site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भ्रष्टाचारविरुद्ध गुञ्जियो संसद् : सभामुखलाई बैठक चलाउनै धौधौ ! (भिडियोसहित) 
Sarbottam CementSarbottam Cement

काठमाडौं । लामो समयपछि प्रतिनिधिसभाको बैठकमा चर्काचर्की बहस भएको छ । आठ सय बढी नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका विषयमा सञ्चारमाध्यममा लगातार समाचार प्रकाशित भएपछि त्यसैका आधारमा आइतबार संसद्को बैठकमा सत्तापक्ष र विपक्षका सांसदहरु बैठक सुरु हुनासाथ बोल्न तछाडमछाड गरे ।

४ बजे बोलाइएको बैठक केही मिनेट ढिला सुरु भएको थियो । बैठकको सुरूवातमै राष्ट्रिय गीत बजिनसक्दै सांसदहरूले बोल्नका लागि समय मागे । अर्थात् उनीहरु माइक समाउँदै उठे । जतिबेला सभामुखले बैठक सुरु भएको जानकारीसम्म गराएका थिएनन् ।

विपक्षी दल नेकपा एमालेका सांसदहरुले लडाकु शिविरमा भएको भ्रष्टाचारसहित ठूला भ्रष्टाचारका सम्बन्धमा पनि सरकार किन अघि नबढेको भन्दै एमाले सचिव टोपबहादुर रायमाझीको बचाउ गरेका थिए भने सत्ता पक्षका सांसदहरुले भ्रष्टाचारीलाई जोगाउन नेकपा एमाले नै लागेको भन्दै आक्रोश व्यक्त गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठक विधिवत् सुरु गर्नुपूर्व राष्ट्रपतिको कार्यालयबाट सभा सञ्चालनका लागि प्राप्त भएको पत्र वाचन गर्न नपाउँदै नेमकिपा, नेकपा (एमाले) र स्वतन्त्र सांसदहरूले आकस्मिक समयको माग गरे । तर, सभामुख घिमिरेले बैठक विधिवत् रूपमा सञ्चालन गरेपछि बोल्न आग्रह गरे । सांसदहरूले सो आग्रह मानेनन् ।

Global Ime bank

राष्ट्रिय गान बजिसक्न नपाउँदै सांसद प्रेम सुवालले समय लिन खोजेका थिए । त्यसपछि सभामुख घिमिरेले उनलाई बस्न अनुरोध गरे ।  “बैठकको औपचारिक सुरुआत हुन दिनुहोस्, बैठकमा प्रवेश गरेपछि तपाईंहरूले कुरा राख्न पाउनुहुनेछ,” सभामुख घिमिरेले एकोहोरो भनिरहेका थिए ।

तर सांसदहरु सुन्नेवाला थिएनन् । पहिले आफूहरु बोल्न पाउनुपर्ने भन्दै माइक समाउने सांसदहरु नै बढी देखिन्थे ।   एमाले सांसद रघुजी पन्त, स्वतन्त्र सांसद अमरेशकुमार सिंहसहित कांग्रेस, एमालेलगायतका राजनीतिक दलका सांसदहरुले पनि बोल्न पाउनुपर्ने भन्दै सभामुखसँग समय मागिरहेका देखिन्थे ।

सभामुख घिमिरेले औपचारिक बैठक सुरू भएपछि बोल्न दिने प्रतिवद्धता जनाएका थिए । उक्त प्रतिवद्धता पश्चात् सांसदहरू बसे र बैठक सुरू भयो । सभामुख घिमिरेले सांसदहरूलाई आकस्मिक समय दिँदै औपचारिक रूपमा बोल्ने समय उपलव्ध गराए । 

आकस्मिक समयमा सांसदहरूबीच चर्काचर्की सुरू भएको थियो । नक्कली भुटानी शरणार्थीको विषयमा सांसदहरू चर्को स्वर सुनाए ।

आकस्मिक समयको सुरूवातमै बोल्दै सांसद प्रेम सुवालले मिडियामा आएका समाचार र हेडलाइन बाचन गर्दै ८७५ जनालाई ठगी गर्ने को को हुन् भन्दै प्रश्न गरे । साथै उनले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्नेमा जोड दिए । 

उनीपछि बोलेका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले २०६३ सालपछिका सबै भ्रष्टाचारका काण्ड हेर्नेगरी छानबिन आयोग गठन गर्न माग गरे । नेपाल भ्रष्टाचारका कारण अगाडि बढ्न नसकेको भन्दै उनले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरण पछिल्लो उदाहरण मात्र भएको बताए । 

उक्त आयोगमार्फत पोखरा विमानस्थल, वाइडबडी काण्डहरुको छानबिन गरिनुपर्ने उनको माग रहेको छ ।

“२०६३ सालपछिका सबै भ्रष्टाचारका काण्ड हेर्नेगरी छानबिन आयोग गठन गरौं,” उनले भने । सोही आशयको अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पनि सुनाए । उनले पनि आयोग गठन गरेर छानबिन प्रकृया अघि बढाउन माग गरे । 

