काठमाडौं । काठमाडौं महानगरपालिकाले २६ मंसिरमा ३०औँ महानगर दिवस मनाउने विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्यो । महानगर दिवसको मूल आयोजक समितिको संयोजक तोकिए, मेयर बालेन शाह । तर, संयोजक तोकिएका बालेन भने पत्रकार सम्मेलनमा उपस्थित थिएनन् ।
उनको पत्रकार सम्मेलनमा बालेनको अनुपस्थिति नौलो भने होइन । काठमाडौं महानगरले गर्ने सबैजसो पत्रकार सम्मेलनमा उनी उपस्थित हुँदैनन् । उपस्थित भइहाले पनि प्रश्नहरूको सामना गर्दैनन् । यसअघि, ०७९ को इन्द्रजात्रा मनाउने विषयमा आयोजित पत्रकार सम्मेलनमा बालेन उपस्थित थिए । त्यसयता उनी पत्रकार सम्मेलनमा उपस्थित भएका छैनन् ।
बालेनलाई एमालेले भन्यो– सभाको आयोजक हामी होइनौँ
बालेन जेठ २०७९ मा काठमाडौं महानगरको मेयरमा निर्वाचित भए । निर्वाचन प्रचार–प्रसारका बेला भने उनी पत्रकारसँग संवाद गर्थे, अन्तर्वार्ता दिन्थे । आफ्ना चुनावी एजेन्डा सुनाउँथे, उनीमाथि उठेका प्रश्नको जवाफ दिन्थे ।
बालेनलाई चुनावी अभियानमा सघाएका एकजना सदस्य भन्छन्, “त्यतिखेर सामाजिक सञ्जालसँगै मूलधारका मिडियाबाट पनि आफ्ना कुरा राख्नुपर्छ भन्ने नीतिअनुसार काम गरिएको थियो ।”
तर, मेयर निर्वाचित भएपछि बालेनले उक्त नीति फेरे । सार्वजनिक जवाफदेहिताको पदमा पुगेपछि भने मेयर बालेन सञ्चार माध्यमसँग तर्किन्छन् ।
नेपाली सञ्चार माध्यमसँग तर्किए पनि उनी विदेशी सञ्चार माध्यमसँग भने संवाद गर्छन् । सन् २०२३ मा विश्वप्रसिद्ध 'टाइम' पत्रिकाले बालेनलाई विश्वभरका उदीयमान १०० नेताको सूचीमा राख्यो । बालेनले काठमाडौं महानगरको मेयरमा जितेपछि उनले लगाउने गरेको ‘सुनौलो रंगको फ्रेममा, कालो चारकुने सिसा’ भएको चस्माको बिक्री ह्वात्तै बढ्यो भन्दै टाइम पत्रिकाले उनको प्रशंसा गरेको थियो ।
फेसबुकमा बालेन : भ्रम फैलाउँदै, आक्रोशको बीउ रोप्दै
फेसबुक, टिकट, युट्युबजस्ता सामाजिक सञ्जालको अधिकतम उपयोग गरेर चुनाव जितेका बालेनको सामाजिक सञ्जालमाथिको दबदबालाई ‘बालेन इफेक्ट’ भन्ने गरिन्छ । सामाजिक सञ्जालमा उनको पनि बलियो प्रभाव छ । सञ्चार माध्यमसँग संवाद गर्ने र आफूमाथि उठेका प्रश्न सामना गर्ने भन्दा उनी सामाजिक सञ्जालमा लेख्न रुचाउँछन् ।
सन् २०२३ मा 'न्युयोर्क टाइम्स' ले पनि उनको लामो फिचर स्टोरी छापेको थियो । त्यसपछि २०८० मा भारतीय सिनेमा ‘आदिपुरुष’ काठमाडौंमा प्रर्दशनमा रोक लगाएपछि बालेन भारतीय मिडियाको पनि नजरमा परे । भारतको संसद्मा राखिएको नक्साको विरोधमा बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखे । यिनै मेसोमा उनले भारतीय पत्रिका 'दैनिक भास्कर' लाई अन्तर्वार्ता दिए ।
बालेनको स्टाटस भन्दै सेयर गरिएका पोष्टको वास्तविकता के हो ?
नेपाली सञ्चार माध्यमसँग तर्किने मेयर बालेनले ३ साउन २०७९ मा हिमालय टेलिभिजन र नेपाल समाचारपत्रविरुद्ध प्रेस काउन्सिलमा उजुरी पनि दिएका थिए । ‘रुटिन अफ नेपाल बन्द’ नामको फेसबुक पेजलाई एक करोड रुपैयाँ दिएको भन्ने समाचारविरुद्ध बालेन काउन्सिल पुगेका थिए ।
काउन्सिलले सञ्चार माध्यमसँग जवाफ माग गरेर बालेन र समाचार प्रकाशित गर्ने सञ्चार माध्यमलाई छलफलका लागि बोलाएको थियो । काउन्सिलको २०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार मेयर बालेनले आफू छलफलमा आउन नसक्ने जानकारी गराए । उजुरीकर्ताले नै छलफलमा आउन नसक्ने भनेपछि काउन्सिलले उक्त उजुरी आफ्नो फर्छ्यौट प्रतिवेदनमा लेखेको छ ।
ओली–बालेन सम्बन्ध : उपहारबाट सुरू, सञ्जालबाटै द्वन्द्व !
०७९ को असारमा टेकुस्थित फोहोर प्रशोधन केन्द्रमा रिपोर्टिङका लागि पुगेका हिमालय टेलिभिजनका पत्रकारलाई मेयर बालेनले समाचार संकलनमा रोक लगाए । समाचार संकलन गर्न गएका पत्रकारहरूले मेयर बालेनसँग प्रश्न सोध्दा बालेन आक्रोशित भए । त्यतिखेर बालेनले सोधेका थिए– “अरे के हो ? कसको अनुमति लिएर आएको ?”
त्यसपछि बालेनले आफ्ना सहयोगीलाई पत्रकारले खिचेको भिडियो फुटेज चेक गर्न निर्देशन दिएका थिए ।
मेयर निर्वाचित हुनुअगाडि मेयर बालेन सञ्चार माध्यमप्रति सकारात्मक थिए । चुनावअगाडि उनका समर्थकले सञ्चार माध्यमको सामाजिक सञ्जालका ‘फलोअर’ घटाउन थालेपछि उनले रोक्ने प्रयास गरेका थिए । त्यतिखेर उनले उन्नत लोकतन्त्रका लागि सञ्चार माध्यमले खबरदारी गरिरहनुपर्ने धारणा राखेका थिए ।
उनले फेसबुकमा लेखेका थिए, “उन्नत लोकतन्त्रका लागि नागरिक र सञ्चारमाध्यमले सरोकारवालालाई खबरदारी गरिरहनुपर्छ । नागरिक र सञ्चारमाध्यमले गरेका खबरदारीहरूबाट आफूलाई सच्याएर सरोकारवालाले अगाडि बढ्दामात्रै वास्तविक लोकतन्त्रप्राप्त गर्न सकिन्छ ।”
चुनावअगाडि सञ्चारमाध्यमले खबरदारी गरिरहनुपर्छ भन्ने बालेन निर्वाचित भएपछि भने किन सञ्चार माध्यमबाट टाढिए ? मेयर बालेन किन प्रेससँग बोल्दैनन् ?
मेयर बालेनलाई चुनावमा सघाएका र उनको निकट रहेर काम गरिरहेका एकजना भन्छन्, “महानगरको कामकारबाहीबारे बोल्न प्रवक्ता हुनुहुन्छ । विभिन्न विभागका प्रमुख हुनुहुन्छ ।”
मेयर बालेनको सचिवालय महानगरको कामकारबाहीको विवरण मेयरले नै सुनाउनुपर्ने बाध्यता नभएको बताउँछ । बालेनको सचिवालयका एक सदस्य महानगरबाट आवश्यक सूचना सबै सार्वजनिक नै हुने भएकाले मेयरले बोलिरहनुनपर्ने बताउँछन् ।
“कार्यपालिका र नगरसभा बैठक लाइभ हुन्छन् । आममान्छेले महानगरमा के भयो, त्यहीबाट थाहा पाउँछन्,” उनी भन्छन्, “अरू सूचना÷जानकारी वेबसाइट र महानगरको सामाजिक सञ्जालमा हुन्छन् ।”
यसबाहेक काठमाडौं महानगरको आफ्नै न्युज पोर्टल पनि छ । महानगरसम्बन्धी समाचार प्रकाशन गर्ने मेट्रो न्युज छ । यसबाहेक मेयरले आफ्ना धारणा सामाजिक सञ्जाल र विभिन्न सार्वजनिक फोरमबाट सार्वजनिक गर्ने गरेको उनको सचिवालय बताउँछ ।
“मेयरज्यूले बोल्दै नबोल्नुभएको भने छैन । उहाँले विभिन्न कार्यक्रममा आफ्नो धारणा राख्ने गर्नुभएको छ,” मेयरको सचिवालय भन्छ, “समसामयिक र राजनीतिक विषयमा कहिलेकाहीँ आफ्नो सामाजिक सञ्जालमा विचार राख्ने नै गर्नुभएको छ ।”
“नेपालमा यति धेरै मिडिया छन्, कोसँग अन्तर्वार्ता कसलाई दिने, कसलाई नदिने ?,” मेयर बालेनको सचिवालय गुनासो गर्छ, “पछिल्लो समयको राजनीतिको मूल समस्या भनेको नै धेरै बोल्ने, काम कम गर्ने जस्तो भएको छ । महानगरले यो परिपाटी परिर्वतन गर्न चाहेको छ ।”
मेयर बालेन ‘भाषण’ र ‘गफ’भन्दा बढी काममा केन्द्रित भएकाले पत्रकार सम्मेलन र सञ्चारमाध्यमसँग कुरा नगरिएको उनी निकटस्थको जिकिर छ ।
“मेयरको नेचर नै कस्तो छ भने भाषणबाजी र गफभन्दा पनि बढी काम गर्ने, त्यसैले पनि मिडियासँग गफ गर्न थालियो भने काम भन्दा बढी गफ हुन्छ भनेर नगरेको हो,” बालेन निकटस्थहरू भन्छन् ।
तर, विश्लेषकहरू बालेनले फेसबुकमार्फत आफ्नामात्र कुरा राख्ने र आफूमाथि उठेका प्रश्नको जवाफ नदिनु गैरजिम्मेवार शैली भएको बताउँछन् ।
“सामाजिक जिम्मेवारीमा भएका मानिस मिडियासँग भाग्न पाइँदैन । सामाजिकरूपमा उठेका प्रश्नको उत्तर दिनुपर्छ, आफ्नो भनाइ र अभिव्यक्तिमात्रै राख्नु हुँदैन,” लेखक तथा विश्लेषक युग पाठकले केही समय अगाडि बाह्रखरीसँग भनेका थिए ।