site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हिरासतमा के गर्दैछन् रवि ? भन्छन्– मेराविरुद्ध राज्य लाग्यो 

पोखरा । कात्तिक ३ गतेको बिहान ३ बजेयता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले नियन्त्रणमा लिएसँगै सबैको ध्यान रवि र कास्कीतर्फ केन्द्रित छ । 

२२ दिनसम्म प्रहरीले हिरासतमा राख्दा उनको दैनिकी कस्तो छ भन्ने आम चासो पनि छ । हिरासतमा रविले के गर्छन्, स्वास्थ्यावस्था कस्तो छ, कसरी दिन कटाइरहेका छन्, यस चासोलाई बुझ्न बाह्रखरीले हिरासतमा नै लामिछानेलाई भेटेको थियो । 

लामिछानेलाई भेट्न कडा सुरक्षा प्रबन्ध पार गरेर जानुपर्ने हुन्छ । भेट्न जानुअघि जिल्ला प्रहरी कार्यालय कास्कीको गेटमै नामसहित लामिछाने र रास्वपासँगको सम्बन्ध खुलाउनुपर्ने हुन्छ । गेटभित्र छिरिसकेपछि साथमा भएका मोबाइल, घडी, चाबी प्रहरीलाई बुझाउनुपर्छ । त्यसपछि शरीर जाँच हुन्छ भने सुरक्षाकर्मीले अनुमति दिएपछि उनीहरूको साथमा नै थुनुवा राखिने हिरासत कक्षमा जान पाइन्छ ।

हिरासत कक्षमा फेरि नाम, नम्बर टिपाएर शरीर जाँच गरेपछि बल्ल लामिछानेलाई भेट्न पाइन्छ । जिल्ला प्रहरी कार्यालयमा आफँै सम्पर्क गरेर भेट्न खोज्दा चाहिँ सूचना अधिकारी तथा कास्की प्रहरीका प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले लामिछानेले कसैलाई भेट्दिन भन्नुभएको छ भन्ने बनावटी जवाफ दिन्छन् ।

जबकि, हामीले लामिछानेलाई भेट्दा उनले आफूलाई भेट्न खोज्ने कसैलाई रोक्ने आफ्नो स्वभाव नरहेको बताए । “म फिल्डमा मान्छे भेट्ने र समाचार संकलन गर्ने मान्छे हो, मैले कसैलाई भेट्दिनँ भनेको छैन, त्यो मेरो स्वभाव हैन,” उनले भने ।
कास्की प्रहरीमा थुनुवा राख्ने भवनको माथिल्लो तलामा छन्, लामिछाने । हिरासत कक्षका सुरक्षाकर्मी बस्ने कोठा उनलाई दिइएको छ ।

सुरुमा नै हामीले लामिछानेको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राख्यौँ । अन्य भीआईपी जस्तो पक्राउ पर्नासाथ अचानक स्वास्थ्य बिग्रिने र अस्पतालमा बस्नुपर्ने अवस्था लामिछानेको छैन । 

कास्की प्रहरीको पुस्तकालयमा भएका बीपी कोइरालाको पुस्तकदेखि शुभचिन्तकले लगिदिएका अनेकौँ देशीविदेशी पुस्तकहरू । हामी पुग्दा उनले रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले लगिदिएको पुस्तक पढ्दै थिए । ‘एज अफ रिभोलुसन’देखि मुकाम रणमैदान उनको पाठ्यसामग्रीमा मिसिएका छन् ।
 
उनको कक्षमा जाने जोकोहीले देख्ने दृश्य यिनै हुन् । तर, लामिछानेले भित्र के सोचिरहेका छन्, त्यो देखिँदैन । उनैले महसुस गरिरहेका होलान्, देशको गृहमन्त्रीको कुर्सीदेखि हिरासतको सामान्य खाटसम्म आइपुग्दाको अवस्था ।

लामिछानेले बारम्बार सहकारी प्रकरणमा स्पष्टीकरण दिएका छन्, चाहे प्रहरी होस्, संसदीय छानबिन समिति वा पार्टीकै बैठक । उनले आफ्नो अडान छाडेका छैनन् ।

टीभी प्रस्तोता हुँदाको जस्तो चर्को आवाजमा बोल्ने उनको शैली भने अहिले नम्र छ । नम्र भाषामा कुरा गर्छन् । कुनै तनाव र दबाब अनुहारमा देखिँदैन ।

“हिरासतको प्रेसर हुने नै भयो, अरु मलाई केही छैन, म देश बनाउन हिँडेको मान्छे हुँ, यो अवस्था आउँछ भन्ने थाहा थियो र म तयार नै थिएँ, मेराविरुद्ध राज्य लागेको छ,” उनले भने ।

राज्यको प्रतिशोधसिबाय आफ्नो कुनै गल्ती नरहेको दाबी उनको छ । देशका दुई ठूला दल मिलेर आफूलाई सिध्याउन लागेको उनको तर्क छ । मिडियामै छँदा आफू पीडितहरूको पक्षमा सदैव पैरवी गर्ने हुँदा आफूले गर्नै नसक्ने संगठित अपराधको मुद्दा लगाइएको उनको भनाइ छ ।

लामिछानेमाथि हालसम्म तीनपटक म्याद थप भइसकेको छ । कात्तिक २ गते समातिएका रविलाई अदालतले पहिलोपटक ६, दोस्रोपटक सात र तेस्रोपटकमा १० दिन म्याद थप गरेको छ । 

थप गरिएको म्याद पनि आजै सकिँदैछ । 

लामिछानेकै भनाइअनुसार पछिल्लो समय १० दिन म्याद थप भएता पनि उनको कुनै बयान लिइएको छैन । बयान नलिएता पनि आफूलाई किन हिरासतमा राखिएको छ, उनी आफैँलाई थाहा छैन ।

“बयान लिन केही भए पो, बयानको नाममा अल्मल्याउने काम मात्र भइरहेको छ । पछिल्लो समय म्याद थप गर्दा एकपटक पनि बयान भएको छैन,” उनले भने । 

२२ दिनमा जम्माजम्मी ७–८ घण्टामात्र बयान भएको उनले बताए । अदालत लैजाने र म्याद थप मात्र गर्ने काम भएको आरोप रास्वपाले लगाउँदै आएको छ । बयानमा नयाँ कुरा नआएपछि म्याद थप किन भन्ने प्रश्न पनि रास्वपाले उठाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बिहान ७ देखि ९ र दिउँसो ३ देखि ५ बजेसम्म थुनुवालाई भेट्ने टाइमकार्ड बनाएको छ । यही समयमा उनले आफ्ना पार्टीका पदाधिकारी, सदस्य तथा शुभचिन्तकहरूलाई भेटघाट गर्छन् । लामिछानेपत्नी निकितादेखि उनी निकट दीपक बोहोरासँग नियमित भेटघाट गर्छन् । उनको सचिवालयले शुभचिन्तकहरूलाई भेटघाटको व्यवस्था मिलाउँदै आएको छ ।

बिहान साढे ६ बजेतिर उठ्ने उनको दैनिकी छ । उठेपछि हिरासतभित्रै उनी व्यायाम गर्छन् । त्यसपछि शुभचिन्तक भेटघाट गर्छन् । साँझ ७ बजेपछि खाना नखाने उनले बताए । दिनमा दुईपटक शुभचिन्तकहरूसँग भेटघाटपछि लामिछाने बाँकी समय पुस्तकमा नै बिताउँछन् ।

रास्वपा र उसका शुभचिन्तकहरूले लामिछानेलाई अदालतमा उपस्थित गराउने दिन प्रदर्शन गर्दै आइरहेका छन् । गएको मंगलबार अदालतमा लगिँदा उनको पक्षमा भएको प्रदर्शन रोक्न प्रहरीले चार सेल अश्रुग्यास नै प्रयोग ग¥यो, लाठीचार्ज समेत हुन पुग्यो ।

लामिछाने आफैँले संसदीय छानबिन समिति र जिल्ला सरकारी वकिलको कार्यालयले लिएको बयानमा आफूले कुनै ठगी नगरेको बारम्बार दोहोर्‍याउँदै आइरहेका छन् ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा भएको अर्बौँ रकम अपचलन प्रकरणमा उनलाई कास्की प्रहरीको अनुरोधमा काठमाडौं प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो । रवि लामिछाने कुनै बेला गोर्खा मिडिया नेटवर्कका सञ्चालक थिए । यही नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी फोरके टेलिभिजनमा लामिछाने प्रबन्ध निर्देशक थिए ।

सोही संस्थामा पोखराको सूर्यदर्शन सहकारीबाट पाँच करोड ५८ लाख रुपैयाँभन्दा बढी रकम गएको विभिन्न वित्तीय अध्ययन प्रतिवेदनले देखाएका छन् । सोही रकम चेकमार्फत बाँडफाँट गरेको भनेर लामिछानेलाई संसदीय छानबिन समितिको प्रतिवेदनले कारबाहीको भागीदार रहेको ठहर गर्‍यो । उक्त प्रतिवेदनकै आधारमा र पोखराका सहकारीपीडितहरूले ०८० माघ २२ गते दिएको पूरक किटानी जाहेरीको आधारमा लामिछाने कास्की प्रहरीको हिरासतमा २२ दिनयता छन् ।

उनीमाथि अनुसन्धानको लागि तीनपटक म्याद थप भइसकेको छ । पछिल्लो समय थपिएको १० दिनको म्याद पनि शनिबार सकिनेछ । त्यसपछि फेरि आइतबार लामिछानेलाई अदालतमा उपस्थित गराइनेछ । फेरि पनि म्याद थप हुने नहुने विषय आइतबार मात्र टुंगो लाग्नेछ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro