काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म जीवन बिमा कम्पनीहरूले ९३ अर्ब ७५ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको फागुन मसान्तसम्म ९२ अर्ब १९ करोड रुपैयाँ आर्जन गरेका थिए ।
पछिल्लो समय अर्थतन्त्रको असहज परिस्थितिको प्रभाव बिमा व्यवसायमा पनि परेको देखिन्छ । नेपाल बिमा प्राधिकरणका अनुसार १७ जीवन बिमा कम्पनीको कुल बिमा शुल्क आर्जन गत वर्षको सोही अवधिको तुलनामा झिनो मात्र बढेको छ । गत वर्षको भन्दा चालु आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरूको कुल बिमा शुल्क आर्जन करिब दुई प्रतिशतले वृद्धि भएको हो ।
पछिल्लो समय बिमा कम्पनीहरू मर्जरमा गइरहेका छन् । प्राधिकरणको नीतिअनुसार चार जीवन बिमा कम्पनी मर्ज भइसकेका छन् । ज्योति लाइफ इन्स्योरेन्स र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी एकापसमा मर्ज भई सूर्य ज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भइरहेको छ । यी दुई कम्पनीको कुल बिमा शुल्क रकम गत वर्ष र यो वर्षको जोडेर राखिएको छ ।
गतभन्दा यो वर्ष यो कम्पनीको कुल बिमा शुल्क आर्जन ०.९४ प्रतिशतले घटेको छ । सूर्य र ज्योति लाइफले गत वर्षको फागनुसम्म पाँच अर्ब ५२ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका थिए । चालु आर्थिक वर्षको फागुनसम्म यी दुई कम्पनीले पाँच अर्ब ५७ करोड रुपैयाँ आर्जन गरेका छन् ।
यस्तै, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स मर्ज भई सानिमा रिलायन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार भइरहेको छ । यो कम्पनीको कुल बिमा शुल्क आर्जन गत वर्षको भन्दा ९.७७ प्रतिशतले वृद्धि भएको छ ।
सानिमा लाइफ र रिलायन्स लाइफले गत वर्षको फागुनसम्म तीन अर्ब ४० करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका थिए । यो वर्षको फागुनसम्म तीन अर्ब ७३ करोड रुपैयाँ आर्जन गरेका छन् ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी कुल बिमा शुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले २४ अर्ब ३८ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत वर्ष २३ अर्ब ९३ करोड रुपैयाँ आर्जन गरेको थियो ।
बिमा शुल्क बढाउनेमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी छ । यो कम्पनीले २२.३३ प्रतिशतले कुल बिमा शुल्क आर्जन बढाउन सफल भएको छ । कम्पनीले गत वर्षको फागुनसम्म दुई अर्ब १४ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो । चालु आर्थिक वर्षको फागुनसम्म दुई अर्ब ६२ करोड रुपैयाँ आर्जन गरेको छ ।