site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पोखरामा करारका कर्मचारी हटाउने निर्णय खारेज गर्न एमालेको अल्टिमेटम

पोखरा । लोकसेवा आयोग पास गरेर महानगरमा कर्मचारी आइसकेपछि गत कात्तिक १४ गतेको कार्यपालिका बैठकले करारका कर्मचारीलाई कात्तिक मसान्तदेखि हटाउने निर्णय गर्‍यो । पोखरा महानगरपालिकाको मागबमोजिम प्रदेश लोकसेवा आयोगले आवश्यक प्राविधिकतर्फका कर्मचारी खटाएको थियो ।

स्थायी कर्मचारी आएपछि करारका कर्मचारी स्वतः हट्नुपर्ने हो । तर, नेकपा (एमाले) करारका कर्मचारीको पक्षमा उभिएको छ । आफू नेतृत्वमा हुँदा करारमा जागिर खाएका कर्मचारीलाई एमालेले महानगरमा नै जागिर दिएर राख्न चाहेको छ । करारका कर्मचारीको जागिर जोगाउन एमालेले कार्यपालिकाको बैठक नै खारेजीको माग राखेको छ ।

एमालेले राजनीतिक पूर्वाग्रहका आधारमा कर्मचारी हटाउन लागिएको आरोप लगाएको छ । पोखरा महानगरको कात्तिक १४ गते बसेको कार्यपालिका बैठकले २८ जना प्राविधिक र सातजना शिक्षिका तथा सामाजिक परिचालिकालाई मंसिर १ गतेदेखि बिदा गर्ने निर्णय गरेको थियो । उक्त बैठक एमालेले बहिष्कार गरे पनि गणपुरक संख्या पुगेपछि निर्णय गरिएको हो ।

कात्तिक महिनासम्मको तलब र चाडपर्व खर्च दिएर उनीहरूलाई बिदा गर्ने निर्णय गरिएको छ । हटाउन लागिएको संख्याका कर्मचारी लोकसेवा आयोगले महानगरमा पठाइसकेको छ ।

साउन र भदौमा इन्जिनियर र सबइन्जिनियर लोकसेवा आयोगले महानगरमा पठाएको हो । पोखराका करार कर्मचारी हटाउनुपर्ने कांग्रेसको माग छ । एमाले तत्काल हटाउन नहुने अडानमा छ । कांग्रेसकै अडान र कांग्रेसका मात्र जनप्रतिनिधि उपस्थित बैठकले नै करारका कर्मचारी हटाउने निर्णय महानगरपालिकाले गरेको थियो ।

एमालेले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर कनिष्ठताका आधारमा करार कर्मचारी हटाउनुपर्ने बताएको छ । तिहार बिदापछि कार्यालय खुलेको दिन मंगलबार पोखरा महानगर परिसरमा एमालेका जनप्रतिनिधीले धर्नासमेत दिएका थिए । आइतबार पनि महानगरमा प्रतिनिधित्व गर्ने एमालेका जनप्रतिनिधिहरूले सोही माग राखेका छन् ।

महानगरका मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाउँदै एमालेले आफ्ना मागहरू सोमबार साँझसम्म कार्यान्वयन गर्न अल्टिमेटम दिएका छन् ।

महानगरको ३७औँ कार्यपालिका बैठकले गरेको निर्णय खारेज गर्न माग राख्दै धर्नामा उत्रिएको एमालेले आइतबार मेयर आचार्यलाई ज्ञापनपत्र बुझाएको हो । एमालेले ३७औँ कार्यपालिकाको निर्णय खारेजसहित २५औँ कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्न र मणिपालको राजस्व छुट सम्बन्धमा गठित समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।

मूल मुद्दा आफ्नो नेतृत्वमा भएका कर्मचारीको संरक्षणसहित एमालेले विवादरहित बन्न थप मागहरूसमेत समेटेको छ । दरबन्दीभन्दा बाहिरका कर्मचारी तुरुन्त फिर्ता गर्न, महानगरको संगठन तथा व्यवस्थापन सर्वेक्षण तर्जुमा गरी लागु गर्न र फोहोरमैला प्रशोधन केन्द्रको प्रगति प्रतिवेदन सार्वजनिक गर्न एमालेले माग राखेको छ ।

पोखराका ३३ वडामध्ये नौ वडाको नेतृत्व एमालेसँग छ । आइतबार पोखरा–१७ की वडाध्यक्ष राधिका शाही नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाउँदै आफ्ना माग कार्यान्वयन गर्न मेयर आचार्यलाई दबाब दिएको हो ।

एमालेले राजस्वको दर रेट निर्धारण, अनावश्यक राजनीतिक चलखेल, आर्थिक सहायता वितरण र फजुल खर्च नियन्त्रण र दीर्घकालीन योजना, बसपार्क, सभागृह हल, फेवाताल र फिर्के खोलाको मापदण्डलगायत योजना तत्काल कार्यान्वयनको माग राखेको छ । 

सोमबार साँझसम्म पनि निर्णय कार्यान्वयन नभए फेरि आन्दोलनमा उत्रिने चेतावनी वडाध्यक्ष शाहीले दिएकी छन् । उनले ३७औँ कार्यपालिका बैठकको निर्णय नस्वीकार्ने बताइन् । 

कार्यपालिका बैठकको एजेन्टा २४ घण्टा अगावै दिनुपर्ने भए पनि आफूहरूलाई नदिइएको उनको भनाइ छ । कार्यपालिका बैठक नै अवैधानिक रहेको तर्क उनले गरिन् ।

पोखरा महानगरमा ३६५ जनाको दरबन्दी रहे पनि एक हजार ५८ जना कर्मचारी कार्यरत रहेको बताउँदै उनले २८ जनालाई मात्र हटाइनुमा राजनीतिक पूर्वाग्रह नै रहेको दाबी गरिन् ।

मेयर आचार्यले महानगरमा अहिले देखिएको समस्या राजनीतिक भएको र त्यसलाई राजनीतिकरूपमै छलफल गरेर समाधान निकाल्ने बताए । महानगरपालिका अबको केही समयमै करारमुक्त हुने उनले दाबी गरे ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  २०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro