पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसले हालसम्म प्रत्यक्षतर्फ १० सिट जितेको छ । ०७४ सालमा मुस्ताङमा पत्तासाफ भएको कांग्रेसले अहिले पुनरागमन गर्दै प्रतिनिधिसभाको एक र प्रदेशसभातर्फका दुईसहित तीनवटै क्षेत्रमा आफ्नो वर्चस्व कायम राखेको छ ।
मुस्ताङ ‘क’बाट कांग्रेसका उमेदवार नाम्डु गुरुङ र ‘ख’बाट विकल शेरचन गण्डकी प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका छन् । नाम्डुले एमालेका निवर्तमान प्रदेशसभा सदस्य इन्द्रधारा विष्टलाई पराजित गरे । नाम्डु एक हजार ४८ मतसहित विजयी भएका हुन् । विष्टले ७९३ मत ल्याए ।
शेरचनले एमालेकै निवर्तमान प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनलाई पराजित गरे । शेरचनले दुई हजार ७२३ मतसहित विजयी भएका हुन् । गौचनले दुई हजार ५६५ मत पाए ।
यस्तै, बागलुङका चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसले ‘क्लिन स्विप’ गरेको छ । बागलुङ–१ ‘क’मा दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई एक हजार ४७९ मतान्तरले पराजित गरे । थापाले १३ हजार ८८४ मत ल्याउँदा केसीले १२ हजार ४०५ मत पाइन् ।
बागलुङ–१ ‘ख’मा कांग्रेसका डिल्लीराम सुवेदीले एमालेका नवराज पौडेललाई ६ हजार ७५ मतान्तरले पराजित गरे । सुवेदीले १३ हजार ३२७ मत ल्याउँदा पौडेलले सात हजार २५२ मत पाए । पौडेल गएको स्थानीय तह निर्वाचनअघि कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।
बागलुङ–२ ‘ख’बाट कांग्रेस बागलुङका अध्यक्ष जितबहादुर शेरचन प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन । शेरचनले एमालेको साथ पाएका स्वतन्त्र उमेदवार प्रकाश घर्तीमगरलाई तीन हजार १०० मतान्तरले हराए ।
शेरचनले १५ हजार १०८ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत पाए । एमाले समर्थित घर्ती स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उमेदवार समेत बनेर पराजित भएका थिए । शेरचन ०७४ मा बागलुङ–२ ‘ख’मा भएको उपनिर्वाचनमा कांग्रेसबाट उमेदवार बनेर हारेका थिए ।
बागलुङ–२ ‘ख’मा कांग्रेसका द्रोण कुँवरले एमालेका उमेदवार लक्ष्मण पुनलाई तीन हजार ७३७ मतान्तरले पराजित गरे । कुँवरले १२ हजार ४०८ मत ल्याउँदा पुनले आठ हजार ६७१ मत पाए ।
कांग्रेसकै उमेदवार नन्दप्रसाद न्यौपाने गोरखा–१ ‘ख’बाट निर्वाचित भए । उनले १६ हजार २६१ मत ल्याउँदा एमालेका मोहनप्रसाद भट्टराईले सात हजार ५३३ मत पाए ।
आफूलाई मुख्यमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्दै आएका सुरेन्द्रराज पाण्डे गोरखा–२ ‘ख’बाट निर्वाचित भए । उनले एमालेका उमेदवार वसन्त गुरुङलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरे । सत्ता गठबन्धनका साझा उमेदवार एवं नेपाली कांग्रेसका नेता पाण्डेले १६ हजार ८८२ मत प्राप्त गर्दा गुरुङले पाँच हजार ७६७ मत पाए ।
तनहुँ–२ ‘ख’बाट कांग्रेसका जिल्ला सभापति जीतप्रकाश आलेमगर निर्वाचित भए । उनले एमालेका उमेदवार केदार सिग्देललाई पराजित गरे । आलेले १३ हजार ८६० मत प्राप्त गरेर विजयी हुँदा सिग्देलले १३ हजार २२० मत पाए ।
गण्डकीमा कांग्रेसलाई १०औँ सिट मनाङबाट मिलेको छ । मनाङ ‘क’बाट कांग्रेसका मुनिन्द्रजंग गुरुङ एक हजार २५५ मत ल्याएर निर्वाचित भए । उनले एमालेका उमेदवार राजन गुरुङलाई ३३० मतान्तरले पराजित गरे । गुरुङले ९२५ मत ल्याए ।
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा हालसम्म मतगणना भएको छैन । कास्की–२ ‘ख’मा निवर्तमान वडाध्यक्ष मोहन बास्तोला गणक बनेर मतगणनास्थल छिरेपछि गणना रोकिएको छ । गण्डकीका बहालवाला मन्त्री रहेका विन्दुकुमार थापाले यहाँ अग्रता लिएका छन् ।
यस्तै, पर्वत ‘ख’बाट उमेदवार बनेका कांग्रेसका ऋषिकेश तिवारी र कास्की–१ ‘ख’बाट उमेदवार बनेका दीपक गुरुङ ‘माइला’ केही मत गन्न बाँकी रहेता पनि पछाडि परिसकेका छन् ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ सांसद प्रत्यक्ष निर्वाचित हुन्छन् । २४ जना समानुपातिकबाट चुनिने व्यवस्था छ ।