site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पोखरा महानगरले १२९ जनालाई दिएको स्थायी नियुक्ति लोकसेवाले गर्‍यो बदर

पोखरा । पोखरा महानगरपालिकामा कर्मचारी नियुक्तिको अर्को चलखेल बाहिरिएको छ । केही समययता पोखरा महानगरपालिका कर्मचारीको विषयलाई लिएर चर्चामा छ । कात्तिक १५ गतेको कार्यपालिका बैठकले करारका कर्मचारीको सेवा अवधि नथप्ने निर्णय गरेको थियो । उक्त निर्णय भएको बैठकलाई नेकपा (एमाले)ले अस्वीकार गर्‍यो । तर, निर्णय बाहिरिएपछि विज्ञप्तिबाट विरोध जनायो ।

पोखरा महानगरले गत फागुनमा आन्तरिक प्रतिष्पर्धाबाट १२९ जना कर्मचारीलाई विभिन्न पदमा नियुक्त गरेको थियो । उक्त नियुक्ति कानुनसम्मत नभएको भन्दै प्रदेश लोकसेवा आयोगले सबै नियुक्ति बदर गरिदिएको छ ।

महानगरपालिकाले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको संयोजकत्वमा पदपूर्ति समिति गठन गरेर करारका कर्मचारीलाई स्थायी नियुक्ति दिने प्रक्रिया अगाडि बढाएको थियो । गत फागुनमा उक्त समितिले १२९ जना कर्मचारी नै नियुक्त गर्‍यो । यसपछि नै महानगरका तत्कालीन प्रमुख थापाको सरुवा भयो । हाल उनी तनहुँको प्रमुख प्रशासकीय अधिकृत छन् ।

Dabur Nepal
NIC Asia

उनी नेतृत्वको समितिले स्थायी नियुक्त गरेका सबै कर्मचारीको नियुक्त प्रक्रिया लोकसेवा आयोगको बैठकले रद्द गरेको हो ।

पोखरा महानगरपालिकामा २०६४ यता कार्यरत १९ जना कर्मचारीलाई स्थायी नियुक्त गर्न भनेर अदालतले आदेश दिएको थियो । तर, थापा नेतृत्वको समितिले थप ११० जनालाई सोही प्रक्रियामा सामेल गराएर नियुक्ति दियो । आदेशभन्दा झन्डै सातगुणा बढी कर्मचारी स्थायी भएपछि नियुक्ति प्रक्रियामा चलखेल चलेको हल्लासमेत चलेको थियो । कतिसम्म भने नियुक्तिपत्रमा नै अदालतको आदेशअनुसार भनेर लेखिएको महानगर स्रोतले जनाउँछ ।

पोखरा महानगरपालिकाले पहिलोपटक कात्तिक २३ गते आन्तरिक प्रतिष्पर्धाबाट स्थायी पदपूर्तिको नाममा विभिन्न सातवटा विज्ञापन नम्बरमार्फत अधिकृत छैटौँदेखि इन्जिनियर, सबइन्जिनियर पाँचौँ तह, सहायकस्तर पाँचौँ तह, कम्प्युटर अपरेटर पाँचौँ तह र सहायकतास्तर चौथो तहमा क्रमश: ४, १, १, ३, १ र ९ गरी १९ जना कर्मचारी माग गर्‍यो । सर्वोच्च अदालतले पनि १९ जना कर्मचारीलाई नै नियुक्त गर्न आदेश दिएको थियो ।

लिखित, प्रतियोगात्मक तथा अन्तर्वार्ताका माध्यमबाट परीक्षा लिइने विज्ञापनमा उल्लेख छ । तर, महानगरले २०८० पुस ६ गते फेरि सोही प्रकृतिको अर्को विज्ञापन गर्‍यो । अधिकृतस्तर छैटौँ एकजना, इन्जिनियर छैटौँ एकजना, प्रशासन पाँचौँ पाँचजना, जुनियर इन्जिनियर प्राविधिक पाँचौँ एकजना, सहायकस्तर चौथो ३२, चौथो तहकै नगरप्रहरी एक र नगरप्रहरी, फार्मेसी, कार्यालय सहयोगी, कुचिकार, माली, चौकीदारसहित ६९ गरी विज्ञापन नम्बर ७ देखि १४ सम्म ११० जना कर्मचारी माग गरियो । पुस १७ गते सोही सूचना संशोधन गरेर सहायकस्तर चौथो तहका कर्मचारीको मागसंख्या ३२ बाट घटाएर २९ मा झारियो ।

यस मितिमा विज्ञापन नम्बर १५ र १६ थप गरी सहायकस्तर चौथो तीन र सहायकस्तर चौथो (खानेपानी तथा सरसफाइ टेक्निसियन) तीन जनासहित १३२ जना कर्मचारीलाई स्थायी गर्न भन्दै विज्ञापन गरिएको छ ।

यी विज्ञापनमध्येबाट महानगरको पदपूर्ति समितिले फागुनको १८ र १९ गते निर्णय गर्दै स्थायी नियुक्ति दिएको थियो ।

महानगरको यो नियुक्तिपछि इन्जिनियर महेन्द्रबहादुर गोदार, कार्यक्रम अधिकृत दुर्गा न्यौपाने, सरसफाइ शाखाकी तत्कालीन प्रमुख कल्पना बराल, सविता ढुंगानालगायत कर्मचारीहरूले स्थायी नियुक्ति लिएका थिए ।

नियुक्तिको केही दिनमा नै प्रमुख प्रशासकीय अधिकृत थापाको सरुवा भएपछि साम्य बन्न पुगेको यो विषय लोकसेवाको निर्णयपछि फेरि सतहमा आएको छ ।

महानगरपालिकाले भने प्रयोगमा नै नभएको स्थानीय स्वायत्त शासन नियमावली, २०५६ लाई टेकेर नियुक्ति दिएको खुलेको छ ।

लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले लोकसेवाबाहेक कुनै पनि निकाय, सरकारलाई स्थायी कर्मचारी नियुक्तिको अधिकार नभएको बताउँछन् ।

“संविधानमा, कानुनमा कहीँ पनि स्थायी नियुक्त गर्ने अधिकार लोकसेवालाई मात्रै छ । स्वयं सर्वोच्च अदालतले पनि स्थायी नियुक्ति लोकसेवा आयोगको परामर्शमा गर्दछ । यसरी स्थानीय तहले नियुक्त गर्ने हो भने सर्वसाधारण जनताले प्रतिष्पर्धा गर्न पाउने अधिकारबाट वञ्चित हुन्छन,” उनले भने ।

महानगर आफैँले कर्मचारी भर्ना गर्दा प्रदेशका कर्मचारीको वृत्तिविकासमा असर पर्ने उनले बताए । आयोगले विज्ञापन खुलाउँदा प्रतिशत निर्धारण गर्नेलगायत कुरा पनि प्रभावित हुने उनले बताए ।

“उनीहरूले कुनै बेलाको अदालतको आदेश लिएर नियुक्त गरेका छन् । अदालतको आदेश कुनै सन्दर्भमा सही भए पनि वर्तमान परिप्रेक्ष्यमा अहिलेको संविधान, कानुनबमोजिम विकल्प खोज्ने हो । त्यो विकल्प लोकसेवाले खोज्दछ,” उनले प्रश्न गरे, “एकजना कार्यकारी अधिकृतको नाममा समिति गठन गरेर सयौँ कर्मचारी भर्ना गर्न मिल्छ ? हरेक पालिकाले आफैँ स्थायी गर्दै जाने गर्ने हो भने सात–सात प्रदेशमा लोकसेवा किन चाहियो ?”

अध्यक्ष नेपालले विस्तृत विवरण निर्णयमा उल्लेख गरेको बताए । “आयोगको एकल र अच्छुण अधिकारलाई प्रतिकूल प्रभाव पार्ने गरी पोखरा महानगरपालिकाबाट आफ्नो क्षेत्राधिकार बाहिर गई संविधान तथा कानुनविपरीत आफूलाई नभएको अधिकार प्रयोग गरी दिइएको नियुक्ति गलत छ,” आयोगले भनेको छ ।

यी हुन महानगरपालिकाले स्थायी नियुक्त गरेका कर्मचारी :

1-1730903915.jpeg

2-(2)-1730903914.jpeg

3-(3)-1730903914.jpeg

4-(4)-1730903913.jpeg

5-1730903913.jpeg

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  २०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro