पोखरा । 'पार्टीमै बसेर काम गर्ने, अहिले चुनाव नलड्ने' मनस्थिति बनाएकी विद्या भट्टराईलाई एमाले अध्यक्ष केपी शर्मा ओली आफैँले बोलाएर कास्की–२ को टिकट थमाए । तर, उनले अहिलेको कोर्स नै परिवर्तन भइसकेकाले विगतको प्रसंग उक्काउन ठिक नहुने तर्क गर्दै आफू चुनाव लड्ने मनस्थितिमा नरहेको बताइन् ।
उनी अहिले कास्की–२ बाट प्रतिनिधिसभा सदस्यको उमेदवार हुन् । उनी एमालेले उठाएका ९ प्रतिशत महिला उमेदवारमध्येकी एक हुन् । एमाले नेता स्वर्गीय रविन्द्र अधिकारी यही निर्वाचन क्षेत्रबाट चुनाव लडेर जित्दै आएका थिए । त्यही रविन्द्रको विरासतको राजनीति अहिले उनकै पत्नी भट्टराइको काँधमा आएको छ ।
पर्यटनमन्त्रीमा बहाल रहँदै हेलिकप्टर दुर्घटनामा अधिकारीले ज्यान गुमाएका थिए । उनको निधनपछि रिक्त भएको यस क्षेत्रमा, ०७६ सालमा उपनिर्वाचन भयो । त्यही उपनिर्वाचनबाट संसद्मा पुगेकी विद्या दोस्रोपटक चुनाव लड्दैछिन् । त्यतिबेला वाम गठबन्धनबाट चुनाव लडेर प्रतिष्पर्धीलाई ९ हजार बढी मतान्तरले हराएकी विद्या अहिले दोस्रो जित हात पार्न चाहन्छिन् ।
तर, विद्याले माथि भनेझैँ परिस्थिति फेरिएको छ ।
विद्याभन्दा पहिला रविन्द्रले जति चुनाव जिते, प्रतिष्पर्धी कांग्रेसका थिए । विद्याले पनि उपनिर्वाचनमा कांग्रेसकै उमेदवार खेमराज पौडेललाई हराइन् ।
अहिले यहाँको चुनावी रिङमा कांग्रेस छैन । दुई वामपन्थी उमेदवारको प्रतिष्पर्धा छ । त्यसमाथि पनि एमाले विभाजन बनेर नेकपा (एकीकृत समाजवादी)का उमेदवार प्रतिष्पर्धामा उत्रिएका छन् ।
आफ्नो राजनीतिक जीवन नै एमालेमा खर्चेर एकीकृत समाजवादीबाट उमेदवार बनेका हुन, श्रीनाथ बराल । उनलाई कांग्रेससहितको गठबन्धनको सहयोग छ ।
एमालेमा रहँदादेखि नै टिकटका आकांक्षी बराल सधैँ किनारामा पारिए । एमालेभित्र ओली समूहको दबदबा रहेको कास्कीमा माधव समूहका बरालले अवसर नै पाएनन् । तरपनि, उनी एमालेका उमेदवार जिताउने अभियानमा कमान्डर बनेर खटिए । पार्टीलाई जिताउन सधैँ अगाडि बढे ।
बरालले जीवनभर एमाले भनेर हिँडे, तर एमालेले भने उनलाई कहिल्यै अवसर दिएन । ०६४ को चुनाव होस् वा ०७४ । उनको नाम पार्टीले सिफारिस त गर्थ्यो, तर टिकट पाउनेमा उनको नाम कहिल्यै आएन ।
माधव नेपाल पक्षधर भएकै कारण अवसर नपाएका श्रीनाथले एमाले छाडे, तर माधव नेपाल छाडेनन् । एमाले विभाजन गरेर एकीकृत समाजवादी बनेपछि उनी गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरका दाबेदार थिए । समाजवादीले पोखरा पाउने हल्ला चलेदेखि नै उनको दौडधुप पनि उत्तिकै थियो । तर, टिकटमा बराल जस्तै माधव पक्षधर नेता धनराज आचार्यले पाए र चुनाव जिते पनि ।
एमालेले गण्डकीलाई आफ्नो पकड क्षेत्र मान्छ, त्यसमाथि कास्कीलाई उसले गढ मान्छ भने त्यो भन्दा बढी कास्की–२ लाई एमालेले गठबन्धन भएपनि आफूले ढुक्क जितिने निर्वाचन क्षेत्रको सूचीमा राखेको छ ।
जसरी धनराजले पोखराका मेयर जिते, त्यही आशाका साथ चुनाव जितिनेमा बराल पनि विश्वस्त छन् ।
यिनै एमाले र पूर्वएमालेका उमेदवारले यहाँको राजनीतिक माहोल गर्माएका छन् ।
एमाले उमेदवार विद्या, रवीन्द्र अधिकारी र एमालेको विरासत जोगाउने प्रयासमा हुनेछिन् भने चार दशकको राजनीतिक जीवनमा पहिलोपटक उमेदवार बनेका श्रीनाथ गठबन्धनबाट जसरी पनि जित आफ्नो पक्षमा लेखाउन चाहन्छन् ।
एमालेबाट जित निकाल्न सक्ने क्षेत्र मानिएकोले विद्यालाई पनि ठुलो दबाब छ भने गठबन्धनको साथ र लामो समय एमालेमा गुजारेर पनि अवसर नपाएको नेताको सान्त्वना बटुल्दै एमालेकै मतसमेत काटेर चुनाव जित्ने होडमा श्रीनाथ छन् ।
त्यसका लागि घरदैलो देखि चुनावी सभामा उनीहरू व्यस्त छन् ।
बाह्रखरीसँगको कुराकानीमा विद्याले भनिन, “भोलि वडा नम्बर ३३ मा घरदैलो, भेटघाट छ । त्यो त आफ्नै वडा पनि भयो ।”
उनले आफ्नै वडा भनेर भन्दैगर्दा पोखराका मेयर धनराज आचार्यको वडा पनि यही हो । स्थानीय निर्वाचनमा धनराजले यो वडाबाट राम्रो मत पाएका थिए, विद्याले पनि आफ्नो वडाको सहानुभूति पाउने विश्वास गर्छिन् भने श्रीनाथको आश चाहिँ धनराजकै अनुपातमा मत आउँछ भन्नेमा छ ।
उनी आफू चुनाव जितिनेमा विश्वस्त छिन् । 'चुनाव जितिन्छ त ?' भन्ने प्रश्नमा विद्याले भनिन, “किन नजित्नु, ढुक्कले जितिन्छ ।” जितका आधार पनि उनले खुलाइन् ।
“आधार भनेको पार्टीको आधार नै हो । अघिल्लो जनप्रतिनिधिले गरेको काम र मप्रतिको विश्वास पनि हो । मतदाताहरूले मलाई विश्वास गर्नुभएको छ,” उनले भनिन् र
विकास भन्दा पनि आफूले संसद्मा नीतिगत कार्यम सक्रिय भई अब्बल प्रमाणित गरेको, महिला उमेदवारलाई जिताउनुपर्छ भन्ने सहानुभूतिले गर्दा पनि आफूलाई फाइदा हुने उनको विश्लेषण छ ।
श्रीनाथ बरालको विश्वास पनि उस्तै छ । चार दशक एमालेमा राजनीति गरेका उनी अहिले एमालेको नाम पनि लिन चाहँदैनन् । अर्कातर्फ एमाले फुटेर तीन टुक्रा भएको हुँदा आफूले जित्ने विश्वासमा रहेको उनले बताए ।
“जनताले मत दिन्छन, म पाँच दलीय गठबन्धनको साझा उमेदवार हुँ,” उनले भने ।
स्थानीय तहमा पोखरामा समाजवादीका धनराज आचार्यले चुनाव जितेझैँ यसपटक आफूले पनि चुनाव जित्ने उनको दाबी छ । “पोखराको मेयर पनि कलम कै हुनुहुन्थ्यो, म पनि कलम चुनाव चिह्नकै उमेदवार हो । जसरी गठबन्धनबाट स्थानीय तहको चुनाव जित्यौँ, त्यसैगरी हामीले पनि जित्छौँ ।”