काठमाडौं । महोत्तरी जलेश्वरका ३० वर्षीय युवा जितेन्द्र मण्डलको फेसबुक आईडीमा नाम आलोक पाण्डे देखिन्छ । उनी त्यही आलोक नामबाट फेसबुकका पाँच हजार मानिससँग जोडिएका छन् । आलोक नामले मात्रै होइन, फेसबुकमार्फत् जोडिएका साथीहरुमाझ उनको अर्को पनि परिचय छ, डाक्टर ।
आफ्ना फेसबुकमार्फत् जोडिएका साथीहरुलाई भिडियो कलमार्फत आफू एमबीबीएस डाक्टर भएको जानकारी गराउँथे ।
आफू डाक्टर भएको जानकारी गराउन उनी फेसबुकमा जोडिएकामध्ये हेर्दा ५० वर्षमाथिका महिला/पुरुषलाई छानीछानी भिडियो कल मात्रै गर्दैन थिए कि आवश्यक पर्दा घरमै पुगेर उपचार सेवासमेत दिने आश्वासन दिन्थे ।
उनको बोली पत्याउँदै कतिपयले उपचार निम्ति घरमै बोलाउँथे ।
जितेन्द्रलाई घरमै बोलाउनेमध्येका एक हुन्, ललितपुर महानगरपालिका–१७ का ६५ वर्षीय शिव कार्की (नाम परिर्वतन) ।
कार्कीले हाडजोर्नी दुख्ने गरेको र धेरैपटक अस्पताल धाउँदासमेत निको नभएको जानकारी दिँदै जितेन्द्रलाई घरैमा बोलाए । तिनी केही औषधिसहित कार्कीको घर पुगेका थिए ।
त्यो दिन कार्कीको घरमा पुगेका जितेन्द्रले केही मालिस गर्ने औषधिले उनको दुखेको भागमा मसाज गरिदिए । केही औषधिसमेत खुवाए । शिव कार्कीलाई अलि जिऊ फुर्तिलो भएजस्तो लाग्यो । आफू घरमै पुगेर वृद्धाको सेवा गर्ने डाक्टर भएकाले आफूखुसी रकम दिन आग्रह गर्थे ।
पहिलो पटक जितेन्द्रलाई बोलाएका शिव उनको काम देखेर सन्तुष्ट थिए । उनले पुनः दोस्रो पटक जितेन्द्रलाई घरमै बेलाए । तर, जितेन्द्रले त्यतिबेला जवाफ फर्काए, ‘‘तत्कालै म आउन सक्दिनँ । अर्को ठाउँमा व्यस्त छु । बरु तपाईं घरमा अन्य कोही नभएका बेला मात्रै बोलाउनू जिऊ दुखेको निको हुने अन्य धेरै विधि छन् ।’’
कार्कीलाई लाग्यो, उनी राम्रै डाक्टर हुन् । कार्कीले जितेन्द्रलाई गएको मंसिर १८ मा दोस्रो पटक आफ्नो घरका अन्य कोही सदस्य नभएको मौका छोपी उनलाई बोलाए । जितेन्द्र घरमा पुगे ।
त्यतिबेला पनि उनले पहिलो दिनको जस्तै दुखेको भागमा मालिस गर्न लागे । केही औषधिसमेत खुवाए । त्यो दिन जितेन्द्रले दिएको औषधि सेवनपछि भने उनलाई निद्रा लागेजस्तो भयो । आराम गरे । उनी सँगै बसेका थिए । तर, कार्की सुतेको मौका छोपी भने घरमा भएको ३० हजार रुपैयाँ र चार तोला बराबरका गरगहना बोकेर हिँडे ।
एक महिनापछि पक्राउ, अनुसन्धान गर्दा प्रहरी नै चकित
शिव कार्कीको घरको गरगहना चोरीपछि भने उनी एकाएक सम्पर्कविहीन भए । कार्कीको परिवारले आलोक पाण्डेले चोरी गरेको आशंकासहित ललितपुर प्रहरीमा उजुरी दिए । प्रहरीलाई कार्कीको परिवारले फोन नम्बरसमेत उपलब्ध गराएका थिए ।
प्रहरीले उनको खोजी तीव्र पार्यो । तर, उनी कहिले जलेश्वर कहिले सिन्धुपाल्चोक त कहिले नुवाकोट पुगेको उनको मोबाइलको लोकसनले देखाउँथ्यो ।
प्रहरी उनको पिछा गरिरहेको थियो । उपत्यका अपराध अनुुसन्धान कार्यालय ललितपुरको टोलीले बधुबार राति उनलाई नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरुखर्कबाट पक्राउ गर्न सफल भएको छ । प्रहरीले आलोक भनी खोजी गरेका व्यक्ति जितेन्द्र मण्डल भएको खुलेको हो ।
उनी उपत्यकासहित विभिन्न जिल्ला–जिल्ला पुगेर डाक्टरको भेषमा उपचारका लागि घर–घरमा पुग्ने र चोरी गरेर फर्किने गरेको खुलाएको कार्यालयका एसपी काजीकुमार आर्चायले जानकारी दिए ।
‘‘उनी फेसबुकमार्फत जोडिएका मानिसलाई आफू डाक्टर रहेको, घरमा पुगेर उपचार सेवा दिने भनेर जाने र घरभित्र राखिएका गरगहना चोरी गरेर फर्किने गरेको देखिएको खुलेको छ,’’ एसपी आर्चायले भने ।
उनीमाथि अनुसन्धान गर्दै जाँदा प्रहरी नै चकित परेको छ ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार, उनी छाला तथा सुगर, प्रेसरको रोग निको पार्ने डाक्टर भन्दै घरमा एक्लै भएको मौकामा बोलाउन लगाउने र यौन उत्तेजित हुने औषधि खुवाउने गरेको पनि पाइएको छ ।
अनुसन्धानमा खटिएका एक प्रहरीले अधिकारीले भने, ‘‘मण्डलको अपराध–कर्मले हामी आफैँ चकित छौँ । उनी ५०–६० वर्षका महिला–पुरुषलाई टार्गेट गरेर डाक्टरको भेषमा घरमा पुग्दा रहेछन् । त्यो पनि घरमा एक्लै भएको मौकामा बोलाउन लगाउने र यौन उत्तेजित हुने औषधि खुवाउने र आफूलेसमेत प्रयोग गरेर आनन्द लिने गरेको देखिएको छ ।’’
प्रहरीका अनुसार, वृद्धाहरुसँगसमेत उनले अप्राकृतिक सम्पर्क गर्ने गरेको देखिएको छ । प्रहरीले बरामद गरेको उनको मोबाइलबाट विभिन्न व्यक्तिहरुसँग यौन उत्तेजित हुने औषधि खुवाएर सम्बन्ध राखेको भिडियोसमेत फेला परेको छ ।
प्रहरीले उनको साथबाट ५९ हजार रकम तथा तीन थान मोबाइल, गर्भपतन गराउने औषधि र यौन शक्तिवर्धक औषधि बरामद गरेको छ । जितेन्द्रमाथि थप अनुसन्धान गर्न कार्यालयले सातदोबाटो प्रहरी वृत्त पठाएको छ ।