काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा ‘बेबी किङ’ या ‘सांस्कृतिक प्रतिक’ बन्न सक्ने बताएका छन् ।
आठौँ केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यले उठाएका सवालको जवाफ दिने क्रममा उनले देउवाकै कारण देशमा वाह्य हस्तक्षेप बढेको र राष्ट्रियता खतरामा परेको औँल्याउँदै उनले यस्तो बताएका हुन् ।
तीन दिनसम्म चलेको बैठकमा नेतृत्वको कार्यशैलीदेखि निर्वाचनको समीक्षाका क्रममा टिकट वितरण प्रक्रियाकाबारेसम्म गम्भीर मत मतान्तर भए पनि ठोस निर्णय गर्न भने सकेन ।
“बैठकमा उठेका विषयलाई अध्यक्षले प्रष्ट बनाउनुभयो,” पोलिट्व्युरो सदस्य कर्ण थापाले भने, “केन्द्रीय कमिटीले नीतिगत निर्णय गर्न सक्यो । ठोस निर्णय लिन केन्द्रीय कमिटीले स्थायी कमिटीलाई जिम्मा लगाएको छ ।”
अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरिएको बताउँदै उनले अब बस्ने स्थायी कमिटीको बैठकले प्रदेश र प्रतिनिधिसभाको उमेदवार छनोट विधि, प्रक्रिया मापदण्ड टुंग्याउनेसमेत जिकिर गरे ।
‘म देवी देवतामा विश्वास गर्दिनँ’
बैठकमा नेता नेपालले अध्यक्षलाई देवत्वकरण गरिएको, पार्टी संस्थागत निर्णयमा चल्ने भन्दा पनि व्यक्तिवाद हावी भएको, राष्ट्रिय महाधिवेशनमा आफूलाई भोट हालेकै आधारमा नेता कार्यकर्ता अन्यायमा परेको विषयमा प्रश्न उठाएका थिए ।
जवाफमा अध्यक्ष ओलीले आफू सामान्य किसानको छोरो भएको र देवी देवतामाथि कुनै विश्वास नरहेको भन्दै बचाउ गरेका थिए । “मलाई देवी देवतामाथि विश्वास पनि छैन । मलाई देवत्वकरण गरेको पनि थाहा छैन, यो असत्य कुरा हो,” अध्यक्ष ओलीलाई उद्धृत गर्दै स्रोतले बतायो ।
त्यस्तै टिकट वितरणमा एकलौटी गरिएकाले दुई नम्बर प्रदेशमा सोचेजति परिणाम नआएको विषयमा अध्यक्ष ओलीले टिकट वितरणमा पार्टीले कसैलाई अन्याय नगरेको जिकिर गरे ।
“टिकट दिँदा कसैलाई अन्यायमा पारिएको छैन । यदि त्यसो भएको रहेछ भने आगामी दिनमा सच्च्याउनुपर्छ,” ओलीको जवाफ थियो ।
उनले हालसम्म ८९ वटा स्थायी कमिटीको बैठक बसेको संस्थागत ढंगले निर्णय गरेको भन्दै अध्यक्षले एकलौटी ग¥यो भन्नु तर्कसंगत नभएकोसमेत जिकिर गरे ।
‘प्रधानमन्त्री तोकेर जाँदा घेराबन्दीमा परिन्छ’
बैठकमा बोल्ने केही ओली पक्षधर केन्द्रीय सदस्यले अध्यक्षलाई भावी प्रधानमन्त्रीको उमेदवार तोकेर चुनावमा जानुपर्ने राय राखेका थिए । त्यस्तै कतिपय केन्द्रीय सदस्यको राय मुख्यमन्त्री तोकेरै प्रदेशसभाको निर्वाचनमा होमिनुपर्ने धारणा राखेका थिए ।
तर, माधव नेपाल पक्षधरले प्रधानमन्त्री तोकेर जाँदा घेराबन्दीमा परिने, एमाले विरुद्ध सबै एकजुट हुनेबारे ध्यानकर्षण गराएका थिए ।
उमेदवार छनोटको कार्यविधि बनाउने जिम्मा स्थायी कमिटीलाई
अध्यक्ष ओली बोलिरहँदा पनि नेता नेपालले बीचमै प्रतिवाद गरेका थिए । ‘बाँकी विषयलाई सानो कमिटी (स्थायी कमिटी)मा बसेर छलफल गरौँला’ भनेर आफ्ना कुरा टुंग्याएको स्रोतको भनाइ छ ।
विशेषगरी अध्यक्षको कार्यशैली गुटपरस्त रहेको भन्दै नेपाल पक्ष रुष्ट बनेको छ । अध्यक्ष ओलीले टिकट वितरणमा एकलौटी गरेकाले दुई नम्बरलगायत चुनाव सम्पन्न भएका यसअघिका प्रदेशका केही ठाउँमा आशातीत जित हासिल नभएको भन्दै असन्तुष्टि प्रकट गरेको थियो ।
वामपन्थी गठबन्धनको चर्चा
आइतबार सम्पन्न बैठकमा माओवादीसँगको सहकार्य तोड्न नहुने भन्दै केही केन्द्रीय सदस्यले राय राखेका थिए । जवाफमा अध्यक्ष ओलीले एमालेको कारण नभई पुष्पकमल दाहाल अध्यक्षका कारण एमाले–माओवादी गठबन्धन तोडिएको जिकिर गरे । “मैले उहाँलाई प्रस्ताव ल्याउनुहोस् । प्रधानमन्त्री यही गठबन्धनबाट बन्नुहोला भनेकै थिएँ, तर उहाँलाई हतार भो । एमालेको के दोष ?” ओलीको भनाई स्रोतले उद्धृत ग¥यो ।
अध्यक्ष ओलीले वामपन्थीको एकताबाट परिवर्तन सम्भव भएको बताउँदै संविधानको कार्यान्वयन गर्न पनि वामपन्थी एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका थिए । एमाले–माओवादी केन्द्रबीच गठबन्धन बन्न एमाले खुला भएको ओलीको आसय रहेको स्रोतको दाबी छ ।
कमजोरीको स्वीकारोक्ति
पार्टीभित्र अध्यक्ष ओलीको कार्यशैलीबारे असन्तुष्टि चुलिएपछि सातौँ केन्द्रीय कमिटीको बैठकमा गुटरहित, विवादरहित एमाले बनाउन दशबुँदे संकल्प प्रस्ताव तयार पारिएको थियो ।
र, यो केन्द्रीय कमिटीको बैठकमा त्यही संकल्प प्रस्ताव अक्षरशः पालना गर्ने प्रतिवद्धता जनाउँदै कमजोरीको स्वीकारोक्ति गरेको नेता नेपाल पक्षको भनाइ छ ।
प्रदेशसभामा दुई नम्बर पनि जित्छौँ ।
एमालेलाई छिर्नै नदिएकाले, आफ्ना कुरा राख्नै नदिएकाले दुई नम्बरमा एमाले कमजोर भएको तर्क अध्यक्ष ओलीले बैठकमा पेस गरे । एमाले विरुद्ध सबैले घेराबन्दी गर्दा पनि १५ दिनमै यत्रो परिणाम ल्याउनु ठूलो उपलब्धि भएको बताउँदै अबका दुई निर्वाचनमा दुई नम्बरमा पनि एमाले पहिलो हुने दाबी गरे ।