पोखरा । अत्यधिक चिसो, चारैतिर हिउँ नै हिँउ । त्यही हिउँमा लम्पसार परेका घोडा र खच्चडहरू । तर, तिनीहरूमा जीवन छैन ।
चिसोले कठ्याङ्ग्रिएर होला, ती निर्जिव घोडा खच्चडहरू काठका खेलौनाजस्ता देखिन्छन् ।
लमतन्न परेको खैरो खच्चडको नजिकै अर्को सेतो घोडा छ, अनि त्यसको आडमा अर्को रातो रङको खच्चड । कालो ठूलो ढुंगाको कापमा अड्किएका यी अबोध प्राणीमा प्राण छैन ।
यत्रतत्र भान्सामा प्रयोग हुने आलमुनियम र प्लास्टिकका भाँडा छन् ।
मरेका खच्चडमाथि उभिएको त्यो सेतो घोडाको नजर तिनै रित्ता भाँडामा छन् । त्यसको ठिक विपरीत कालो घोडा पनि अन्नकै आशले अर्कोतिर हेरिरहेको छ । तिनीहरूका आँखाले दानापानी खोजिरहेका छन्, तर, त्यहाँ छ त केवल सेतो हिउँ, चिसो हिउँ र आफ्नै सजातीय जीवको लास ।
ती रित्ता भाँडामा तिनीहरूले केही पाउँदैनन्, न पत्थरले तिनीहरूको भोक मेट्न सक्थे । अन्ततः प्राण धान्नको लागि सँगै आएका साथीहरूको लास दुई घोडाको आहारा बन्यो । भुइँमा लम्पसार घोडा खच्चडका पुच्छरसमेत खान उनीहरू बाध्य भए ।
४,७४८ मिटर माथि रहेको धौलागिरि आधार शिविरको केही तल यो घटना हुन पुग्यो । जहाँ भोक मेटाउन साथीले साथीकै शरीर खान बाध्य भए ।
लासमाथि टेकेर भोक मेट्न खोजिरहेका ती प्राणीलाई यो अवस्थामा पुर्याउने चाहिँ मान्छेहरू नै हुन् । अन्यथा ४५ घोडा खच्चडसँग सँगै गएका मानिस मात्र जीवित हुने थिएनन् । उद्धार नै गरेर ल्याउन नसके पनि उनीहरूलाई दानापानीको व्यवस्था गर्न सक्थे ।
यो घटना दसैँ अगाडिको हो । १७ गते विदेशी पर्यटकका साथ ती ४५ घोडा खच्चड उनीहरूकै सामान बोकेर धौलागिरी आधार शिविरतर्फ लागे ।
दसैँको छेकोमा आधार शिविर पुगेर फर्किने भनेर हिँडेको पर्यटकसहितको टोली भोलिपल्टै हिमपातमा पर्यो । भीषण पानी पर्दा त्यस क्षेत्रमा बाक्लो हिउँ पर्यो । जसका कारण क्याम्पबाट हिँडेको साढे दुई घण्टामा फ्रेन्चपास पुगेपछि यात्रा रोकिन पुग्यो । न अगाडि बढ्ने न फर्किने त्यस स्थितिमा ९ दिनसम्म १४ जना मान्छे पनि त्यही हिउँमा फसे ।
असोज २७ गते हिउँमा फसेका १४ जनाको उद्धार भयो । मान्छेहरू त्यहाँबाट अल्टिच्युड एअर र सिम्रिक एअरको हेलिकप्टरको माध्यमबाट फर्के ।
उनीहरू फर्केपछि यात्राका साधन घोडा खच्चडको बारेमा कसैले केही थप जानकारी पाउन सकेन । धौलागिरि आधार शिविरसम्म सामान ढुवानी गर्न दुईवटा ट्रेकिङ कम्पनीका ४५ घोडा–खच्चडमध्ये वर्षा र हिमपातमा परेर त्यतिबेला नै १८ वटा मरिसकेका थिए ।
२० दिन अगाडि त्यस क्षेत्रमा गएका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले त्यतिबेला ५–६ वटा घोडा खच्चड जीवित रहेको आफूले देखेको बताए ।
बाह्रखरीसँगको फोनसम्पर्कमा उनले भने, “२० दिन पहिला जाँदा ५–६ वटा थिए । अघिल्लो हप्ता जाँदा चाहिँ कालो र सेतो घोडामात्र जिउँदै थिए । खच्चड सबै मरिसके । ४५ वटा लगेकामध्ये अहिले जम्मा २ वटा बाँकी छन् ।”
उनी एकहप्ता अगाडि मात्रै पुनः सोही क्षेत्रमा पुगेका थिए । अलपत्र परेका लासमाथि खाना खोजीरहेका दुई घोडाको तस्बिर पनि उनले नै खिचेका हुन् ।
त्यहाँको अवस्थाबारे उनी भन्छन्, “मैले एकहप्ता अगाडि जाँदा देखेको हो, दुईवटा घोडा त जिउँदै थिए क्यारे, अहिलेसम्म त खै, भोकले मरिसके कि । त्यो भिडियो मैले नै खिचेको हो, एक हप्ता अगाडि । त्यहाँको स्थिति त के भन्नु, मरेका घोडा र खच्चड खाएर नै ती दुईवटा घोडा बाँचेका हुन् । घाँस खान नपाएपछि के गर्नु ?”
आजसम्म ती घोडा पनि मरिसकेको हुनसक्ने अनुमान उनले गरे ।
“ती निर्दोष प्रााणीलाई मैदानमा लगेर छाडिदिनुपर्ने हो, खै ती बाँकी रहेका पनि मरिसके होलान् । एनिमल नेपालले मलाई फोन गरेका थिए क्यारे । दुईजना हेर्न जाने भन्दै थिए, जान चाहिँ के गरे थाहा भएन,” उनले भने ।
पर्यटकसँग ती घोडा खच्चड धपाउँदै जाने व्यक्ति थिए माइकल परियार । उनले नै ती घोडा खच्चडको रेखदेख गर्थे । ९ दिनमा उनको त उद्धार भयो, तर, उनले पालेका ती जनावरहरू त्यो यात्रामा कहिल्यै नफर्किने गरी छुट्न पुगे ।
उनी भन्छन, “हामीलाई ९ दिनमा उद्धार गरियो । ९ दिनसम्म हामी पनि हिउँमा नै फस्यौँ । ती घोडा र खच्चडले पर्यटकको सामान लिएर गएका थिए । कपडा, टेन्ट, केही खानाहरू खच्चडले बोकेका थिए ।”
नोभेम्बर ४ तारिखमा गएर ९ तारिखमा फर्किने योजना बनाएर उनीहरू अगाडि बढेका थिए ।
परियारले भने, “हामी ४ तारिखमा यहाँबाट गएका हौँ, ५ तारिखको दिन त्यस्तो घटना हुन पुग्यो । आँखै अगाडि ४५ घोडा खच्चड हिउँमा पुरिएको हेर्न बाध्य भयौँ ।”
त्यसदिन बिहान क्याम्पबाट ८ बजे हिँडेको र साढे दुई घण्टापछि हिउँमा फसेको उनले जानकारी गराए ।
“त्यो दिन बिहान ८ बजेदेखि हाम्रो यात्रा सुरु भयो । क्याम्पबाट त्यस्तै साढे दुई घण्टाको बाटो पार गरेपछि हामी फस्यौँ । हिउँ आएर अगाडि बढ्न नसक्ने फ्रेन्चपास भन्ने ठाउँमा हामी रोकियौँ । त्यहीँ नै हो, यो घटना भएको हो,” उनले बेलीबिस्तार लगाए ।
ती घोडा खच्चडलाई उनले सँगै लग्थे, सँगै ल्याउँथे ।
“घरमा नै सँगै राख्थ्यौँ हामीले । तर, यसपटक आफू बाँचेर आइयो, उनीहरू त्यतै छुटे...,” उनले भने ।
पशु कल्याणका क्षेत्रमा काम गर्ने संस्था एनिमल नेपालले पनि यो घटनाबारे चासो राखेको छ । तर, यो संंस्थाले पनि दुईवटा घोडामात्रै जीवित रहेको तस्बिर सार्वजनिक भएपछि थाहा पायो ।
संस्थाकी अध्यक्ष प्रमदा शाहले भनिन्, “कस्तो भयो भने, यतिका दिन बितिसक्यो । हामीले पनि धेरै ढिला थाहा पायौँ । त्यसपछि खोजबिन गर्दा ४५ घोडा थियो रे, दुईवटा बाँकी छ भन्ने सुनियो । घोडा खच्चडहरू त्यहाँ फसेपछि उनीहरूको उद्धार भएन, खाना पनि भएन । अहिले जीवित रहेकालाई भए पनि हेलिकप्टरबाट खाना खसालेर भए पनि उद्धार गर्ने कि भन्ने सल्लाह गर्दैछौँ । एकदमै गाह्रो ठाउँ रहेछ । घोडा, खच्चडका मालिकले पनि कसैलाई भनेनन् । अब ती दुईवटा पनि ज्यूँदा छन् कि छैनन भन्ने भइसक्यो ।”
संस्थागत तरिकाले अहिले पनि ती दुई घोडा जीवित छ–छैन खोज्नको लागि हेलिकोप्टर कम्पनीसँग कुरा गरेको र जीवित भएको भए हेलिबाटै भए पनि खानाका व्यवस्था गर्न पहल गरिने उनले बताइन् ।
“ट्रेकिङ एजेन्सीका साथीहरूको सामान पनि छुटेको छ रे, मिल्छ भने अलिकति खाना लगेर दिने, अनि त्यहाँ जीवित रहेछन् भने हेलिकप्टरबाट भए पनि खाना खसाउने भन्ने भएको छ । उद्धार गर्ने अवस्था नै छैन रे । हाम्रो विज्ञताको कुरा पनि भएन । यस्तो पनि हुँदोरहेछ, बिचरा निर्दोष जनावरहरूको ज्यान जान भएन,” शाहले भनिन् ।
प्राकृतिक विपत्मा जनावरको उद्धारको बारेमा कसैको ध्यान नजानुमा ‘हामी सबैको गल्ती’ रहेको उनको ठम्याइ छ ।
“त्यहाँ बुझाइको पनि कमी भयो, यो हामी सबैको दोष हो । ती गाइडहरूलाई, संघसंस्थासँग बसेर एकपटक यसबारेमा सबैलाई सचेतना दिनुपर्ने सोचेका छौँ,” उनले भनिन्, “एनिमल कल्याणको लागि के गर्ने कसैलाई थाहा छैन । हामी यसको विषयमा काम गर्छौँ । धेरै मुद्दाहरू रहेछन् । उहाँहरूसँग मिलेर त्यहाँको विषयलाई त्यहीँका स्थानीयसँग मिलेर काम गर्ने सोचेका छौँ ।”
उच्च हिमाली क्षेत्रमा ढुवानीको लागि घोडा खच्चडको सट्टा याकको विकल्प प्रयोग गर्नुपर्ने उनको भनाइ छ । तर, याकको मूल्य महँगो भएका कारण ट्रेकिङ कम्पनीहरूले घोडा, खच्चड नै प्रयोग गर्ने गरेका छन् ।
“अर्को कुरा, त्यो हाइटमा खच्चड, घोडा लैजाने होइन । याकको प्रयोग गर्ने हो । तर, याक महँगो हुन्छ भनेर घोडा, खच्चडलाई प्रयोग गरिएको रहेछ, त्यहाँका मान्छेले हामीलाई भनेका थिए,” उनी भन्छिन्, “एक्सन नै लिन सक्ने, हेलिकोप्टर चढेर जान सक्ने हाम्रो क्षमता छैन, उद्धार गरेर ल्याउने उपकरण पनि छैन । सरकार, हामी सबै यसबारेमा सचेत हुने नै हो ।”