पोखरा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनपूर्व जिल्ला अधिवेशन भए । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहप्रदेश गण्डकी र त्यसमा पनि कास्की उनको पकड क्षेत्र मानिन्थ्यो । पौडेल समूहकै नेताहरूले जिल्ला हाँक्थे, जिल्लामा प्रतिष्पर्धा पनि उनीहरूकै बीच हुन्थ्यो । यहाँ देउवा समूह भनेर खुल्ने र जिल्लामा प्रतिष्पर्धा गर्ने नेता नै छैनन् भन्ने खालको स्थिति थियो ।
जसै १४ औँ महाधिवेशन नजिकियो, भद्रकाली बहुमुखी क्याम्पस प्रमुख किशोरदत्त बरालले पनि रुचि देखाए । कांग्रेस निकटको शिक्षक संघको केन्द्रीय उपसभापतिसमेत रहेका बराल बौद्धिक छविको नेताका रूपमा चिनिए । आफ्नो पेसा र कांग्रेस निकट शिक्षक संघमा काम गरेका उनलाई कांग्रेसभित्र परिचित भइरहन आवश्यक थिएन ।
तर, रामचन्द्र पौडेल निकट मानिने शुक्रराज शर्मा, यज्ञबहादुर थापा, तारानाथ रानाभाट, देवराज चालिसेलगायतको समूहबाट आकांक्षीको लर्को देखिएपछि उनलाई ‘देउवा खेमा’को ट्याग लाग्यो । बराल स्वयम्ले यसलाई प्रतिवाद गरेपनि इतर समूहले आफ्नो सर्कलमा उनलाई फरक समूहको भनेर 'सर्कुलर' गरिसकेको थियो ।
अर्कातर्फ इतर समूहबाट नै सभापतिमा निवर्तमान सचिव सुदिपमोहन भट्टराई, उपसभापति आइबहादुर गुरुङलगायत पोषनाथ शर्मा, गिरिराज गौतम लगायतले प्रतिष्पर्धा गर्ने निश्चित भयो । त्यसमा बराल पनि थपिँदा कास्कीको सभापतिको लागि पाँच जनाबीच प्रतिष्पर्धा भयो ।
धेरैको आँकलन थियो, पहिलो चरणबाट नै बराल आउट हुनेछन् । त्यसपछि जो सभापति भएपनि आफ्नै समूहबाटै हुनेछन् ।
तर, परिणाम त्यस्तो आएन । बरालले सबैभन्दा बढी मत ल्याए । ५० प्रतिशत मत कटाउन नसकेकाले दोस्रो चरणको चुनावमा उनै बराल र भट्टराईबीच प्रतिष्पर्धा भयो । देउवा समूहका भनेर चिनिएका दोस्रो तहका नेताहरूले कसरत गरे । अन्ततः बरालले कास्की सभापतिमा चुनिए । उनको जितलाई कास्कीमा 'देउवा समूहको उदय' भनेर प्रचार पनि गरियो ।
तर, जसै जिल्ला अधिवेशन सकियो र १४ औँ महाधिवेशन सुरु भयो । देउवा समूहका भनेर प्रचार गरिएका बरालले महामन्त्रीका उमेदवार विश्वप्रकाश शर्माको पक्षमा भावुक खुलापत्र लेखेर सार्वजनिक गरिदिए । एकजनाको पक्षमा खुलेरै मत मागेपछि देउवा समूहका नेताहरू रुष्ट मात्र भएनन्, बालुवाटारमै खबर पुग्यो ।
त्यो खबर पुर्याउनुको अर्थ आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उनलाई टिकट दिन नहुने सन्देश पनि थियो । अर्कातर्फ, गठबन्धन र त्यसमा पनि कास्कीको कुन क्षेत्र कसले पाउने भन्ने निर्क्यौल भइसकेको थिएन । तीन निर्वाचन क्षेत्र रहेको कास्कीका सबै आकांक्षी काठमाडौं धाए ।
गठबन्धनको भागबन्डामा कास्की–१ कांग्रेस, कास्की–२ र कास्की–३ माओवादीको भागमा पर्यो ।
प्रतिनिधिसभामा क्षेत्र नम्बर १ पाएको कास्कीबाट चुनाव लड्न दर्जन बढी आकांक्षी देखिए ।
चर्चामा पूर्वसभापति कृष्ण केसीको नाम बढी आएपनि अन्तिमम वर्तमान सभापति बरालले नै संघीय सांसदको टिकट ल्याए । उनले टिकट पाउनुलाई महामन्त्री विश्वप्रकाश शर्माको हात रहेको भनेर चर्चा पनि भयो ।
उनै बराल पहिलोपटक संसदीय निर्वाचनको परीक्षामा उत्रिएका छन् । शिक्षण पृष्ठभूमिबाट जिल्ला नेतृत्वको सफलतालगत्तै उनी संसदीय निर्वाचनको चुनावसम्म पुगेका छन् । यसमा उनी कति सफल हुन्छन्, समयले देखाउनेछ ।
यस क्षेत्रमा मादी र रूपा गाउँपालिकासहित पोखरा महानगरपालिकाका १०, १२, १३, १४, २६ देखि ३२ नम्बरसम्मका वडाहरू पर्छन् ।
गठबन्धनको सहयोगमा चुनावी मैदानमा उत्रिएका बराल आजभोलि बेगनास ताल क्षेत्रका चुनावी कार्यक्रममा केन्द्रित छन् । उनी गठबन्धनबाहेक आफूसँग स्पष्ट एजेन्डा भएकाले चुनाव जित्ने दाबी गर्छन् ।
“मेरो भविष्यको योजनासहितको एजेन्डा छ, त्यो बलियो आधार हो । राजनीतिलाई कता लैजाने, आर्थिक समृद्धि कसरी गर्न सकिन्छ, संसद्बाट त्यसको भूमिका खेल्ने हो । यसलाई आम मतदाताले नयाँ र राम्रो मानिरहेका छन्, यो मेरा लागि प्लस पोइन्ट हो," उनले भने ।
आफूले कृषि र पर्यटन, विद्यालयमा उद्यमशीलता र रोजगारी उत्पादनमा जोड दिएको उनको भनाइ छ ।
“योजनाबद्ध रूपमा विकासमा जानुपर्छ भन्ने मेरो कुरा हो । खट्टे बाँडेजस्तो होइन । प्राथमिकताका आधारमा विकास गर्ने हो, कार्यान्वयन गर्ने हो," उनले भने ।
०००
एमालेले देशैभर सर्वसम्मत तरिकाले नेतृत्व चयन गर्दा कास्कीमा भने निर्वाचन नै भयो । एमालेले कास्कीलाई आफ्नो गढ मान्छ । विगतका निर्वाचनले त्यसलाई पनि पुष्टि गर्छन् । गण्डकी एमालेभित्र ओली निकटका नेताहरूको राम्रो प्रभाव छ ।
त्यही ओली समूहका दुई नेताहरूको शक्तिसंघर्षका कारण कास्की एमालेले नेतृत्व सर्वसम्मत गर्न सकेन । एमालेका वर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तथा संगठन विभाग प्रमुख खगराज अधिकारीको समूह भनेर यहाँ प्यानलगत निर्वाचन हुन पुग्यो ।
लमजुङका पृथ्वीसुब्बा गण्डकीका संस्थापक मुख्यमन्त्रीसमेत हुन । उनै पृथ्वीसुब्बा एमाले संसदीय दलको नेता बन्दा त्यसको सदस्य थिए, मनबहादुर गुरुङ ।
उनै मनबहादुर अन्ततः पीएस (पृथ्वीसुब्बा) गुटको उमेदवार बने । खगराज समूहले दामोदर बैरागीलाई उमेदवार बनायो । बहुसंख्यक पदाधिकारी तथा सदस्य खगराज समूहका आउँदा अध्यक्ष भने पीएस समूहका मनबहादुरले जिते ।
त्यसयता यी दुई नेताको शक्ति संघर्ष कास्कीमा झनै मौलायो । जुन गत स्थानीय तहको निर्वाचनमा पनि देखियो । पीएस नजिकका व्यक्तिले पाएको टिकट अन्तिम समयमा खगराज निकटका व्यक्तिले फुस्काए । तर, चुनाव हारे ।
चुनाव हारेपछि यहाँ एक समूहले अर्को समूहलाई हराउन लागेको भनेर आरोपसमेत लगाए । खगराज अधिकारी समूहका नेता कार्यकर्ताहरूले त पृथ्वीसुब्बासहित जिल्ला अध्यक्ष मनबहादुरलाई पनि कारबाही गर्न भन्दै पत्र लेखेर अध्यक्ष ओलीलाई बुझाएका थिए ।
आसन्न संसदीय निर्वाचनमा पनि टिकट वितरणमा दुई समूहबीच प्रतिष्पर्धा नै देखियो । एमालेले प्रदेश आउन चाहेका पीएसलाई प्रतिनिधिसभा र प्रतिनिधिसभा ताकेका खगराजलाई प्रदेशमा झारिदिएको छ ।
कास्कीको यही समूहगत राजनीतिका कारण आसन्न निर्वाचन पनि पेचिलो बन्न पुगेको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्की १ मा उनै जिल्ला अध्यक्ष मनबहादुरले टिकट पाएका छन् ।
निवर्तमान प्रदेशसभा सदस्य रहेका गुरुङ पर्यटकीय सिक्लेसबाट एमाले राजनीतिमा उदाएका हुन् । ०५४ सालमै तत्कालीन पार्चे गाविस सभापति बनेका सिक्लेसका ‘मुखिया’ मनबहादुरले एमालेका नेता झलक सुवेदी, पुष्पज्योति ढुंगानालगायतका नेतालाई पछि पार्दै टिकट पाएका थिए ।
एमालेका गुरुङ पनि चुनावी प्रचारप्रसारमा व्यस्त छन् । एमालेको बलियो संगठन, राष्ट्रियतालाई उनले जितको आधारका रूपमा लिएका छन् ।
“राष्ट्रियताको विषय हेर्नुहोस, विकास हेर्नुहोस् । जनताको लोकप्रिय पार्टी अरू कुनै छ र ? अर्को कुरा एमालेको उमेदवार नै राम्रो छ नि ! एमालेको संगठन नै प्रभावकारी छ, त्यसकै आधारमा म चुनाव जित्छु,” उले भने ।
कास्की एमालेका अध्यक्ष रहेका गुरुङ पार्टीभित्र कुनै समस्या नरहेको जिकिर गर्छन् । विगतमा केही समस्या भएपनि अहिले पार्टी एक ढिक्का भएको उनको दाबी छ ।
"पार्टी मिलाउन सक्ने मान्छे नै अध्यक्ष भएको छ । पार्टी मिलिसकेको छ । हामीले समीक्षा गरिसकेका छौँ । कास्की एमाले एकजुट छ," उनले भने ।
यस्तो छ अंकगणित
अहिले कास्की–१ (क) का उमेदवार खगराज अधिकारीले ०७४ सालको निर्वाचनमा १३ हजार ४१६ भन्दा बढी फराकिलो मतान्तरले कांग्रेसका यज्ञबहादुर थापालाई हराएका थिए । एमाले र माओवादी एकता गरेर चुनावमा जाँदा अधिकारीले ३९ हजार २४२ मत ल्याएका थिए । प्रतिद्वन्द्वी कांग्रेसका यज्ञबहादुरले २५ हजार ८२६ मत ल्याएका थिए ।
त्यतिबेलाको एमालेको सारथि माओवादी अहिले कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनमा छ । एमालेबाटै फुटेको एकीकृत समाजवादी पनि गठबन्धनमै छ ।
स्थानीय तहहरूको मत परिणाम हेर्दा गठबन्धन नै अगाडि देखिन्छ । १२ वटा वडा रहेको मादी गाउँपालिकामा अध्यक्षसहित ६ वटा वडा जितेको छ भने एमालेले उपाध्यक्षसहित ४ वटा वडा जितेको छ । माओवादीले दुई वटा जितेको छ ।
रूपा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित सात वडामध्ये ६ वटा वडा एमालेले र १ वडा कांग्रेसले जितेको छ । कास्की–१ मा पर्ने पोखरा महानगरपालिकाको १० वडामध्ये ९ वटामा कांग्रेसले जितेको छ ।
स्थानीय तहको निर्वाचनमा यी वडाका अध्यक्षहरूले प्राप्त गरेको मत हेर्दा कांग्रेसको ३१ हजार ७२ मत छ भने एमालेको २८ हजार ३४६ मत छ । माओवादीका वडाध्यक्षका उमेदवारले तीन हजार १७० मत प्राप्त गरेका थिए ।