site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको अनौठो रमिता : बाहिर हुँदा ढुक्ने, सरकारमा गएर सडक थुन्ने ? 

काठमाडौं । ‘सरकार सत्तापक्षको संसद् प्रतिपक्षलाई !’ यो भाष्य स्थापित गराएका तत्कालीन सभामुख दमननाथ ढुंगानाको निधन भएको साता दिन बितेको छैन ।

उनै ढुंगाना स्थापित नजिरको सबैभन्दा बढी फाइदा लिने पार्टी कुनै छ भने त्यो एमाले नै हो । 

२०४८–२०५१ को संसदीय कालखण्डमा प्रमुख प्रतिपक्षी दल एमालेलाई सदनमा सत्तारुढ दल कांग्रेसको आलोचना गर्न प्रशस्त मात्रामा समय उपलब्ध गराए ।  त्यो दृश्य मन नपराएका आफ्नै पार्टीका कांग्रेस सांसदहरूलाई जवाफ दिए, ‘संसद् प्रतिपक्षको, सदनमा प्रतिपक्षले ठाउँ नपाए सडक–जंगल जान्छन् ।’ 

Argakhachi Cement Island Ad

यतिखेर एमाले सत्तारुढ छ, कांग्रेसलाई सत्ताको प्रमुख सहयोगी घटक बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्वमा छन् । अनि सदनमा विपक्षी दलहरु अधिवेशन आह्वान निम्ति संविधानतः समावेदनपत्रमा हस्ताक्षर गर्नेको संख्या जुटाउन असफल छ । अर्थात् विपक्ष कमजोर शक्ति भएको छरप्रस्ट छ ।

उही एमालेले शुक्रबार अनौठो रमिता देखायो सडकमा ! शक्ति सडकमा प्रदर्शन गर्नुको उद्देश्य के हो ? त्यो शक्ति कसलाई देखाउन खोजेको हो ? गतिलो जवाफ नेतृत्ववृत्तले आमसभामा दिएनन् ।

प्रतिपक्षमा रहँदा सडकदेखि सदनसम्म तताउने नारा लगाउँथे । सरकारमा रहँदै गर्दा पनि उसले सडकमा शक्ति प्रदर्शन गर्‍यो, काठमाडौंको मुख्य चोकमा चारैतिर सडक थुनेर, नागरिकलाई दिनभर सास्ती दिँदै ।
 
शक्ति प्रदर्शनको मूलभूत उद्देश्य सरकारले पक्राउ गरेका व्यक्तिका ‘कर्तुत’को खण्डन गर्नू रहेको देखियो । सभामा एमालेका दुई शीर्ष नेता महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरे । 

सरकारको नेतृत्व लिएको दल जसले आशाको त्यान्द्रो देखाउँला । सदनमै भन्ला– डेढ वर्षमा मुलुकलाई यो अवस्थामा पुर्‍याउछौँ । अर्थात् गठबन्धनले ०८४ सम्म मुलुकको आर्थिक अवस्था, सामाजिक अवस्थामा यसरी सुधार गर्नेछ भन्ने अपेक्षा राखेका समर्थक पनि निराश भए ।

नागरिकलाई आशा जगाउने सवालमा न त पार्टीका महासचिवले धारणा राखे न त सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीले । 

एमालेले सभाको आयोजना गरेर केवल दुईवटा सन्देश दियो । एउटा हो– एमाले कमजोर छैन । कुनै पनि पार्टीले जति सडकमा आफ्ना कार्यकर्ता उतार्न सक्छ ।

केही दिनअघि माओवादी केन्द्रले सडकमा यसैगरी नागरिक उतारेर सरकारलाई खबरदारी गरेको थियो भने आफ्ना सभापति पक्राउको विरोधमा रास्वपाले पनि करिब एक महिना सडक प्रदर्शन गर्‍यो । तर रास्वपाले जनतालाई सडकमा उतार्न सकेन, कार्यकर्ता मात्रै आएपछि थाक्यो ।

सभाको अर्को सन्देश थियो– एमालेको विरोध गर्नेलाई कुनै पनि स्थान रहने छैन । त्यो सँगसँगै दरबारअघि उभिएर ‘हैसियत’मै नरहेका दरबारिया शक्तिलाई जगाउने काम एमालेले गर्‍यो । त्यसो त, कम्युनिष्टहरु शास्त्रअनुरुप ‘दुश्मन’ चाहिन्छ नै, त्यो कुसको नै किन नहोस् । एमालेले शक्ति प्रदर्शन र नेतृत्व वृत्तको बोलीमा ‘दुश्मन’ खोजी गरेको हो कि आभास हुन्थ्यो । नत्र बेला–कुबेला शक्ति प्रदर्शन गर्नुको अर्थ नै थिएन ।

दुवै शीर्ष नेताले दुई दिनअघि निवासबाटै पक्राउ परेका एक विवादित व्यापारी दुर्गा प्रसाईंकै बदख्वाइँमा बिताए । तिनले एमाले अध्यक्षमा लगाएको आरोपको जवाफ उनीहरुले सभाबाट दिए । राज्यका निकायले छानिबन गर्नुपर्ने विषय सभामार्फत् एकपक्षीय धारणा सार्वजनिक गरेर ढाकछोप गर्ने प्रयास एमालेले गरेको छ ।

जसलाई राज्यकै एउटा निकायले पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेको छ । अनुसन्धान सुरू भएको छ । सत्य तथ्य बाहिर ल्याउने दायित्व सरकारकै हो ।

दुर्गा प्रसाईंले कम्बोडियाको एक टेलिकम कम्पनीमा केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी भएको भिडियो बनाएर प्रचार थालेका थिए । उनी यतिखेर प्रहरी हिरासतमा छन् । “कम्बोडियामा २१ हजार करोड डलर भन्दिए भो !,” आक्रोशित ओलीले सम्बोधन गर्दै भने, “त्योमात्रै किन अमेरिकाका बैंकको आधा सम्पत्ति मेरो हो । भन्नलाई भनेर मात्रै हुन्छ र ?”

बैंकको ऋण लिएर नतिरेको, उद्यमी र व्यवसायीलाई खेद्नुपर्छ भन्ने अभियान चलाएको, अर्थतन्त्र ध्वस्त पार्न लागिपरेको भन्दै आफ्नै आदेशमा पक्राउ परेका व्यक्तिविरुद्धमा प्रधानमन्त्रीले सडकमा उभिएर सार्वजनिक धारणा राखे ।

ओलीले प्रसाईंमात्रै होइन रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङविरुद्ध पनि सार्वजनिक मञ्चबाटै दुत्कार्ने काम गरे ।

लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । उनैप्रति टिप्पणी गर्दै ओलीले ‘सहकारी ठगले अझ गाली गर्ने !’ शैलीमा आलोचना गरे ।

“आफैँ सहकारी ठगी गर्ने अरुलाई गाली गर्ने ?,” ओलीको टिप्पणी थियो ।

कुलमान घिसिङ ऊर्जा मन्त्रालयअन्तर्गतको एउटा कार्यालयको प्रमुख हुन् । कार्यकारी प्रधानमन्त्रीले उनलाई समेत विश्वासमा लिन नसक्ने देखेपछि सडकबाटै आलोचना गर्न भ्याए ।

“केही उद्योग बाँकी छन् चलेका, तिनैको बक्यौता नउठाउने तर लाइन काट्ने ?,” ओलीको प्रश्न थियो, “मिटरको बिलअनुसार तुरुन्त पैसा असुल गर ।”

ओलीले यति भन्न ‘शक्ति देखाउनुपर्ने’ जरुरत थिएन ।

त्यसबाहेक सरकारको नेतृत्वमा रहेका ओलीले कसैको नाम नलिई लक्षित गर्दै भने, “कसैले आफ्ना सात पुस्तालाई सम्पत्ति थुपारेर गोरु बेचेको साइनो नभएका व्यक्तिलाई अर्बौँको मालिक बनाएको छ । हामी बहस गर्न चाहन्छौँ ।”

यदि यस्तो काम कसैले गरेको छ भने नेपालको कानुनअनुसार ऊ सजायको भागिदार हुन्छ । त्यस्ता पात्रहरुको सम्पत्ति छानबिन गर्न आयोग बनाउने हो या भएका आयोग या सम्पत्ति शुद्धीकरण विभागलाई छानबिन लगाउने हो, त्यो दायित्व उनैका हो । अझ सम्पत्ति शुद्धीकरण विभाग त प्रत्यक्ष रुपमै प्रधानमन्त्री मातहत छ । सरकारले त्यस्ता अवैध धन राख्ने पात्रबारे बहस चलाउने होइन कि अनुसन्धान गरी अभियोग लगाउँदै सजाय दिलाउने हो ।
ओलीले कांग्रेससँगको सम्बन्ध बलियो बनाउने प्रयासमात्रै गरेनन् आफूसँग मतभिन्नता रहेको विषयमा समेत कांग्रेसको साथ लिनेगरी सम्बोधन गरे ।
त्यो हो– बीआरआई ।

सत्तारुढ कांग्रेसले बीआरआईअन्तर्गतका परियोजना निम्ति चीनसँग अनुदान भए लिने तर ऋणमा नलिने अडान लिइरहेका बेला ओलीले सार्वजनिक मञ्चबाट भने– ऋण लिएर थुपार्ने अवस्था छैन । 

चीनको भ्रमण सफल हुने बताउँदै कार्यकर्तालाई थम्थम्याउँदै भने– १७ गतेबाट चीन जाँदैछु । सफल भ्रमण हुँदैछ । फर्किएपछि थाहा पाउनुहुनेछ कसरी सफल भयो ? यसो घुमेर आउँ भनेर जान लागेको होइन ।”

ओलीले चतुर्‍याइँपूर्वक कांग्रेस र देउवालाई विश्वासमा लिने प्रयास निरन्तर जारी राखेका छन् त्यो शुक्रबारको सम्बोधनमा पनि कायमै राखे । 

“कान खोलेर सुने हुन्छ सबै कुरा बुझे हुन्छ ०८४ सम्म गठबन्धन कायमै रहन्छ,” उनले भने, “०८३ असारमा शेरबहादुर देउवाजीलाई सरकार जिम्मा लगाउँछु । अब मैले १८ र शेरबहादुर देउवाजीले १८ महिना सरकार चलाउछौँ ।”
महासचिव शंकर पोखरेलले एमालेमाथि निरन्तर प्रश्न उठिरहेका विषय ओम्नी, यती र गिरिबन्धुलगायतमा एमाले र आफ्ना नेता निर्दोष रहेको दाबी गर्दै बचाउ गरे । तर प्रतिपक्ष दलले झैँ एमालेले सडकमा रमिता देखाएर जनतालाई दिएको सास्ती केवल प्रसाईं प्रवृत्तिविरुद्ध मात्रै केन्द्रित थिएन आफ्ना कमजोरी ढाकछोप गर्ने प्रयास पनि थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्