वीर अस्पतालका चिकित्सकमाथि अनाहकमा गरिएको प्रहरी ज्यादती खेदजनक छ । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संघीय संसद्का दुवै सदनलाई सम्बोधन गरेर शीतलनिवास फर्कने क्रममा प्रहरीले बाटो बन्द गरेको थियो ।
त्यही बेला वीर अस्पतालका चिकित्सकमाथि लाठीचार्ज गरेर अस्पतालमा भर्ना हुनुपर्ने अवस्था सिर्जना गरेकामा नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पताल एक दिनका लागि बन्द गर्ने निर्णय गरेको गर्यो । संघ अन्तिम समयमा आएर सो निर्णयबाट पछि हटेको छ । चिकित्सकहरूले अत्यन्त रोषपूर्ण अवस्थामा समेत बन्दको कार्यक्रम अघि नबढाउने निर्णय कार्यान्वयन गरेकामा यसलाई संयमित कदमका रूपमा स्वागत गर्दछौँ ।
यो घटनाले राष्ट्रपतिको आवागमनका क्रममा सवारीसाधन रोकिएर जनताले पाउने सास्ती र समस्याका विषयमा एकपल्ट फेरि चर्चा र विवाद भएको छ । नेपालजस्तो लोकतान्त्रिक, गणतान्त्रिक र जनताको छोरी राष्ट्रपति भएको देशमा बेलायती राजपरम्पराले अपनाएको र यहाँका राजा तथा राणाशासकले अवलम्बन गरेको जनतालाई दुःख दिएर सुरक्षाका नाममा एक–एक घण्टा सवारी अवरुद्ध गराउने सामन्तवादी प्रचलनमा सुधार ल्याउन जरुरी देखिएको छ ।
यसपल्ट प्रहरी ज्यादतीको सिकार समाजका प्रतिष्ठित पेसाकर्मी तथा एक सशक्त संघमा आबद्ध चिकित्सक भएका कारणले यो घटना चर्चामा आएको हो । अन्यथा, राष्ट्रपतिको आवागमनका क्रममा सर्वसाधारणले पाएको कष्ट र सास्ती जनताले आँसुसँगै बहाएर मौनता साँध्नुपरेको छ ।
त्यसैले चिकित्सकहरूले यो घटनाको विरोध गरेको विषयलाई अनाहकमा अतिरञ्जित गरियो भनेर ठूलाबडाको आगमनमा जनतालाई सास्ती दिनेका नायकहरूले विरोध गर्नु आफैँमा उपहासपूर्ण तर्क हो । यसपल्ट चिकित्सकहरूले उठाएको आवाज जायज छ ।
तर, विषय जति जायज भएता पनि आपत्कालीनबाहेक अन्य सबै सेवा बन्द गर्ने भन्ने निर्णय तर्कसंगत थिएन । एउटा उत्तेजनाको अभिव्यक्ति थियो । चिकित्सकहरूले आफूले लिएको निर्णय आफैँले सच्याएको कारणले पनि प्रशंसाका पात्र बनेका छन् ।
नेपाली समाजमा कुनै पनि ठूलो राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनहरूमा चिकित्सक, इन्जिनियर, वकिलजस्ता पेसाकर्मीको सहभागिताले त्यस्ता आन्दोलनलाई निर्णायक मोडमा पुर्याएका धेरै उदाहरणहरू छन् ।
त्यस्तो समयमा पेसाकर्मीले आफ्नो काम ठप्प पारेर विरोध जनाएका कारणले पनि जनताले नचाहेको सत्ता ढल्न पुगेको हो ।
समाजमा यस्तो सशक्त र महत्त्वपूर्ण भूमिका खेल्न सक्ने प्राविधिक पेसाकर्मीले आफ्नो शक्तिको दुरुपयोग गर्नु हुँदैन । कुनै पनि सरकारले मानवअधिकारको अत्यधिक दुरुपयोग गरेको खण्डमा मात्र पेसा ठप्प बनाएर विरोध गर्ने कदमलाई केही मात्रामा समर्थन गर्न सकिन्छ, नत्र यस्ता प्रकारका बन्दहरू सधैँ निन्दनीय हुन्छन् ।
नेचिसंले समयमै विवेक पुर्याएर आफ्ना सहकर्मीप्रति गरेको ज्यादतीका विरोधमा संयमतापूर्ण रोष प्रकट गरेर आफ्नो महत्त्व पुनः उजिल्याएको छ ।