site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आत्महत्याको डरलाग्दो तथ्यांक : दैनिक २० जनाले ज्यान गुमाउँदै, के हो कारण ?

काठमाडौं । नेपालमा आत्महत्याका घटना दिनानुदिन बढिरहेका छन् । नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार सरदर दैनिक २० वटा आत्महत्याका घटना हुने गरेका छन् । पछिल्लो समय सामूहिक आत्महत्या, परिवारका सदस्याको हत्यापछि आत्महत्या, आत्मदाह तथा विभिन्न माध्यमबाट आत्महत्या भएका घटना धेरै बाहिरिने गरेका छन् ।

विज्ञहरूका अनुसार ८५ प्रतिशत आत्महत्याका घटना मानसिक समस्यासँग जोडिने गरेका छन् । आत्महत्याको यो अवस्थालाई हेर्दा नेपाल मानसिक स्वास्थ्यको क्षेत्रमा अत्यन्तै कमजोर अवस्थामा रहेको देखिन्छ । 

दैनिक २० जनाले गर्छन् आत्महत्या
नेपाल प्रहरीको तथ्यांक अनुसार दैनिक २० जनाले विभिन्न आत्महत्या गरिरहेका छन् । सन् २०१५ देखि २०२० सम्म आत्महत्याको वृद्धिदर प्रतिवर्ष ८ प्रतिशत रहेकोमा कोभिड–१९ महामारीयता यो दर एक्कासि उकालो लागेर १४ प्रतिशतमा पुग्यो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांक अनुसार सन् २०२० मा ६ हजार २४१ जना, २०२१  मा सात हजार ११७ र २०२२ मा ६ हजार ७९२ जनाले आत्महत्या गरेका थिए । आत्महत्यालाई अपराधसँग जोडेर हेर्ने गरिएपनि डब्लूएचओले यसलाई मानसिक, न्युरोलजिकल र गम्भीर जनस्वास्थ्य समस्याको रूपमा व्याख्या गरेको छ ।

डब्लूएचओले ‘मेन्टल हेल्थ एक्सन प्लान २०१३–२०३०’ बनाएर आफ्ना सदस्य राष्ट्रहरूमा सन् २०३० सम्म आत्महत्याको दर एक तिहाइमा झार्ने लक्ष्य राखेको छ । 

किशोरावस्थामै आत्महत्या बढी 
डब्लूएचओ नेपालका मानसिक स्वास्थ्य फोकल पर्सन डा. केदार मरहठ्ठाका अनुसार १५ देखि १९ बर्ष उमेर समूहका किशोर किशोरीमा मृत्युको चौँथो कारण हो, अत्महत्या । यो उमेर समूहमा अरूको बहकाउमा लाग्ने र छिटो विश्वास गर्ने भावना आउने भएकाले आत्महत्या गर्ने सम्भवाना रहन्छ ।

उनीहरूलाई आत्महत्याबारे सोच आउन नदिन तनावलाई कसरी झेल्ने, करिअर कसरी छान्ने, कुलतबाट कसरी बच्ने, कसैले नकारात्मक कार्य गर्न दबाब दिए कसरी नाइँ भन्नेजस्ता विषयमा जीवनोपयोगी तालिम/शिक्षा दिनु आवश्यक रहेको डा. मरहठ्ठा बताउँछन् ।

त्यस्तै, उनीहरूका गतिविधि र दैनिकीबारे अभिभावकले पनि उत्तिकै चासो राख्नु जरुरी हुने उनी बताउँछन् । उनीहरूलाई के कस्ता कुराले नराम्रो महसुस भइरहेको छ, के गर्‍यो भने त्यसको समाधान निस्किएला भन्नेबारे अभिभावकले बालबालिकासँग एकदमै नजिक भएर कुराकानी गर्नुपर्ने उनी बताउँछन् ।

साउन २०, २०७९ मा बाह्रखरी टीभीमा प्रसारित अन्तर्वार्ता ।


कस्तो अवस्थामा व्यक्तिले आत्महत्या गर्छ ? 
आत्महत्या डिप्रेसनको एउटा अवस्था हो । पाटन मानसिक अस्पतालका निर्देशक डा. अनन्त अधिकारीका अनुसार डिप्रेसनका तीनवटा अवस्था माइल्ड, मोडरेट र सिभियरमध्ये व्यक्ति मोडरेटबाट सिभियरतर्फ पुग्दै गरेको अथवा सिभियरबाट मोडरेटतर्फ निको हुँदै गएको अवस्थामा धेरै आत्महत्या गर्ने गरेको पाइएको छ ।

त्यो चरणमा व्यक्तिले सम्पूर्ण कुराहरूलाई 'ब्ल्याक एन्ड ह्वाइट' रूपमा देख्छ र आफूलाई सहायताविहीन, आशाविहीन र मूल्यहीन ठान्न पुग्छ ।

'आत्महत्या कायरता वा बहादुरी होइन, मनोविज्ञानको खराब अवस्था हो'
मनोविश्लेषकहरूका अनुसार आत्महत्याका घटानामध्ये ८५ प्रतिशत घटनामा मानसिक समस्या जोडिएको हुन्छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूले पटकपटक आत्महत्याबारे सोचेर योजना बनाएर आत्महत्या गर्दछन् । यस्ता व्यक्तिले परिवार आफन्त वा साथीहरूबीच कुनै न कुनै लक्षण देखाएका हुन्छन् ।

डा. अधिकारीका अनुसार यदि कसैले आफू 'मानसिक रूपमा विक्षिप्त छु, डिप्रेसनमा छु' भनेर आफन्त वा कसैलाई सेयर गरेमा उसलाई परामर्श वा ढाडस नभई हतोत्साहित गर्ने परिपाटीले व्यक्तिलाई आत्महत्याको चरणमा पुर्‍याइरहेको छ ।

"कसैले मानसिक समस्याबारे सेयर गरे हामी यस्तो कातर लाछी वा यस्तै शब्द प्रयोग गरेर उसका समस्यालाई पन्छाउने कोसिस गर्छौं । वास्तवमा आत्महत्या कुनै कायरता वा बहादुरी नभई मनोविज्ञानको एउटा अवस्था हो । तर, पीडितका समस्या के हुन् र उनीहरूलाई सकारात्मक सल्लाह दिने वा परामर्शमा लैजानेतिर जोड दिने हो भने यस्ता घटना स्वत: कम भएर जान्छन्," उनले भने ।

परिवार, कार्यलाय र समाजमा मानसिक स्वास्थ्य समस्याबारे खुलेर कुराकानी र छलफल गर्ने वातावरण बनाउनु आवश्यक रहेको उनको जोड छ । मानसिक स्वास्थ्य समस्यालाई घृणा वा लान्छनाको रूपमा हेरिनै भएकै कारण कतिपय बिरामी जटिल अवस्थामा मात्रै अस्पताल आइपुग्ने गरेको अनुभव उनको छ । कतिपयले यसबीचमा आत्महत्याको पटकपटक प्रयास गरेको पनि बताउने गरेको उनको भनाइ छ ।

"यो अवस्थाले नेपाल मानसिक स्वास्थ्यको क्षेत्रमा निकै पछाडि छ । हामीले अहिले गरिरहेका कामहरू पर्याप्त छैनन् भन्ने प्रष्ट पार्दछ," उनले भने । 

'डिप्रेसनमा रहेका व्यक्तिलाई मजाक र हेला होइन परामर्श दिऔँ'
अधिकांश आत्महत्याको पछाडि मानसिक समस्या भएपनि कतिपयले आवेगमा आएर तत्कालै कुनै घटना वा तनावलाई सहन नसकेर आत्महत्या गर्ने गरेको पाइएको छ । डा. मरहठ्ठाका अनुसार जस्तोसुकै स्वभाव भएका व्यक्तिहरूले पनि आफूलाई भइरहेका समस्या, पीडा र तनावको बारेमा नजिकैका व्यक्तिसँग कुराकानी गर्ने गर्छन् । यदि कुनै व्यक्तिले आत्महत्याबारे पटकपटक कुराकानी गरिरहन्छ र आफूलाई नकारात्मक सोचले सताएको बताउँछ भने उनीहरूका कुरालाई बेवास्ता नगर्ने र परामर्शमा पुर्‍याउने जिम्मेवारी नजिकका व्यक्तिले निभाउनुपर्दछ ।

त्यस्तै, यदि कसैले आफूलाई विविध तनावका कारण आत्महत्या गर्न मन लागेको बताएमा त्यस्ता व्यत्तिलाई काँतर, जीवनसँग हारेको व्यक्ति अथवा वाहियात सोच भनेर आरोप लगाउनुभन्दा उनीहरूको कुरा राम्रोसँग सुनिदिए सहयोग हुने डा. मरहठ्ठा बताउँछन् ।

नेपालमा मानसिक स्वास्थ्य सेवा सीमित भएकाले पनि आत्महत्याका घटना बढेकाले सरकारले यो सेवा सर्भसुलभ बनाउनुपर्ने उनको सुझाव छ । नकारात्मक आचरणलाई सुधार गर्नु, आफ्नो क्षमताभन्दा माथिको महत्त्वकांक्षलाई त्याग्नु, लागुऔषधबाट टाढै रहनु नै डिप्रेसनको अवस्थाबाट बच्ने मुख्य उपायहरू हुन् ।

यदि कसैलाई आत्महत्याबारे सोच आएमा आफ्नो नजिकको विश्वासिलो व्यक्तिलाई भावना सुनाउनुपर्छ । नेपालमा आत्महत्या रोकथाम हेल्पलाइन ११६६ सञ्चालनमा रहेको छ । यदि आत्महत्याबारे कुनैपनि सोच आएमा यो नम्बरमा जुनसुकै समयमा फोन गरेर तालिमप्राप्त परामर्शदाताहरूको सहयोग लिन सकिन्छ । 

यो पनि हेर्नुहोस् 

कसरी न्यूनीकरण गर्ने आत्महत्याका घटना ? (भिडियो वार्ता)

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  ०६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro