site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वायु प्रदूषण : बढ्दै दीर्घरोगी, बिग्रँदै फोक्सो

काठमाडौं । यो वर्ष गएको कात्तिकयता बढ्न थालेको काठमाडौं उपत्यकाको वायु प्रदूषण फागुनमा ‘अस्वस्थकर’ तहमा छ ।

बढ्दो वायु प्रदूषणले उपत्यकावासीको स्वास्थ्यमा जटिलता निम्त्याइरहेको छ । पछिल्लो दुई महिनाको अवधिमा श्वासप्रश्वासका नयाँ बिरामी बढेका छन् । पुराना दीर्घरोगीमा पनि जटिलता थपिएको चिकित्सक बताउँछन् ।

मंसिरयता उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १०० भन्दा माथि २०० सम्म पुगेको वातावरण विभागले जनाएको छ ।

बढ्दै दीर्घरोगी, बिग्रँदै फोक्सो
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को वायु गुणस्तर मापदण्डानुसार, एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ । एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

यस्तै, वायुमा पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने डब्ल्यूएचओको मापदण्ड छ ।

नेपाल सरकारले तोकेको पीएम २.५ को मापदण्ड २४ घण्टाको निम्ति ४० माइक्रोग्राम प्रतिघनमिटर हो । तर, झन्डै आठ महिना यो मात्रा मापदण्डभन्दा बढी भइरहेको विभागको तथ्यांक छ ।

डब्ल्यूएचओ र विभागले गरेको पछिल्लो अध्ययनमा नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४२ हजार १०० जनाको मृत्यु भइरहेको तथ्यांक छ । ४२ हजारमध्ये १९ प्रतिशत पाँच वर्षमुनिका शिशु छन् । २७ प्रतिशत ७० वर्षमाथिका नागरिक छन् ।

अध्ययन रिपोर्टमा वायु प्रदूषण विशेष गरी पाँच रोगको मुख्य कारक रहेको उल्लेख छ । पाँचमध्ये श्वासप्रश्वासजन्य रोगबाट हुने मृत्युको ६६ प्रतिशत, मुटुरोगको ३४, स्ट्रोकको ३७, फोक्सोसम्बन्धी रोगको ४७ र नवजात शिशुको मृत्युको २२ प्रतिशत कारण वायु प्रदूषण रहेको रिपोर्टमा उल्लेख छ ।

पीएम २.५ को मात्रा बढी भएको वायु श्वासप्रश्वास हुँदै भित्री अंगहरूमा पुग्ने जोखिम बढी हुन्छ । बढी घातक पनि हुन्छ ।

नर्भिक इन्टरनेसनल हस्पिटलका छातीरोग विशेषज्ञ डा. अच्युतभक्त आचार्यका अनुसार, निरोगी व्यक्तिलाई नयाँ रोग लाग्ने र पहिले नै दीर्घरोग भएकालाई त्यही समस्याले बढी च्यापेर अस्पताल आइपुग्नेको संख्या विगत केही वर्षयता बढ्दो छ ।

वायु प्रदूषणले विशेष गरी आस्थमा, सीओपीडी, आईएलडी, क्षयरोग र फोक्सोसम्बन्धी विभिन्न समस्या भएका बिरामीलाई थप असर पुर्‍याइरहेको छ । “दीर्घरोग बल्झिने त छँदै छ, स्वस्थ व्यक्तिमा पनि वायु प्रदूषणले फोक्सोका विभिन्न समस्या निम्त्याइरहेको छ,” डा. आचार्यले बाह्रखरीसित भने ।

पीएम २.५ को मात्रा अधिक भएको वायु श्वासप्रश्वास हुँदै भित्री बहुअंगहरूमा पुग्ने कारणले अरू रोगहरूको जोखिम बढेको छ । सामान्य ‘भाइरल’को असर पनि कडा किसिमको देखिने र घरेलु औषधिले काम नगर्ने कारणले अस्पताल नै आइपुग्ने बिरामीको संख्या बढेको उनको अनुभव छ । 

आउँदा दिनमा थप जोखिम 
वातावरण विभागले काठमाडौं उपत्यकामा ६ स्टेसनबाट वायुको गुणस्तर मापन गर्छ । तीमध्ये काठमाडौंको कीर्तिपुरबाहेक रत्नपार्क, शंखपार्क, भक्तपुर, ललितपुरको भैँसेपाटी र खुमलटारका स्टेसनबाट नियमित तथ्यांक रेकर्ड भइरहेको छ ।

पछिल्लो साताको औसत एक्यूआई १०० देखि १९० सम्म पुगेको तथ्यांक छ । हल्का वर्षासँगै गएको शनिबार (फागुन १७ गते)पछि वायुको गुणस्तर केही सुधार भएको सूचकांकले देखायो ।

आइतबार पछिल्लो २४ घण्टामा ती स्थानको एक्यूआई १०९ देखि १२६ सम्म रह्यो । गएको शुक्रबार त्यो १५४ देखि १८६ सम्म थियो । तर, सोमबार ललितपुरको भैँसेपाटी फेरि अस्वस्थकर बन्यो, एक्यूआई १५३ सहित ।

मंगलबार (फागुन २०) साँझ पछिल्लो २४ घण्टाको एक्यूआई ११७ देखि १५७ सम्म पुगेको तथ्यांक छ । उक्त अवधिमा भक्तपुर १५७ एक्यूआईसहित पुनः अस्वस्थकर बन्यो ।

दुई दिनको हल्का वर्षासँगै आइतबार उपत्यकाको वायुमा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा पनि घटेको थियो । आइतबार बिहान ११ः३० बजे शंखपार्कको पीएम २.५ को मात्रा ५१.२ माइक्रोग्राम प्रतिघनमिटरमा झरेको थियो । शुक्रबार बिहान ११ बजे त्यो १४०.१४ पुगेको थियो ।

मंगलबार साँझ भक्तपुरमा पछिल्लो २४ घण्टाको पीएम २.५ को मात्रा  ७३.४६ पुग्यो । “विगत तीन दिनयता हल्का इम्प्रुभ भए पनि उल्लेखनीय रूपमा घटेको छैन,” विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछानेले भने ।

डढेलो लागेका बेला वायु प्रदूषण अझै बढ्ने विभागका अघिल्ला वर्षहरूको तथ्यांकले देखाउँछ । समग्र वायु प्रदूषणको मात्रा सन् २०२१ र २०२२ र २०२३ तीनै वर्षमा अप्रिल अन्तिम सातापछि घट्दो क्रममा रहेको विभागको तथ्यांक छ । सन् २०२४ मा भने अप्रिल अन्तिम साता एक्यूआई २०० को हाराहारीमा थियो ।

२०२४ अप्रिल ९ मा देशका अधिकांश स्थानको आकाश तुवाँलोले ढाकेको थियो । त्यस दिन काठमाडौं आसपासबाट धुवाँको तह माथिमाथि हुँदै हिमालसम्मै पुगेको स्याटेलाइट इमेजमा देखिएको थियो ।

वायु प्रदूषणको मुख्य स्रोत सवारीसाधन
काठमाडौं उपत्यकामा वायु प्रदूषणको मुख्य स्रोत सार्वजनिक सवारीसाधनबाट निस्कने धुवाँ रहेको विज्ञ बताउँछन् । “अहिलेको हकमा वायु प्रदूषणको मुख्य स्रोत लोकल सोर्स नै देखिन्छ, जसले सवारीसाधन, निर्माणजन्य धुलोधुवाँ, औद्योगिक धुवाँ सबैलाई समेट्छ,” निरीक्षक लामिछानेले भने ।

यसबाहेक फोहोर जलाउँदा निस्किएको र तराई तथा भारत क्षेत्रबाट आइपुग्ने धुवाँधुलोको प्रभावले पनि टोटल सस्पेन्डेड पर्टिकुलेट (टीएसपी)को मात्रा बढाएको उनको भनाइ छ ।

टीएसपीले पीएम २.३ र पीएम १० समेतलाई समेट्छ, जसबाट वायुमा कुल धुलोधुवाँको मात्रा मापन गरिन्छ । मंगलबार साँझ ६ बजे भैँसेपाटीको पछिल्लो २४ घण्टाको टीएसपी ५५८.७ मापन भएको छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई जनाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

वातावरण विभाग र काठमाडौं महानगरपालिकाले नियमित रूपमा सार्वजनिक सवारीसाधनमा प्रदूषण जाँच गर्दै आएका छन् । चालु आर्थिक वर्षमा हालसम्म ५५० सवारीसाधनको जाँच गर्दा १७३ वटा मापदण्डअनुसार नभएको विभागको तथ्यांक छ । तीमध्ये अधिकांश डिजेलबाट चल्ने सार्वजनिक सवारी र मालवाहक गाडी छन् ।

गएको पुस २९ गतेदेखि काठमाडौं महानगरले प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ अनुसार यस क्षेत्रभित्र चल्ने सवारीसाधनको नियमित जाँच गर्दै आएको छ । फागुन १९ सम्म एक हजार २६५ सवारीको परीक्षण गरिएको महानगरले जनाएको छ ।

तीमध्ये ५७० अर्थात् करिब ५५ प्रतिशत सवारीसाधन मापदण्डमा ‘फेल’ भएको महानगरको वातावरण विभागका निमित्त प्रमुख सीता राईले बताइन् । “धेरैजसो डिजेल भेहिकल, माइक्रो, ट्याम्पुले धेरै प्रदूषण उत्सर्जन गरेको पाइयो । कतिपय हरियो स्टीकरवाला गाडी पनि प्रदूषण जाँचमा फेल भइरहेका छन्,” राईले भनिन् ।

सुरुआती चरणमा सम्झाउने र पटक–पटक अटेर गर्ने सवारीलाई पछिल्लो समय एक हजार रुपैयाँसम्म जरिवानासहित कारबाही गर्न थालिएको उनले बताइन् ।

महानगरको मापदण्डभित्र पर्न सन् १९८० सम्म उत्पादित चारपांग्रे सवारीसाधनमा कार्बनमोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादित सवारीसाधनमा कार्बनमोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

यस्तै, तीनपांग्रेको हकमा सन् १९९१ सम्म उत्पादित सवारीसाधनमा कार्बनमोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत हुनुपर्छ । दुईपांग्रेमा यो मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

सन् १९९४ सम्ममा उत्पादित सबै किसिमका डिजेल सवारीसाधनका निम्ति धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयू) हुनुपर्छ ।

यस्तै, सन् १९९५ वा सोभन्दा पछि उत्पादित सवारीसाधनका निम्ति धुवाँको घनत्व अधिकतम ६५ एचएसयू हुनुपर्ने व्यवस्था छ । करिब ४५ प्रतिशत सवारी मात्र यो मापदण्डभित्र चल्ने गरेको महानगरको तथ्यांक छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro