हिउँद लाग्नेबित्तिकै चिसोसँगै देशका अधिकांश भागमा वायु प्रदूषणको जोखिम निकै बढेको छ । स्वास्थ्य अवस्था कमजोर हुने तथा बालबालिका र बूढापाकाका लागि वायु प्रदूषण र चिसोको कहरले ज्यानै लिन सक्छ ।
अनपेक्षितरूपमा ह्वात्तै चिसो धेरै बढ्नुको मूल कारण तापक्रम वृद्धिसँग जोडिएको देखिन्छ । यसैगरी सवारी साधन, कलकारखाना र निर्माण कार्यका कारण वायु प्रदूषण बढेको हो । अर्थात्, अरूकै कारण बढेको चिसो वा वायु प्रदूषणको कहर निर्दोषहरूले सहनुपरेको छ ।
तराईमा तुवाँलोका कारण घामै नलाग्ने वा लागे पनि वायुमण्डल तताउन नसक्ने अवस्था हुन्छ । शीतलहर भनिने यस प्रकोपबाट यसअघि नै दसौं जनाको ज्यान गइसकेको छ । कतिपयको मृत्यु सञ्चार माध्यममा आउनै नसकेको पनि हुनसक्छ ।
यसैगरी वायु प्रदूषणबाट पनि स्वास्थ्य अवस्था कमजोर भएका र बालबालिका तथा बूढापाकाको ज्यान जान सक्छ । विशेषगरी, श्वासप्रश्वासका रोगीहरूका लागि वायु प्रदूषण निकै घातक हुनसक्छ । तर, यसको रोकथामका लागि राज्यले भने ओँठे आश्वासनबाहेक अरू केही गरेको देखिँदैन ।
मूलतः गरिबीका कारण पेटभर तागतिलो खाना खान र लाउने तथा ओड्ने ओछ्याउने लुगा नपाउनेहरू नै शीतलहरको कहरमा पर्ने गरेका छन् । यस्तै वायु प्रदूषणको चपेटामा पर्नेहरू पनि अधिकांश सामाजिक, आर्थिक र जनसांख्यिक दृष्टिबाट कमजोर समूहकै हुन्छन् ।
यसै वर्ष पनि सधैँजस्तै गृहमन्त्रीले शीतलहरबाट बचाउन जिल्ला प्रशासनलाई ‘निर्देशन’ दिइसकेका छन् । यत्ति बिखालु वायु प्रदूषणको नियन्त्रणमा सरकारको ध्यान गएको देखिएन । वायु प्रदूषण नियन्त्रणका लागि अपनाउन सकिने उपायहरू पनि अपनाइएका छैनन् ।
शीतलहर र वायु प्रदूषणबाट जनतालाई जोगाउन स्थानीय तहका जनप्रतिनिधिलाई संलग्न, सक्रिय र उत्तरदायी बनाउनुपर्छ । शीतलहर सुरु नहुँदै जोखिममा रहेको जनसङ्ख्या पहिचान गरी सहायता सामग्रीको तयारी र वितरण गर्नुपर्छ । जिल्ला प्रशासनले अनुगमन र निरीक्षण गरे हुन्छ ।
वायु प्रदूषण नियन्त्रणका लागि बाक्लो आवादी भएका र उपत्यका परेका ठाउँहरूमा हिउँदका दिनमा धुलो र धुवाँ नियन्त्रण गरिनुपर्छ । फोहोर डडाएर धुवाँ उडाउन नदिनेदेखि निर्माण कार्य विशेषगरी घर र सडक निर्माणबाट धुलो उडाउन केही दिनमात्रै भने पनि रोकिनुपर्छ ।
नेपालमा भन्दा पनि बढी वायु प्रदूषण भएका सहरहरूमा विशेषगरी निजी सवारी साधन चलाउन आंशिकरूपमा रोक्ने, धुवाँ फाल्ने सवारी चलाउन नदिने जस्ता उपाय अपनाउँदा केही सफलता मिलेका उदाहरण छन् । कम्तीमा काठमाडौं उपत्यकाभित्र मात्रै भए पनि यस्ता उपाय अपनाउनुपर्छ ।
सरकारको इच्छाशक्ति र सुझबुझ भए शीतलहर र वायु प्रदूषणको कहरबाट कमजोरहरूको जीवन जोगाउन वा त्यसको प्रकोप कम गर्न सकिन्छ । कमजोर जनसमूहप्रति संवेदनशिलता र तिनको ज्यान बचाउने इच्छाशक्ति भए सरकार निर्देशन दिएर तमासा नहेरोस् ।