site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जहाँ अन्त्यष्टिको पर्खाइमा छन् सयौं शव 

काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभाग । विभागको ठ्याक्कै पछाडि छ, ‘मर्चरी कोल्डरुम’ । कोल्डरुम बाहिर केही बिग्रिएर थन्किएका फ्रिजहरु, एक अर्कामाथि खप्टिएर राखिएका काठका बाकस (कफिन), अनि केही थोत्रा भइसकेका स्ट्रेचर । पछाडिको गेटबाट छिर्नेबित्तिकै एउटा ठूलो फ्रिज माइनस टेम्प्रेचरमा चलिरहेको छ । 

यसमा कस्ता शव छन् ?

“पोष्टमार्टम गर्न ल्याइएका शवहरु हुन् । २० वटा अट्छ यो फ्रिजमा, अहिले २० वटै शवले प्याक छ,” अस्पतालका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपालकुमार चौधरी भन्छन् ।
 
अनि त्यो मर्चरी कोल्डरुममा ? भन्ने बाह्रखरीको प्रश्नमा उनको जवाफ थियो, “त्यहाँ पनि अहिले प्याकजस्तै नै छ । ५० वटा बेवारिसे शव छन्, अनि पोखराको प्लेन दुर्घटनामा पहिचान नभएका केही शव र एउटा छुट्टै पोको पनि छ ।”

अब उनलाई चिन्ताको विषय हो– थप शव आइहालेमा राख्ने कहाँ ? 

 “उफ्, त्यही त छ हाम्रोमा सधैँको समस्या ...,” चौधरी भन्छन् ।

डा. चौधरीका अनुसार माघ ३ गते पोखराबाट यती एयर दुर्घटनामा परेकाको शव पहिचानका लागि ल्याउँदा विभागलाई व्यवस्थापनमा हम्मेहम्मे परेको थियो । कारण– मर्चरी कोल्ड रुममा वर्षौँदेखिका ११० वटा शव थिए । 

उनका अनुसार पोखराबाट ल्याइएका ४८ वटा शव थपिने भएपछि व्यवस्थापनका कर्मचारीलाई दौडधुप भयो । 

तत्काल जिल्ला प्रहरी परिसरसँग सल्लाह भयो । ६० वटा बेवारिसे शव प्रहरीले व्यवस्थापन गर्ने भयो र पोखराबाट ल्याइएका शव राखियो ।

पहिचानका लागि पोखराबाट ल्याइएका ४८ मध्ये ६ वटा शव र एउटा छुट्टै पोको अहिले पनि मर्चरी कोल्ड रुममै राखिएको छ । 

६ वटै शवको शरीरका सबै भाग जलेका छन्, बाहिरी शरीर हेरेर कुनै पनि शव चिन्न सकिने अवस्थामा छैनन् । 

अनुहार र शरीरका अन्य भागहरुसमेत क्षतविक्षत अवस्थामा रहेकाले उनीहरुको हुलिया र शरीरका कुनै चिन्हहरु हेरेर पहिचान गर्नसक्ने अवस्था छैन । 

विदेशी मृतकहरुको एन्टिमोटम (परिवारले दिएका नमूनाहरुको आधारमा गरिने पहिचान) र मेडिकल रिपोर्टका आधारमा सबैको पहिचान भयो । 

तर, बाँकी ६ जना नेपालीको पहिचान हुन डीएनएबाहेक कुनै विकल्प बाँकी रहेन । 

६ वटा शवको डीएनए म्याचिङको काम माघ १० गतेदेखि नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला रानीबारीले गरिरहेको छ । 

यसको रिपोर्ट आउन कम्तीमा पनि २० दिन लाग्ने प्रयोगशालाको भनाइ छ ।

०००

त्यहाँ नजिकै राखिएको छुट्टै पोकोका बारेमा राखिएको जिज्ञासामा उनले भने, “त्यसमा मृतकहरु जल्दा छुट्टिएका शरीरका विभिन्न भागहरु छन् । चिन्न र छुट्याउन सक्ने अवस्थामा छैनन् । अब तिनलाई अस्पतालकै तर्फबाट व्यवस्थापन गर्नुपर्ने हुन्छ होला ।”

डा. चौधरीले यसो भनिरहँदा मर्चरी कोल्ड रुममा शवहरुको खचाखच देखिन्छ ।  मानौँ कुनै मालबाहक गाडीबाट भर्खरै अनलोड गरिएका भरिएका बोरा खात लगाउनै बाँकी छ । 

कुनै बोराबाट बाटैमा सामान चुहिएजस्तो शरीरका अंग लत्रिएका, कुनै बोराको सिल तोडिएजस्तो शरीर र कपडा छुट्टिएका । कालो सेतो, पहेँलो रंगमा लपेटिएका । कुनै त तन्नामै पोको पारिएका । यस्तै, यस्तै अवस्थाका...।

शव छुट्टाछुट्टै राख्न ठाउँ पुग्दैन हो ?

