पोखरा । एमालेको विरोधका कारण स्याङ्जा–२ को मतगणना अझै सुरु हुन सकेको छैन । बुथ कब्जा गरेको आरोप लगाउँदै एमालेले पुनः मतदानको माग गरिरहेको छ ।
तर, निर्वाचन आयोगले कुनै निर्णय लिनसकेको छैन । आयोगले एमालेको आरोपबारे छानबिन भइरहेको बताएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले हालसम्म कुनै निर्णय नभएको बताए । “केही निर्णय भएको छैन । छानबिन हुँदै छ,” उनले भने ।
छलफलका लागि बुधबार दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको थियो । तर, छलफल हुन सकेन ।
प्रतिनिधिसभा तथा प्रदेशसभाका एमाले उमेदवारहरूले बुथ कब्जा गरिएको आरोप लगाउँदै आएका छन् । उनीहरूले नामावली नै सार्वजनिक गरेर फर्जी मत खसाइएको दाबी गरेका छन् ।
कांग्रेसले स्याङ्जाको चापाकोट नगरपालिका–३, ४ र ५ का चारवटा मतदान केन्द्रमा बुथ कब्जा गरेको एमालेको आरोप छ । सत्ताको दुरुपयोग गरेर कांग्रेसका नेता कार्यकर्ताले फर्जी नामबाट मतदान गरेको, विदेशमा रहेका र मृतक व्यक्तिको नामबाट पनि बुथ कब्जा गरेर मतदान गरेको एमालेको आरोप छ ।
एमाले उमेदवार पद्या अर्यालसहित राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पनि पुन: मतदानको माथ गरिरहेका छन् ।
तर, कांग्रेसले भने एमाले आरोपको खण्डन गरेको छ । उसले मतगणना कार्यलाई अगाडि बढाउन दबाब दिइरहेको छ । मतगणनाका लागि कांग्रेसका कार्यकर्ताहरूले दिनहुँ नाराबाजी गर्ने गर्दै आएका छन् ।
वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सबै मतपेटिकाहरू ल्याइएको छ ।
स्याङ्जा–२ मा कांग्रेस उपसभापति धनराज गुरुङ र नेकपा (एमाले)की सचिव पद्मा अर्याल प्रतिस्पर्धामा छन् ।