एमाले सांसदहरूले भने– प्रधानमन्त्रीले देखाउने फिल्म हेर्न आतुर छौं 

एमाले प्रमुख सचेतक पदम गिरीले त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिमै व्यङ्ग्य प्रहार गर्न भ्याए । प्रधानमन्त्री प्रचण्डले भ्रष्टचारको विषयमा फाइल खोल्ने कास्टिङ सुरू भएको फिल्म देखाउने भन्दै सार्वजनिक भाषण गरेका थिए । 

प्रमुख सचेतक गिरीले फिल्म देखाउने कहिले हो एमाले टिकट काटेर बसेको र फिल्म देखाउन प्रधानमन्त्रीलाई चुनौतीनै दिए ।  गिरीले वाइडबडी घोटाला काण्ड, बाँसबारी जग्गा, बालमन्दिर जग्गा, यती ओम्नीलगायत लडाकु शिविरका काण्ड सबै काण्डको छानबिन गर्न माग गरे । साथै यसमा एमालेले साथ दिने बताए ।

“हामी भन्न चाहन्छौं सबै भ्रष्टाचार अनियमितता छानबिनको दायरामा ल्याउनुपर्छ र सुशासन कायम गर्नुपर्छ,”उनले भने, “प्रधानमन्त्रीले भन्दै हिँड्नुभएको छ यो ट्रेलरमात्र हो फिल्म आउनै बाँकी छ । हामी फिल्म हेर्न आतुर छौं टिकट काटेर बसेका छौं फिल्म देखाउनुहोस् ।”

एमालेकै अर्का सांसद सूर्य थापाले लडाकुका नाममा गएको २० अर्ब घोटाला प्रकरणको पूरा फिल्म हेर्न चाहेको भन्दै सदनमा प्रस्तुत भएका थिए ।  सांसद थापाले पैसा बुझाएर नक्कली शरणार्थी बन्न चाहेकाहरूलाई पनि कारवाहीको दायरामा ल्याउन माग गरे । 

राप्रपाको नियमापत्ति : शरणार्थी बन्नेलाई होइन बन्न बाध्य पार्नेलाई कारवाही 

थापाको प्रतिकृयामा राप्रपा सांसद तथा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नियमापत्ति जनाए । उनले नागरिकता त्यागेर अर्को देशको नागरिक बन्न ५० लाख तिरेर शरणार्थी बन्न बाध्य पार्ने दलहरूलाई कारवाही गर्नुपर्छ भनेको आपत्ति जनाए । 

साथै उनले शरणार्थी बन्ने व्यक्तिहरूमाथि होइन शरणार्थी बनाउन बाध्य पार्नेहरूमाथि कारवाही होस् भन्दै माग गरे । 

शाही बोलेपछि आफूलाई बोल्न दिन भन्दै सांसदहरूले समय मागेका थिए । एकसाथ समय माग भएपछि सभामा असहज परिस्थिति सिर्जना भएको थियो । सभामुख देवराज घिमिरेले पालेपालो बोल्न दिने बताए । 

अनि एमालेलाई नैतिकताको प्रश्न तेर्स्याउँदै उभिए 

शाहीपछि बोलेका नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटा सुवोधले नेकपा एमालेलाई नैतिकताको प्रश्न थोपरेका थिए । उनले पक्राउ पूर्जी जारी भएपछि सम्पर्कमा नरहेका आफ्ना सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई कानुनी दायरमा ल्याउन नेकपा एमालेलाई आग्रह गरे । 

सांसद सापकोटाले एमाले भ्रष्टाचारीलाई कारबाही गर्नका लागि इमानदार हो भने आरोप लागेका व्यक्तिलाई कानुनको दायरामा ल्याउन सहयोग गर्न भन्दै प्रधानमन्त्रीले बोलेको कुरालाई खिसिट्युरी गर्नेहो भने एमालेनै नांगो हुने बताए । 

“छापामार शैलीमा आफ्ना कुराहरू राख्नुभयो त्यसका लागि धन्यवाद,” सापकोटाले भने,“तपाईंहरू इमान्दार हो भने विषयान्तर नगर्नुस् । जे खिसिट्युरी गर्नुभएको छ त्यसले तपाईंहरूलाई नै नांगो बनाइरहेको छ । इमानदारीपूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरमा बुझाउनुहोस्, त्यसैमा तपाईंहरुको कल्याण छ ।”

उनले छापामार शैलीमा संसद् कब्जा गर्ने शैलीले एमालेलाई राजनीतिक ढंगले प्रस्तुत नगरेको पनि उल्लेख गरे । 

आरजूको स्वर– म डराउँदिन 

बैठकमा नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले नक्कली शरणार्थी प्रकरणमा आफूलाई जोडेको भन्दै प्रतिकार गरिन् । उनले आफूले कुनै गल्ती नगरेका कसैसँग नडराउने बताइन् ।  उनले आफू राजनीतिमा अघि बढेको कसैलाई रुची नभएकाले आफ्नो विरोध गरिएएको बताइन्।

“भ्रष्टाचारको कुरामा कति सिरियस छौँ भन्ने छ । म नभएको दिनमा यहाँ मेरो नाम इंगित गरेर अनेकथरी प्रश्न उठेको छ । आज पनि उठेको मैले पाएको छु,” उनले भनिन् ,“नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदैन । पुरुषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने उनीहरूले भनेको मात्र गर्नुपर्ने । जति विरोध गरे पनि मैले बिराएको छैन, म डराउँदिनँ ।”

ओली पनि दोषी भन्दै कड्किए मेटमणी 

आकस्मिक समयमा बोल्दै सांसद चौधरीले नक्कली भुटानी शरणार्थीको विषयमा तत्काली प्रधानमन्त्री केपी ओली पनि दोषी भएको भन्दै कड्किएका थिए । उनले त्यतिबेलाको सिंगो सरकार नै यो प्रकरणमा लागेको दाबी गरे । 

“तत्कालीन गृह सचिवले समेत नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने विषय स्वीकार गरिसकेको र त्यसबेलाका अन्य उच्च पदस्थ कर्मचारी र मन्त्रीहरुको समेत नाम मुछिन थालिएको छ र स्वीकार गरिने क्रम जारी छ,” उनले भने, “संभवत मलाई के लाग्दैछ भने स्वयं तत्कालीन सरकारले नै यो आपराधिक कार्यमा लागेको देखिएको थियो । त्यसैले जो जो यो कार्यमा विगतमा संलग्न थिए, त्यसबेलाका प्रधानमन्त्रीलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ । उहाँलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्छ । अनिमात्रै भष्टाचारीको अनुहार कस्तो छ, कसले भ्रष्टाचार गरेको थियो त्यो कुरा पत्ता लाग्न सक्छ ।”

अनि उठ्यो नागरिकता विधेयक : चर्किए रघुजी

वर्तमान राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न पाउने र नपाउने भन्ने विषयमा प्रतिनिधिसभामा सवाल–जवाफ भयो । बैठकमा नेकपा (एमाले)का सांसद रघुजी पन्तले उठाएका प्रश्नमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले सवाल–जवाफ गरे । 

एमाले सांसद पन्तले राष्ट्रपतिको भूमिकामा प्रश्न उठाए । पूर्वराष्ट्रपतिले रोकेको नागरिकता विधेयक वर्तमान राष्ट्रपतिले प्रमाणित गर्ने विषयमा छलफल चलाएकामा पन्तले प्रश्न उठाएका हुन् ।

“हामी संसदीय व्यवस्था र प्रक्रियामा विश्वास गछौं । पूर्वराष्ट्रपतिले रोकेको नागरिकता विधेयक अहिलेका राष्ट्रपतिले प्रमाणित गर्ने कुरा स्वीकार्य हुँदैन,”उनले भने, “सरकारले तत्काल नागरिकता विधेयक संसद्मा ल्याओस् । संसदको अधिकार कटौती नहोस् । सिधै राष्ट्रपतिकहाँ लगे एमालेले सशक्त प्रतिकार गर्छ ।”

कांग्रेस सांसद सरिता प्रसाईंले पनि नागरिकता विधेयक पास हुनुपर्ने बताइन् । उनले हरेक दिन नगारिकता विधेयक कहिले पास हुन्छ भन्दै जनताले फोन गरिरहेको भन्दै यो विषयमा गम्भिर हुनुपर्ने बताइन् । 

जसपाकै सांसद प्रदीप यादवले पूर्वराष्ट्रपतिले संविधानविपरीत रोकेको विधेयक तत्काल प्रमाणित हुनुपर्नेमा जोड दिए । उनले संविधानको धारा ११३ को व्यवस्था समेत पढेर सुनाउँदै पूर्वराष्ट्रपतिले निर्वाह नगरेको संवैधानिक दायित्व वर्तमान राष्ट्रपतिले निर्वाह गर्नुपर्ने बताए । 

विशेषगरेर रास्वपा सांसद तथा नेपाली कांग्रेस र राप्रपा सांसदहरुले समय माग गरेका थिए । कांग्रेसका बद्री पाण्डे, अर्जुननरसिंह केसी, रामकृष्ण यादव, इश्वरी न्यौपानेले बोल्न माग गरे ।

यस्तै रास्वपा सभापति रवि लामिछाने, विराजभक्त श्रेष्ठ, तोषिमा कार्कीले पनि समय माग गरे । तर, सभामुख घिमिरेले समय दिन चाहेनन् ।  सभामुख घिमिरेले सदन बोल्नका लागि भएकाले अन्य दिन बोल्न अनुरोध गरे । उनले यो विषयमा आजै निष्कर्ष आवश्यक नभएको भन्दै कार्यसूचीअनुसार बैठक अघि बढाउन अनुरोध गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement