पोखरा । प्रतिनिधि सभाको एक र प्रदेशसभाका दुइवटै क्षेत्र जित्दै मुस्ताङमा काङ्ग्रेसले क्लिन स्विप गरेको छ । ०७४ को निर्वाचनमा एमालेले काङ्ग्रेसलाई क्लिन स्विप गरेको थियो । अहिले भने परिस्थिति फेरिएको छ ।
मुस्ताङ क मा काङ्ग्रेसका नाम्डु गुरुङले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मतमात्रै पाए । विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए ।
उक्त क्षेत्रमा १ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएका छन् । मुस्ताङको प्रदेशसभा ख को सदस्यमा कांग्रेसका विकल शेरचन विजयी भएका छन् । उनले एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरे ।
शेरचनले २ हजार ७ सय २३ मत पाएर विजयी बन्दा एमालेका गौचनले २ हजार ५ सय ६५ मत पाए । गौचन एमाले जिल्ला अध्यक्ष र २०७४ को निर्वाचनमा समानुपातिकतर्फ प्रदेश सांसद रहेका थिए ।
यस्तै मुस्ताङमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । थकालीले ३ हजार ९ सय ९२ मत मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे ।
योसँगै मुस्ताङमा प्रत्यक्षतर्फका सबै प्रतिनिधिसभाको १ र प्रदेशसभाको २ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । तीनवटै सिट जितेर कांग्रेसले क्लिन स्विप गरेको छ ।