काठमाडौं । यो सालको दसैँ वाम तालमेलको दसैँ बन्यो । दसैँको नौरथ नसकिँदै एमाले, माओवादी केन्द्र र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले ‘सरप्राइज’ दिएपछि मुलुकको राजनीति गर्माएको छ । र, ध्रुवीकृत भएको छ ।
एकता संयोजन समिति, घोषणापत्र मस्यौदा समिति र निर्वाचन क्षेत्र बाँडफाँट कार्यदल बनाएर तीन पार्टीका शीर्ष नेता तालमेलको दिशामा अघि बढिरहँदा कार्यकर्ता भने अन्योलमा देखिएका छन् ।
पार्टी सर्कुलरमुताविक प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवार सिफारिस प्रक्रिया टुंग्याइसकेपछि ‘हठात्’ तालमेलको कुरा आएपछि कार्यकर्तामा अन्योलता छाएको हो ।
एमालेबाट हालसम्म प्रदेश नम्बर १ बाट १२ जना, प्रदेश नम्बर २ बाट ९ जना, ३ नम्बर प्रदेशबाट १४ जना, प्रदेश नम्बर ४ बाट ८ जना, प्रदेश नम्बर ५ बाट ८ जना, प्रदेश नम्बर ६ बाट ४ जना र प्रदेश नम्बर ७ बाट ९ जना सर्वसम्मत सिफारिस भएका छन् । अन्य क्षेत्रबाट पनि माथिल्लो कमिटीमा नाम आइसकेको छ ।
तर, सर्वसम्मत भएका ठाउँमा पनि निर्वाचन क्षेत्र बाँडफाँट गर्दा एमालेको भागमा पर्ने हो कि होइन भन्ने अन्योल कायमै छ ।
एमाले केन्द्रीय सदस्य ठाकुर गैह्रे निर्वाचन क्षेत्र बाँडफाँट नटुंगिएसम्म जनताका बीचमा जान नसकिएको बताउँछन् । निर्वाचनको मुखमै तालमेल र एकीकरणको कुरा आएकाले जनतामा मात्र नभइ पार्टी कार्यकर्तामै द्विविधा छाएको उनको भनाइ छ । “उमेदवार त सिफारिस गरेर पठाइयो, निर्वाचन क्षेत्र कसको भागमा पर्ने हो भन्ने अन्योल छ,” उनले भने ।
नेतृत्व तहमा तालमेल र एकीकरणको प्रक्रिया अघि बढे पनि त्यसको विस्तृत खाका तल नपुगेकाले दुवै तर्फ त्यसले कुहिराको काग बनाएको उनको निष्कर्ष छ ।
छापामार शैलीमा तालमेल भयो
त्यस्तै माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य केशव ढुङ्गानाले छापामार शैलीमा तालमेल भएको बताउँछन् । तालमेलको बारेमा कार्यकतालाई मात्र नभएर नेताकै बीचमा पनि अन्योलता कायम रहेकाले त्यसलाई चिर्ने काम भइरहेको उनको भनाइ छ । “अध्यक्ष प्रचण्डले पनि तालमेलको आवश्यकता र अनिवार्यताको बारेमा प्रष्ट्याउँदै हुनुहुन्छ, हामी प्रष्ट भएपछि जनताकाबीचमा जान्छौँ,” उनले भने ।
माओवादी केन्द्रकै पोलिटव्यूरो सदस्य देवेन्द्र श्रेष्ठ भने केहीमा द्विविधा रहे पनि मिलाएर अघि बढ्नुको विकल्प नरहेको बताउँछन् । “एक्कासी तालमेलको कुरा आउँदा अनौठो लाग्नु स्वभाविकै हो तर त्यसलाई चिर्नु पर्छ । राजनीतिक स्थिरता र विकासका लागि वामपन्थी एकजुट नभइ हुँदैन भन्ने जनतालाई बुझाउनुपर्छ,” उनले भने ।
त्यस्तै एमालेका वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले तालमेलको खाका तल नआइसकेको र निर्वाचन क्षेत्र बाँडफाँट नटुंगिएकाले जनताको बीचमा जान अप्ठ्यारो भएको बताए ।
कतिपय कार्यकर्तामा गठबन्धन चुनावी तालमेलमात्रै भएको भन्ने बुझाइरहेको उनको भनाइ थियो । “एकीकरणका विषयमा थुप्रैमा संसय छ । नेता कार्यकर्तालाई बुझाउन सकिएको छैन,” उनले भने ।
निर्वाचन क्षेत्र बाँडफाँटको विषय छिट्टै नटुंग्याउने हो भने तालमेल प्रत्युत्पादक हुने ठहर छ । “उमेदवारी सिफारिस भएकाहरूलाई चुनावको मुखमा हटाउँदा रुष्ट हुने खतरा हुन्छ, तालमेल र एकीकरणको भावना विपरित कार्यकर्ता जानसक्छन्, शीर्ष नेता यस विषयमा सचेत हुनुपर्छ,” उनले भने ।
माओवादी केन्द्रले भने आफ्ना पोलिटव्युरो सदस्यहरूबाट राय सुझाव लिने र शीर्ष नेताले निर्देशन दिने काम भइरहेको ढुंगानाले जानकारी दिए ।