पोखरा । मन्दिरको अगाडि उभिएर धनराज गुरुङले भने, “तपाईँ हाम्रो, जनताको पैसा चुसेर लग्या त हो नि । माटो खोस्रेर निकालेको त होइन । त्यस्तो भ्रष्ट प्रवृत्तिको मान्छेले पैसाले भोट किन्न आए भने पहिलो कुरा त लिँदै नलिनुस्, मेरो बिन्ती छ । हामीजस्तो निष्ठाको राजनीति गर्ने मान्छेलाई मत दियो भने पाप नलाग्ला, पैसा लिइहालियो, भोट त त्यतै दिनुपर्यो भनेर जसले पैसा दियो, पापी मान्छेले दिएको पैसा लिएर भोट हाल्नुभयो भने तपाइलाईँ पनि पाप लाग्छ ।”
मतदातालाई सम्झाउँदै उनले थपे, “भ्रष्ट मति भएकाहरुलाई सिंहदरबार पुर्याइयो भने हामी फेरि जहाँको त्यहीँ, गरिबका गरिब रहन्छौँ । नेताहरु जनताका भरिया हुनुपर्छ, तबमात्र जनताको मुहार फेरिन्छ, धनराज गुरुङको टिम सधैँ जनताको भरिया भई जनताको सुखदुःखमा साथमा रहनेछ ।”
भ्रष्टाचार र सुशासनको नारा रटिरहने धनराज गुरुङ स्याङजा २ बाट प्रतिनिधिसभाका उमेदवार हुन् । उनी कांग्रेसका उपसभापति पनि हुन् । उनलाई माओवादीसहित गठबन्धनको समर्थन रहेको छ ।
गण्डकीमा कांग्रेसबाट चुनाव लड्ने सबैभन्दा हेभि वेट नेता नै गुरुङ हुन् । त्यतिमात्रै नभएर कांग्रेस र एमालेका पदाधिकारी तहमा प्रतिष्पर्धा भएको क्षेत्र पनि स्याङ्जा २ नै हो ।
“हाम्रो शत्रु, मौलाइरहेको भ्रष्टाचार हो,” आफ्नै फेसबुकमा राखेको भिडियोमा उनले भनेका छन्, “म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न, भ्रष्टाचारीहरु देश खोक्रो पार्ने धमिरा हुन् । त्यसैले देशलाई समुन्नत बनाउनका लागि भ्रष्टाचारको अन्त्य जरुरी छ ।”
हेभिवेट उमेदवार भनेर धनराजलाई भनिरहँदा उनका प्रतिष्पर्धी एमालेले पनि सचिव पद्मा अर्याललाई उमेदवार बनाएको छ ।
गण्डकीमा एमालेबाट लड्ने हेभिवेटमध्येकी एक हुन् पद्मा, त्यसमाथि पनि महिला उमेदवार ।
यी दुई हेभिवेटको प्रतिष्पर्धाले स्याङजा २, गर्माएको छ । पद्माले अघिल्लोपटक बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन् ।
कांग्रेसका पूर्वउपसभापति श्रेष्ठलाई हराएकी पद्मासामु यतिबेला चाहिँ बहालवाला उपसभापति नै प्रतिष्पर्धी बनेका छन् ।
अघिल्लो सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्दाको समयमा नै नेपालमा लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभाग समेटिएको नेपालको अद्यावधिक नक्सा संसद्ले पास गरेको थियो ।
संसद्ले पास गरेर चर्चित बनेको त्यही चुच्चे नक्सा लिएर पद्माको घरदैलो कार्यक्रम सुरु भएको थियो । उनले आफ्नो कार्यकालमा नेपालको सबै भूभाग समेटिएको नक्सा जारी भएको भन्दै मतदाताको घरमा चुच्चे नक्सासहित पुगेर मत माग्दै छन् ।
चुच्चे नक्साको बारेमा सामाजिक सञ्जालमा भिडियो भाइरल बनेता पनि आफू मन्त्री हुँदा नै त्यो सम्भव भएको भनेर उनले मतदातालाई बुझाउँदै आएकी छन् ।
उनी मन्त्री हुँदा गिरिबन्धु टि स्टेटलगायतका थुप्रै भ्रष्टाचार काण्ड भएको भन्दै कांग्रेसले एजेन्डा बनाएको छ ।
प्रतिष्ठाको विषय
वर्तमान उपसभापति, कांग्रेसका वरिष्ठ नेता तथा एमाले सचिव । स्याङजा क्षेत्र नं. २ लाई गठबन्धन र एमालेले प्रतिष्ठाको विषय बनाएको छ ।
वाम गठबन्धनको तागतमा गोपालमान श्रेष्ठलाई हराएपछि नै संसदीय र पार्टी राजनीतिमा उचाइ हासिल गरेकी पद्मा यसपटक यसपटक दोहोर्याउन चाहन्छिन् ।
तर, परिस्थिति ठिक उल्टो छ । गठबन्धन अर्कातिर छ भने संसदीय निर्वाचनमा प्रत्यक्ष चुनाव लड्ने नयाँ उमेदवारको रुपमा धनराज अगाडि बढेका छन् ।
कांग्रेसको केन्द्रीय उपसभापति गुरुङ विगतमा पनि केन्द्रीय राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारीमा रहे पनि कांग्रेसभित्रको गुटगत राजनीतिका कारण उमेदवार बन्न वञ्चित रहँदै आएका थिए ।
वरिष्ठ नेता गोपालमान श्रेष्ठ यसपटक आफू प्रत्यक्ष नलड्ने भन्दै समानुपातिकमा बसे ।
जिल्ला मिलाउने काम पनि धनराजकै थियो । स्याङ्जा१ मा जिल्ला सभापति राजु थापाको दाबी रहेपछि २ मा मोहनप्रसाद पाण्डे, भागवत प्रकाश मल्ललगायतको दाबी थियो ।
तर पार्टीभित्रको आन्तरिक समीकरण मिलाएर गुरुङ प्रतिष्पर्धामा उत्रिएका हुन् ।
मतदाताहरुलाई उनले पाँच दशक पहिले निर्माण भएको सिद्धार्थ राजमार्ग पुरानो र साँघुरो भएकाले आगामी पाँच वर्षभित्र डबल लेनको बनाउने बताउँदै मत मागिरहेका छन् ।
उनले भ्रष्टाचार नै नेपाल पछि पर्नुको एक कारण भएको बताउँदै त्यसलाई रोक्ने प्रतिवद्धता पनि जनाएका छन् । स्याङ्जाको वालिङ र चापाकोटलाई नमूना सहर बनाउने उनको योजना छ ।
यता, पद्माचाहिँ १० ग्यारेन्टी बोकेर चुनावी मैदानमा होमिएकी छन् ।
आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने, सिद्धार्थ राजमार्गलाई चार लेनको बनाउने, घर उज्यालो, मन उज्यालोलगायतका एजेन्डा उनले लिएकी छन् ।
सहज छैन पद्मालाई
स्याङ्जा क्षेत्र नम्बर २ मा चापाकोट नगरपालिका, गल्याङ नगरपालिका, वालिङ नगरपालिकाको वडा नम्बर १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४ पर्छ भने भिरकोट नगरपालिकाको ५, ६, ७, ८ र ९ वडा तथा कालिगण्डकी गाउँपालिका पर्छन् ।
गत वैशाखमा भएको स्थानीय चुनावको मत हेर्दा स्याङ्जा २ मा नेपाली कांग्रेस अगाडि छ ।
नेपाली कांग्रेसका वडाध्यक्ष उमेदवारहरूले ३६ हजार ८ सय ६ मत ल्याएका छन् भने यहाँ नेकपा एमालेका वडाध्यक्षहरूले पाएको मत ३४ हजार ८ सय ९ मत छ ।
नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरूले १ हजार ४४७ मत ल्याएका छन् । राप्रपाले ५११, एकीकृत समाजवादीले २३३ मत ल्याएका छन् ।
स्याङ्जा–२ मा नेकपा (एकीकृत समाजवादी) को मत खासै छैन ।
सत्ता गठबन्धनमा रहेका कांग्रेस–माओवादीको मत ३८ हजार २ सय ५३ हुन्छ भने यहाँ अर्को मुख्य प्रतिस्पर्धी नेकपा एमालेको मत ३४ हजार ८ सय ९ हुन्छ ।
सत्ता गठबन्धन र एमालेबीच स्थानीय चुनावको मत हेर्दा चार हजार बढी मतान्तर देखिन्छ । यो अंकगणितलाई ख्याल गर्दा पनि सो क्षेत्रमा सत्ता गठबन्धन अगाडि देखिन्छ ।
यसअघि कांग्रेसमा देखिएको अन्तरघातको असर यसपटक एमालेमा पनि देखिएको स्थानीय नेता कार्यकर्ता बताउँछन् ।