site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘पहाड र लमतन्न समुद्र’को फेरो मार्दा
Sarbottam CementSarbottam Cement

यात्रा स्वदेशको हुँदा पहाड अर्थात् नेपालीको प्रिय आकर्षणका केन्द्र पहाड तथा हिमालहरू पर्ने गर्छन् भने विदेशको हुँदा प्रायः समुद्र पर्ने गर्छ । पहाड भ्रमण र समुद्र भ्रमणका तिनै मिठा स्मरणहरू बटुलेर नियात्राकार पवन आलोकले केही समयअघि पाठकमाझ ल्याएको नियात्राकृति हो, ‘पहाड र लमतन्न समुद्र’ ।

यो नियात्राकृतिमा स्वदेश तथा विदेश दुवैतिरका भ्रमणहरूका वृतान्त समेटिएको छ । पहाड र समुद्रको वर्णनले कसलाई पो छुँदैन र ? साँच्चै पहाड कहिले कुहिरोको पछ्यौरी ओढ्दै र कहिले बादलुको घुम्टोमय पहिरनमा सजिँदै हामीलाई नै पर्खिएर उभिएजस्तै लाग्छ । पहाडको काखमा आफूलाई सजाउन पाउनु पनि नेपाली हुनुको गर्वानुभूति हुन्छ, सबैलाई । अर्कोतर्फ, क्षितिजपारिको सौन्दर्य ‘समुद्र’ वास्तवमै आँखाले भ्याएजति टाढा टाढासम्म हेर्दा लमतन्न सुतिरहेझैँ नै लाग्छ । लेखकले यही मूलमर्मलाई पुस्तकभरि जोड दिएका छन् ।

नियात्रा, नितान्त निजी यात्राबाट जन्मने अनुभव र जीवनको सँगालो हो । पवन आलोकले आफ्नो जीवनमा पटक–पटक भिन्नभिन्न स्थान पुग्दा देखेका र महसुस गरेका यात्रामय वर्णनमा हामी पाठकलाई समेत डोर्याउन सफल भएको प्रतीत हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यद्यपि, पुस्तकमा यात्रा र अनुभव मात्र नभएर विभिन्न देशका ऐतिहासिक वर्णन र सो ठाउँको संस्कृति, रहनसहन, त्यो देशले गरेको विकास र उन्नतिबारे धेरै कुरा पाठकले बुझ्ने मौका पाउँछन् ।

लेखक जहाँ पुगेका छन्, त्यहाँ उनको कल्पना, देखेका दृश्य, टेकेको भूमिका अन्तरकुन्तर सबै मिहिन ढंगले केलाउँदै समेट्न सफल भएबाट पनि यो नियात्राकृति अब्बल रहेको भन्न सकिन्छ । जहाँ पाठक स्वयंले टेकेको, प्रत्यक्ष देखेको भोगेको अनुभूत गर्न सक्छन् ।

Global Ime bank

पवनले ‘विश्वविख्यात कविको गाउँमा’ शीर्षक राखेर लन्डन सहरको बारेमा लेखेका छन्, ‘बेलायतमा तपाईं जहाँ जानुहुन्छ विश्वप्रसिद्ध कवि–लेखक–साहित्यकारहरूको सालिक, स्मारक, म्युजियम, सडकको नाउँ राखिएको र जन्मस्थलको राम्रो संरक्षण भएको पाउनुहुन्छ । तपाईं यी कुरा देखेर छक्कै पर्नुहुन्छ, म पनि छक्कै परेँ ।’

बेलायतको लेक डिस्ट्रिक्टमा विश्वप्रसिद्ध कवि विलियम वर्डस्वर्थ जन्मिएको ठाउँ पुग्दा आलोक लेख्छन्, ‘ग्रासमेयर, जहाँ वर्डस्वर्थको घर खरले छाएको, होचो, दुईतले र एकदम साधारण छ, जसको नाउँ ‘डोभ कटेज’ राखिएको छ, तर यो विश्वप्रसिद्ध छ ।’

अर्को प्रसंग, यही ‘डोभ कटेज’को नजिकै वर्डस्वर्थ म्युजियम रहेछ । त्यो देखेपछि आलोक लेख्छन्, ‘हामी क्रमशः घुम्दै थियौँ, गाइडले हामीलाई वर्डस्वर्थले प्रयोग गरेका सामग्रीहरू जस्तो कि कुर्सी, मसीदानी, कलम, टेबल, खाने कोठा, सुत्ने कोठा आदि सम्पूर्ण देखाए । क्रमशः हेर्दै गयौँ, हामीले त्यहाँदेखि अलिक वर रहेको चर्च यार्डमा वर्डस्वर्थको चिहान रहेछ । वर्डस्वर्थसँगैको चिहानमा उनको श्रीमती मेरी र अन्य सदस्यहरूको पनि चिहान रहेछ । विदेशीले यसरी जन्मदेखि मृत्युसम्मको अभिलेख र म्युजियमद्वारा साहित्यकार तथा कलाकारहरूलाई जीवित राखेको देख्दा मैले हाम्रा आदरणीय साहित्यकारहरू सम्झिएँ, आदिकवि भानुभक्त, महाकवि देवकोटा, कविशिरोमणि लेखनाथ आदि सबैलाई एकपटक सम्झिएँ । खै त हाम्रो देशले साहित्यिक धरोहरलाई सम्मान गर्न सकेको ? खै सरकारले कुनै अभिलेख राख्न सकेको ?’

लेखकले ठाउँठाउँमा यसरी अनुभूतिजन्य प्रश्न राख्दै, आफ्नो देश सम्झँदै यात्रा गरेका छन् । स्वदेशमा रहेका जिम्मेवार व्यक्ति र सरकारप्रति असन्तुष्टि पनि पोख्दै हिँडेका छन् । साँच्चै भन्नुपर्दा कलमद्वारा आन्दोलन नै गरेका छन् । विदेशको यात्रा गर्दा पनि हरेक क्षण स्वदेश सम्झने गरेका छन् । आफूले घुमेका ऐतिहासिक स्थानसँग पाठकलाई सजिलै जोडेर त्यहाँको भ्रमण र वस्तुस्थितिबारे प्रस्ट अवलोकन पनि गराउन आलोक सफल भएका छन् । नियात्रा लेखनमा आलोकले भिन्नभिन्न ठाउँको वर्णन मात्रै गरेका छैनन्, उनले देश, समाजमा रहेका कुरीति र कुसंस्कारहरूका विरुद्ध आवाज पनि उठाएका छन् ।

पहाडी यात्रा गर्दाको दिलचस्पी वर्णन ‘पहाडमा प्रेमिल पाइला’ शीर्षकको आलेखमा पाइन्छ । स्वदेशी पहाड, अझ आफ्नै जन्मथलो वरिपरिको पहाडी भेगमा रमाउँदै गर्दा उनी लेख्छन्, ‘भोजपुर जिल्लाको विकट गाउँ सिम्लेमा जन्मेर  मझुवाबेँसीलाई आफ्नो कर्मथलो बनाई तपस्या र साधना गर्दै योगमायाले देशमा तत्कालीन समाजका सामाजिक, धार्मिक, राजनैतिक, आर्थिक सांस्कृतिक र व्याप्त विकृति तथा विसंगतिविरुद्ध सशक्त आवाज उठाउने योगमायालाई उहाँको नाममा हुलाक टिकट मात्र प्रकाशित गरेर सीमित राख्नु हुँदैन, उहाँ न्यायको आवाज बोल्न सक्ने क्षमता राख्ने राष्ट्रको गहना भएको कारण ‘राष्ट्रिय विभूति’को सम्मान गरिनुपर्छ ।’

मझुवाबेँसी र गौडेनीको यात्रापछि बुम्लिङ्टार फर्किंदाको एक प्रसंगमा आलोकले त्यस क्षेत्रमा पहिलेको तुलनामा धेरै कुराहरू विकास भएको तर सामाजिक सद्भावहरू भत्किएर विकृतिहरू बढ्दै गएको, युवा विदेशिएर घरमा वृद्धवृद्धाहरू मात्र रहेको अनि कृषि उत्पादनमा ह्रास आएर परनिर्भरता बढ्दै गएको कुराबारे निकै चिन्ता पोखेका छन् ।

यसरी लेखकले इतिहास र संस्कृतिलाई जीवन्त राख्नुपर्ने, युवाको विदेश  पलायन रोक्नुपर्नेजस्ता महत्त्वपूर्ण विषय उठान गरी ‘अक्षरबाट नै आन्दोलन’ गरेका छन् । लेखकका विचारहरू सम्मानयोग्य छन् ।

लेखकले यात्रा गर्दाका कतिपय रमाइलो क्षण पनि नलुकाई वर्णन गरेका छन् । एक यात्रा चर्चामा उनी लेख्छन्, ‘बद्री दाइ रमाइला मान्छे छन् । एउटा फलैँचामा बसेर सुर्तीको सर्कोसँगै गीत गाउन थाल्छन्, ‘कालो चोलो कुम गयो फाटेर, धेर भो माया जौं डाँडा काटेर ।’

उनको गीत सुनेपछि मैले भनेँ, ‘कतिवटीलाई डाँडा कटाउनु भो हौ बद्री दाइ तपाईंले ?’ उनले भने, ‘केको कटाउनु ? जवानीमा ख्यालठट्टा त गरियो नि !’ मैले भनेँ, ‘ख्याल ठट्टा मात्र त होइन होला ?’ बद्री दाइ फिस्स हाँसे ।’

यसरी आलोकले आफ्नो लेखनीमार्फत पाठकलाई बेलाबेला मनोरञ्जन पनि गराएका छन् । लेखक जनकपुर घुम्दा जनकपुरकै आञ्चलिक भाषामा बोलेको कुरा पनि रमाइलो र मिठासपूर्ण छ ः

उनी सोध्छन्, ‘आँ के नाम कथि है ? (तपाईंको नाम के हो ?)

प्रश्नको उत्तरमा, ‘हमार नाम लालु प्रसाद है ।’

‘जनकपुरमे साँझके आरती बहुत निमन होइ छै ?’ 
(जनकपुरमा सांँझको आरती निक्कै राम्रो हुन्छ रे हो ?)

‘निमन होइ छै ।’ (निकै राम्रो हुन्छ)

यात्रा गर्दा आफूले नदेखे/नजानेको ठाउँसम्म पुग्न सकेसम्म ‘प्याकेज’मा यात्रा गर्दा सहज हुने कुरा पनि पवन आलोकले बताएका छन् । उनी लेख्छन्, ‘यसरी यात्रा गर्दा घुम्ने र बास बस्ने ठाउँको खोजी गरिरहनु पर्दैन, तर आफूले भनेको समय र आफूले जान चाहेको ठाउँ भने पाइँदैन । उनीहरूकै निर्देशनमा हिँड्नुपर्छ, तर निक्कै सजिलो हुन्छ । प्याकेजमै उल्लेखित ठाउँहरू र बस्ने खाने व्यवस्था हुन्छ ।’

वास्तवमा यो कुरा मननीय छ । लेखक यसरी ‘प्याकेज’मा घुमेको बखत ‘टिटलिसको हिउँमा चिप्लेटी’ खेल्न पुग्छन् । अप्रिलदेखि सेप्टेम्बरसम्म टिटलिसको भ्रमण राम्रो हुने जानकारी पनि दिएका छन् । उनी लेख्छन्, ‘दस हजार फिटमाथिको उचाइमा चारैतिर हिउँ नै हिउँले ढाकेको स्थानमा उभिएर अनुभूत गरेको आनन्दको त बयान नै गर्न नसकिने, यति सुन्दर कि लाग्थ्यो हामी अर्कै संसारमा छौँ । उँभोतिर हेर्दा सुन्दर पहाडहरू थिए, जमिनमा घाँस काटेर हरियो कार्पेट ओछ्याएझैँ देखिन्थ्यो । माथिबाट हेर्दा तलतल सेतो कपासजस्तै देखिने बादलहरू घुमेको देखिन्थ्यो ।’

लेखकले बेलायत सरकारद्वारा सञ्चालित पाख्रीबास कृषि केन्द्र धनकुटामा सूचना शाखामा कार्यरत रहँदा अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिने मौका पाएछन् । यात्रा गर्न रुचाउनेलाई योभन्दा खुसीको कुरा अरू के नै हुन्छ र ? यसैक्रममा चीनको बेइजिङ सहर घुम्ने मौका पाउँदा उनी तियानमेन स्क्वायर, माओको शव राखिएको ठाउँ, माओ मेमोरियल हल पनि पुग्छन् र त्यहाँको जीवन्त वर्णन गर्छन् ।

उनी लेख्छन्, ‘बेइजिङको मुटुमा अवस्थित तियानमेन चोक चार लाख चालीस हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको चोकमा लाखौँ मानिस उभिन सकून् भनेर बनाइएको रहेछ । म नजिकैको माओ मेमोरियल हलभित्र गएँ । माओको ठूलो सालिक अनि चिनियाँ कम्युनिस्ट पार्टीको झन्डा ओढाएर सिसाभित्र राखिएको माओको शव, जुन शव अहिले पनि जिउँदो मानिसको शरीरजस्तै छ, जुरुक्क उठेर केही बोल्छन् कि जस्तो ।’

यसरी उनले आफू गएका हरेक ठाउँको ऐतिहासिक वस्तुस्थितिको निकै राम्रो गरी वर्णन गरेका छन् । ‘पहाड र लमतन्न समुद्र’भित्र छिरेपछि लेखक सँगसँगै उनी पुगेका स्थानको सफल भ्रमण गरेर सकिएपछि मात्र आफू भएको ठाउँमा अवतरण गरेको अनुभूत गर्छन्, पाठक पनि ।

यस नियात्रा संग्रहभित्र स्वदेश तथा विदेश भ्रमणका पन्ध्रवटा आकर्षक यात्रावर्णन छन् । शीर्षक मात्र पढ्दा पनि पुस्तक अत्यन्तै पठनीय भएको भान पर्छ । जस्तो कि, पहाडमा प्रेमिल पाइलाहरू, पोखरीहरूको सहरमा, गुराँसको राजधानीतिर, छिचोल्दैछिचोल्दै घुम्तीहरू, टिटलिसको हिउँमा चिप्लेटी, स्वैरकाल्पनिक लाग्ने एउटा भूस्वर्गमा, सपनाका सहरहरूमा, विश्वविख्यात कविको गाउँमा, समुद्रमा सयर, कल्पनातीत दृश्य र अनुभूतिमा भुट्टोको देश, उहानका दृश्य विम्बहरूमा, मनिला, सुन्दरी र बैँस व्यापार, बाघको खोरभित्र पस्दा, पातालमा पहिलो पाइला, हराएँ इन्द्रेणी रङहरूमा ।

पवन आलोक बहुविधामा कलम चलाउन सक्ने वरिष्ठ साहित्यकार हुन् । उनका दुई कविताकृति, दुई नियात्राकृति, एउटा यात्रोपन्यास र एउटा निबन्धकृति गरी ६ वटा पुस्तक प्रकाशित भइसकेका छन् । उनका कतिपय पुस्तक अंग्रेजी तथा बांग्लाभाषामा समेत अनूदित भई प्रकाशित भएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ०६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC