काठमाडौं । गएको पुस अन्तिम साता कालीमाटी फलफूल तथा तरकारी बजारमा काठमाडौं उपत्यकाको रायो सागमा विषादीको अवशेष मापदण्डभन्दा अधिक बढी पाइयो ।
परीक्षणका क्रममा काठमाडौं र भक्तपुरको रायो तथा पालुंगोको सागमा विषादीको अवशेष रोकावट प्रतिशत (जसलाई इन्जाइम इन्हिविसन पनि भनिएको छ ) ८९ सम्म भएको पाइयो । जुन सरकारको मापदण्डअनुसार ३५ भन्दा कम हुनुपर्ने हो ।
परीक्षण रिपोर्टले तरकारी प्रयोगलाई लिएर आमनागरिकमा भय सिर्जना त गर्यो नै अन्य बजारबाट किनेर खाइरहेको तरकारी कति सुरक्षित होला भन्ने गम्भीर प्रश्न पनि उब्जायो ।
कालीमाटीमा अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र केन्द्रीय कृषि प्रयोगशालाले दैनिक तरकारीको परीक्षण गरिरहेका छन् ।
तरकारीमा विषादी प्रयोगको मापदण्ड के हो ?
कृषिजन्य उत्पादनहरूका निम्ति नेपालमा १७० प्रकारका विषादी दर्ता भएका छन् । तीमध्ये दुई समूहका करिब २० वटा विषादी तरकारीमा प्रयोग हुने गरेको केन्द्रीय कृषि प्रयोगशालाको तथ्यांक छ ।
प्रयोगशालाका बाली संरक्षण अधिकृत महेश तिमल्सिनाका अनुसार विषादी प्रयोगपछि उपभोग गर्न मिल्ने अवधि (वेटिङ पिरियड) तीन दिनदेखि १४ दिनसम्म हुन्छ । तर, विषादी प्रयोगपछिको वेटिङ पिरियडलाई ख्याल नगरी बजारमा पुर्याउँदा कतिपय तरकारीमा रोकावट प्रतिशत उच्च देखिन्छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले रोकावट प्रतिशत ३५ भन्दा कम रहेको तरकारी तथा फलफूल उपभोगयोग्य हुने मापदण्ड तोकेको छ । त्यस्तै, ३५ देखि ४५ प्रतिशतसम्म रुकावट देखिएमा केही दिन राख्ने र पर्खने गरी त्यस्ता तरकारी तथा फलफूललाई क्वारेन्टाइनमा राख्ने गरेको छ ।
तर, यो मात्रा ४५ प्रतिशतभन्दा बढी भए उपभोग गर्न पूर्ण अयोग्य हुने र त्यसलाई बिसर्जन नै गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
कहाँ-कहाँ हुन्छ परीक्षण ? अन्य बजारको तरकारी कति सुरक्षित ?
कालीमाटी फलफूल तथा तरकारी बजारको आर्थिक वर्ष २०८०/०८१ प्रथम त्रैमासिकको तथ्यांकअनुसार कालीमाटीमा ३९.२० प्रतिशत तरकारी भारतबाट आयात हुन्छ । अन्य तरकारी मकवनापुर, धादिङ, काभ्रे, काठमाडौं, भक्तपुर, सर्लाही, चितवनलगायत २१ भन्दा बढी जिल्लाबाट आयात भएको देखिन्छ ।
नेपालभित्रको उत्पादन परीक्षणको जिम्मा केन्द्रीय कृषि प्रयोगशाला र भारतका नाकाबाट भित्रिने तरकारीको परीक्षण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्दै आएको छ । प्रयोगशालाले काठमाडौंबाहिर ११ स्थानमा परीक्षण गरिरहेको छ । तर, कालीमाटीबाहेक अन्य बजारमा भने प्रयोगशालाले कहिलेकाहीँ छड्के अनुगमन मात्रै गर्ने गरेको छ ।
कालीमाटीमा हाल दैनिक करिब साढे सात लाख केजी तरकारी आयात भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । यो काठमाडौं भित्रिने तरकारीको झन्डै प्रतिशत मात्रै हो ।
बाँकी निजी क्षेत्रबाट काठमाडौं भित्रिने तरकारी बजारमा आयात हुने तरकारीमा विषादीको नियमित परीक्षण हुँदैन ।
‘स्थानीय बजार र कालीमाटीबाहेक अन्य नाकाबाट काठमाडौं भित्रिने तरकारी कसरी ढुक्क भएर उपभोग गर्ने त ?’ बाह्रखरीको प्रश्नमा प्रयोगशालाका अधिकृत तिमल्सिना भन्छन्, “अन्य बजारमा पनि नियमित परीक्षण गर्नुपर्ने हो, तर अहिले हामीले जनशक्तिको अभावमा कालीमाटीबाहेक अन्य स्थानमा परीक्षण गर्न सकिरेहका छैनौँ ।”
उनका अनुसार प्रयोगशालामा जैविक विषादी परीक्षण गर्ने प्राविधिक एकजना मात्रै प्रविधिक छन्, प्रयोगशलाले जनशक्ति थप्ने तयारी गरिरहेको छ ।
कालीमाटीमा हाल दैनिक साढे सात लाख केजी तरकारी आयात भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । यो काठमाडौंमा आयात हुनेमध्ये ७० प्रतिशत मात्रै हो । बाँकी ३० प्रतिशत तरकारी नियमित परीक्षणविना नै भान्सामा पुगिरहेको छ ।
त्यसमा पनि प्रयोगशालाले कार्वामेट र अर्गानोफस्पेटपेट गरी दुईवटा वर्गअन्तर्गतका विषादी मात्रै परीक्षण गरिरहेको छ । विषादी परीक्षणको दायरा बढाउन तत्काल जनशक्ति थप्नु आवश्यक रहेको प्रयोगशालाको भनाइ छ ।
जीवनाशक विषादी व्यवस्थापन ऐन २०७६ मा निजीस्तरमा स्थापना भई सञ्चालनमा रहेको मान्यताप्राप्त प्रयोगशालालाई मापदण्ड पुर्याएर प्रयोगशालाको रूपमा काम गर्न दिइने उल्लेख छ । तर, यसमा कानुनी प्रक्रिया अघि बढाउन पनि सरकार गम्भीर नभएको देखिन्छ ।