“कहाँ पुग्नु ? जम्मा १५० वटा शव अट्छन् । तीमध्ये १०० भन्दा बढी त बेवारिसे शव नै हुन्छन्, जसलाई महिनौँसम्म त के वर्षौँसम्म राख्दा पनि कोही खोजी गर्न आउँदैनन् । अझै उपत्यकाभरिका बेवारिसे शव प्रहरीले यहीँ ल्याउँछ, उनीहरुको विवरण लिएर राख्ने अनि बुझ्न कोही आउँछ कि भनेर कुर्नेबाहेक केही गर्न सकिन्न । अहिले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका बनेपछि धेरै सहज भएको छ । बेवारिसे शव अन्त्येष्टी गर्ने संघ संस्थाहरुले पनि सहयोग गरिरहेका छन् । तर पनि नयाँ शव थपिनासाथ कसरी कहाँ अटाउने भन्ने चिन्ता सुरु भइहाल्छ,” उनले भने ।

हुन त विभागमा शव व्यस्थापनमा कठिनाइ हुनु नयाँ समस्या होइन । तर, भूकम्पपछिको कहानी झन् डरलाग्दो छ । 
२०७२ सालको महाभूकम्पमा परेर मृत्यु भएका कतिपय मृतकका आफन्त शव बुझ्नै आएनन् । त्यसै त उपत्यकाभरिका बेवारिसे शव राख्न हम्मे हम्मे, त्यसमाथि ५० वटा शव राख्न मिल्ने क्षमताको फ्रिजले त्यही बेला धोका दियो । 

तापक्रम मिलाउन नसकेपछि शवहरुबाट पानी बग्ने गर्थ्यो, भूकम्पको ११ महिनापछि २०७२ चैतमा ३२ वटा शव शवगृहकै जग्गामा गाडिएको थियो, पछि फेरि निकाल्न मिल्नेगरी ।

त्यसबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रिज मर्मतमा चासो नै दिएन ।  अवस्था निकै खराब भएपछि अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)ले नयाँ कोल्डरुम बनाइदियो । 

त्यही कोल्डरुममा अहिले ५० वटा बेवारिसेसहित पोखरा दुर्घटनामा मृत्यु भएका, पहिचान नभएका ६ वटा र केही पुराना शवहरु राखिएको छ ।

यसोभन्दा फेरि अध्ययन अनुसन्धानका लागि पनि त शवहरु प्रयोग हुन्छन् नि ? भन्ने प्रश्न पनि उठ्न सक्छ । 

सबै मेडिकल कलेजहरुले टिचिङबाटै अध्ययन प्रयोजनका लागि शव लैजाने हुन् ।  तर, अध्ययनका लागि वार्षिक ५० वटाभन्दा बढी शव प्रयोग हुँदैनन् । 

बेवारिसे शव कम्तीमा ३५ दिन राख्नैपर्छ । त्यसपछि पनि कोही बुझ्न नआए कोल्डरुमको स्पेस हेरेर प्रहरीलाई बुझाइने चौधरी बताउँछन् ।

अध्ययनमा प्रयोग हुने पनि बेवारिसे शव नै हुन् । तर, अध्ययनका लागि सग्लो र स्वभाविक मृत्यु भएको शव चाहिन्छ । बाँकी अन्य शवलाई प्रहरीकै जिम्मामा पठाइने हो । 

०००

“सत्यमोहन जोशीको निधनपछि त झनै तनाव थपिएको छ नि हामीलाई,” उनको भनाई थियो ।

किन ? 

“सत्यमोहन जोशीले किष्ट मेडिकल कलेजलाई मृत्युपर्यन्त शरीर दान गर्नुभएको रहेछ । मृत्युपर्यन्त शरीर दान गर्नु निकै राम्रो कुरा हो । ठूलो मन भएकाले मात्रै गर्नसक्छन् यो । हामीकहाँ त्यसपछि नै २५ जनाले नाम लेखाउनुभएको छ, मृत्युपछि शरीर दान गर्न भन्दै । तर, हाम्रो मर्चरी रुमको क्षमता हेर्नोस् त ? सरकारले त यस विषयमा अहिले सोचेको पनि छैन होला । तर, हाम्रो विभागमा वर्षौँदेखिको यो बिजोग हेर्नोस् त । शवगृह छ, तर शव राख्नै सकस्...।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro