्छ । देशको कतिपय क्षेत्रमा विशेषगरी ग्रामीण भेगमा पुरुष र महिलाका लागि सामाजिकीकरणको मापदण्ड फरक छ । महिलाबाट मृदुभाषी सुन्दर, शान्त र चुप लाग्न, निश्चित तरिकाले हिँड्न, कुरा गर्न र फरक व्यवहार गर्ने अपेक्षा गरिन्छ । यसको उल्टो पुरुष भने आफ्नो इच्छानुसार समाजमा जस्तो पनि व्यवहार देखाउन स्वतन्त्र हुन्छ ।
देशको आधा जनशक्ति आज पनि सामाजिक बन्धनबाट मुक्त हुनसकेको छैन । उनीहरुको आफ्नो स्वतन्त्र अस्तित्वलाई अझै पनि सहजै स्वीकार्ने अवस्था छैन भन्दा सायद अतिशयोक्ति नहोला । पितृसत्तात्मक समाजमा महिलालाई जन्मैदेखि आफ्नो सुरक्षा या अस्तित्व जोगाउन पुरुषको साहरा खोज्नेगरी हुर्काइएको हुन्छ । कुनै महिला समाजमा आर्थिकरूपले स्थापित हुन वा राजनीतिमा आफ्नो छवि बनाउन खोजे भने कैयौं कानुनी बाधा अडचन, पारम्परिक रीतिरिवाजको हाउगुजी एवं व्यावहारिक समस्या आदिको तानाबाना बुनाइबाटै उनीहरुलाई दिग्भ्रमित बनाइन्छ र त्यही निर्देशनबमोजिम समाजमा ढाल्ने गरिन्छ ।
विश्वको बढ्दो विकास र देशको लोकतान्त्रिक खुलापनको प्रभावले नेपालको शैक्षिक, सामाजिक, राजनीतिक तथा आर्थिकस्तरमा महिलाको योगदानका आधारमा प्राप्त अधिकारले महिलालाई न त जीवन दिन सक्यो न त सम्मान नै । औपचारिकतामा मात्र सीमित रह्यो परिणाममा देखिएन । तथापि वर्षौंपछि शिक्षामा आएको जागरण, जीवनशैलीका दृष्टिकोण तथा धारणामा आएको परिवर्तनका कारण अब महिलाले आफ्नो भूमिका र स्थान खोज्न थालेका छन् । नेपाली श्रम बजारमा महिलाहरूको सहभागिता स्वदेशमा मात्र सीमित नभएर विदेशमा समेत पहुँच बनाएर आफ्नो कला, सीप र श्रम बेचेर घरको आर्थिक अवस्थामा सुधार गर्नुका साथै अन्तर्राष्ट्रिय जगत्मा समेत नेपाली महिलाले आफ्नो उपस्थिति जनाउँदै आएको सुखद अवस्था छ ।
अर्कातिर २१ औं शताब्दीमा पनि महिलाप्रतिको विभेद अपमान र हिंसा चलिरहने लज्जास्पद विषयले उत्तिकै शिर झुकाएको छ । अधिकांश घरपरिवारमा महिला हिंसा आफ्नै घरभित्र र नातेदारबाट हुनेगरेका छन् ।
यसबाहेक अफिस, कलकारखाना, उद्योग, सार्वजनिकस्थल, बसपार्क, बाटोघाटो, बजारआदि क्षेत्रमा महिलालाई गिद्धे दृष्टिले हेर्ने र त्यहीअनुरूप दुर्व्यवहार हुँदै आएको छ । महिलाविरुद्धका यस्ता दुर्व्यवहार पाइला पाइलामा भइरहने जटिल समस्या बनिरहेकै छ ।
यतिखेरको प्रतिस्पर्धात्मक समयमा महिला जीवनलाई सुरक्षित र सहज बनाउन त्यति सजिलो नभए पनि शिक्षित र जागरुक महिला चुल्होचौकाबाट बाहिर निस्केर पुरुषको हाराहारीमा पुग्न आफ्नो क्षमता र पहुँच बढाउँदै लगेका छन् । एउटी गृहणीका लागि खेतीपाती वस्तुभाउ, घरका बूढाबुढी, बालबच्चा र पतिको समेत ख्याल राख्नुपर्ने जिम्मेवारीको बोझ उठाउनुपर्ने भएकाले नै महिलालाई धर्तीको संज्ञा दिइएको हो ।
हिजोको दिनमा पतिको एकल कमाइमा पुरै परिवार पालिन्थ्यो भने अब त्यो समय रहेन । सहरको महँगो बसाइ र असीमित आवश्यकताले गर्दा हरेक दम्पतीले काम नगरेसम्म घरपरिवारको आवश्यकतालाई परिपूर्ति हुँदैन ।
आफ्नो सीप र योग्यताअनुसारका काम र मामका लागि कार्यालय, कलकारखाना, उद्योगहरूमा आफ्नो सक्रियता, इमानदारी र कार्यदक्षता देखाएर बाहिर नाम कमाएका महिला साँझपख आफ्नै घरभित्र पस्दा डरले बोली बन्द हुनपुग्छ र हाउभाउ व्यवहारमा समेत परिवर्तन देखिन थाल्छ । कामकाजी महिलालाई आफ्नै घरभित्र अन्य सदस्यले समेत हाँसी मजाकमा उँडाउने, बीचबीचमा कुरा काट्ने, घर सरसल्लाहमा समावेश नराउने, उनीहरुको दृष्टिकोण र सल्लाह नलिने, क्षमतालाई महत्त्व नदिने, उनीहरूको आय आर्जन र संस्कारको उपेक्षा गर्ने गरिन्छ ।
प्रातःकालदेखि बेलुकीसम्म घरको सम्पूर्ण काम सक्दा पनि उल्टै झर्को सहनुपर्ने, अरूका गल्तीमा पनि कामकाजी महिलाप्रति औंला ठड्याउने पुरानो चिन्तन र परिपाटी अझै पनि धेरै घर परिवार छ । आफ्नै घरका सदस्यबाट गरिने तुच्छ ब्यवहारका कारण हीनताबोधले महिलाहरू घरभित्रै स्वतन्त्रता खोजिरहेका हुन्छन् ।
आफ्नो बौद्धिक तथा शारीरिक श्रम खर्चेर घरपरिवारको खुसीका लागि योगदान गर्ने एउटी शिक्षित महिलाप्रति घरका सदस्यहरूले छुद्र व्यवहार गर्नुभन्दा घरकी बुहारीलाई सासुससुराले छोरी ठान्ने र बुहारीले पनि सासुससुरालाई बुबाआमासरह मान्ने हो भने घरमा न त कलह जन्मिन्छ, न त आर्थिक संकट नै आउँछ । पतिपत्नी तथा सासुबुहारीबीच उत्पन्न विवादका कारण प्रायः आर्थिक नै हुनेगरेका छन् । तसर्थ, सबैले श्रम गर्न र श्रमको सम्मान गर्न सके झिनामसिना समस्याको समाधान आफैँ खोज्न सकिनेछ ।
जागिर धेरैका लागि आर्थिक गर्जो टार्ने माध्यम बनेपनि केहीका लागि भने शारीरिक एवं मानसिक सन्तुष्टि र सामाजिक प्रतिष्ठा हासिल गर्ने माध्यम हुन्छ । जागीरमार्फत समाजसेवा हुँदै राजनीतितिर सोझिएका पनि छन् ।
कतिपयलाई खेतीपाती, स्वतन्त्र व्यवसाय गरेर घरपरिवार समालेर बस्नुमा आनन्द लाग्छ । तिनीहरू अरूको काम गरेर सन्तुष्टि पाउन चाहँदैनन् । घरको वातावरणका कारण कतिपयलाई विकल्पको रूपमा जागीर गर्नुको अर्को उपाय रहन्न । त्यस्तो बखतमा शिक्षा, सीप, कला कौशलको उपयोग गरेर निर्वाह गर्न सहज हुन्छ ।
कामकाजी महिला अरू महिलाभन्दा शारीरिक एवं मानसिकरूपले सुदृढ र सक्रिय रहेको पाइन्छ । घरको दैनिक कामकाजमा पाहुनापासा आउँदा या घरको कुनै कार्यक्रमको बखतमा कामकाजी महिलालाई समाजले हेर्ने दृष्टिकोणमा एउटा छुट्टै किसिमको सम्मान भेटिन्छ । जागीरे महिला समय अभावमा अरूको चियोचर्चो र टिकाटिप्प्णीबाट टाढा रहने गर्छन् । उनीहरूमा आत्मविश्वाससमेत देखिन्छ ।
स्वदेशमा रोजगारीका अवसर नभएपछि विदेश जानुको विकल्प रहन्न । काठमाडौं एयरपोर्टमा राति दुई बजेको घुँइचोबाटै नेपालको बेरोजगारी तथा वस्तुगत अवस्थाको आकलन गर्न सकिन्छ । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि थुप्रै मुलुक खुला गरेको छ ।
तीमध्ये हुनेखानेहरू अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा, जापानतिर जाने एउटा वर्ग छ । अर्को भुँइमान्छेहरूका लागि भारत र खाडी मुलुकहरू गन्तव्य बन्ने गरेका छन् । अब प्रत्येक घरका सदस्यले विदेशमा श्रम नगरेसम्म नेपालमा बाँच्न नसक्ने अवस्था छ भने रेमिट्यान्सविना सरकार पनि चल्न नसक्ने परिस्थिति छ । यस्तोमा आफू बाँचेर सरकारलाई समेत बचाउनुपर्ने दोहोरो जिम्मेवारी नेपाली जनताको काँधमा छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक तीनजना महिलामध्ये एकजना कुनै न कुनै रूपमा हिंसाका सिकार बनेका हुन्छन् । वैदेशिक रोजगारीमा जाने महिलामा पनि प्रायः घरेलु कामदारका रूपमा जाने महिला बढी जोखिममा पर्ने गरेका छन् ।
महिलालाई बन्धक बनाएर बढी काम लगाइएको, थोरै पारिश्रमिक दिएर श्रमशोषण गरिएको लगायत चरम यातना सहन नसकेर आत्महत्या गर्ने, भागेर दूतावासको शरणमा पुग्ने, नेपाली मिडियालाई हारगुहार माग्ने चेलीहरूको क्रन्दन र पुकार निरन्तर छ ।
महिला रोजगारीका असल पक्षसँगै सामाजिक विकृति बढाउने नकारात्मक पक्ष पनि नभएका होइनन् । वैदेशिक रोजगारीमा जाने क्रममा केही पतिपत्नी स्वदेश तथा विदेशमा परायासँग सम्बन्ध गाँस्ने, भ्रूण हत्या, सम्बन्ध विच्छेद, हत्याहिंसा, अंश मुद्दा, धन सम्पत्तिको दुरुपयोग र छोराछोरीको बिचल्ली गराउने जस्ता विकृति र विसंगतिका कारण सामाजिक संरचना खल्बल्याइरहेको छ ।
सरकारले स्वदेशमै रोजगारीको अवसर प्रदान गर्न तथा वैदेशिक रोजगारदाता र तत्सम्बन्धित निकायमाथि नियन्त्रण कायम गर्न सकेको भए ठगी र विकृति जस्ता बेथिति देखिने थिएनन् । वर्तमान लैंगिक असमान व्यवस्थाले महिलालाई घर र अफिस दुवैतिरको भूमिकामा संघर्ष गर्नुपरेको छ । त्यसको प्रभाव स्वास्थ्य तथा परिवारिक सम्बन्धमा समेत पर्ने गर्छ ।
महिलाहरूको स्थितिमा पूरै परिवर्तन आएको छ त भन्न सकिँदैन तर यो अवश्य पनि आजका महिला आफ्नो अधिकारप्रति गम्भीर र जागरुक भएका छन् भने पक्कै भन्न सकिन्छ । राज्यले पनि सोही अनुरूप कडा कानुनी व्यवस्था अपनाउन सके समाजमा देखिएका यस्ता विभेद र अपराध मेटाउन धेरै समय लाग्नेछैन ।