site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्ड आफ्नै पार्टीको मतमा सुरक्षित, अरूको अवस्था के छ ?
SkywellSkywell

पोखरा । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गोरखामा ‘इन्ट्री’सँगै गण्डकीको मात्र होइन, देशकै ध्यान खिच्न सफल भएको छ । गठबन्धनको एक घटक उनको दल माओवादी केन्द्र गोरखामा आफैँ पनि बलियो छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी ११ मध्ये ९ पालिका जित्दै कमब्याक गर्न सफल रह्यो ।

त्यसबाहेक, गोरखामा प्रभाव राख्ने नेपाली कांग्रेस, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको बलियो साथ लिएर प्रचण्ड गोरखा २ बाट भिड्दै छन् । बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई छाडेर प्रचण्डका लागि सुरक्षित क्षेत्र छाडिदिएका छन् । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको जिल्ला पनि यही हो ।

स्थानीय तहको मतपरिणाम र गठबन्धनको साथ देखेरै प्रचण्डले गोरखाबाट भन्दै आएका छन्, “रिल्याक्समा छु”, “प्रतिस्पर्धी नै देखेको छैन” आदि । हुन पनि स्थानीय तहको मतपरिणामलाई आधार मान्ने हो भने प्रचण्डले लडेका संसदीय चुनावमध्येमा प्रतिस्पर्धीको तुलनामा सबैभन्दा बढी मतान्तर गोरखा–२ मा नै छ ।

KFC Island Ad
NIC Asia

यही क्षेत्रबाट नेकपा (एमाले)ले युवा उमेदवार अब्दुस मियालाई उठाएको छ । गण्डकीमा बलियो मानिने एमालेको जनाधार गोरखामा भने अन्य जिल्लाको तुलनामा कम नै छ ।

गोरखा–२ मा प्रचण्डसँग कति छ मत ?

Royal Enfield Island Ad

स्थानीय तहका निर्वाचनको मतपरिणामअनुसार गोरखा २ मा माओवादी केन्द्र पहिलो पार्टी हो । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार उक्त क्षेत्रमा माओवादीले २२ हजार २५०, कांग्रेसले २१ हजार १३६, एमालेले ७ हजार ९२६, जसपाले ७ हजार ५०४ र राप्रपाले ८७८ मत प्राप्त गरेको थियो ।

माओवादी एक्लै सो क्षेत्रमा पहिलो स्थानमा छ । उक्त मतलाई आधार मान्ने हो भने त्यस क्षेत्रमा माओवादीसहितको गठबन्धनसँग एमालेको भन्दा झन्डै ४३ हजार मत बढी छ । यही मत देखेर नै चितवन छाडेर प्रचण्ड गोरखा आएको चर्चा पनि हुने गरेका छन् ।

यो त भयो गोरखा २ र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चुनावी अंकगणित । निर्वाचनपिच्छे नै क्षेत्र फेर्न प्रचण्डलाई सहज भए पनि उनकै पार्टीका अन्य नेताहरु भने पुरानै क्षेत्रमा चुनाव लड्दैछन् । 

यसपटक गण्डकीबाट माओवादीका अध्यक्ष प्रचण्ड, महासचिव देव गुरुङ, सचिव देवेन्द्र पौडेल, केन्द्रीय सदस्य तथा गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बराल चुनावमा भिड्दैछन् । हेभिवेट नेता भए पनि प्रचण्डको जस्तो सहजता नभएर अन्य उमेदवारलाई चाहिँ गठबन्धनको भर पर्नुपर्ने स्थिति छ ।

लमजुङमा भिन्न पार्टीको महासचिव र उपमहासचिवको भिडन्त

अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट उमेदवार बनेर लमजुङबाट चुनाव जितेका माओवादी केन्द्रका महासचिव देव गुरुङ यसपटक पनि सोही ठाउँमा उमेदवार बनेका छन् । यसपटक पनि गठबन्धन छ । तर, अघिल्लो बाम गठबन्धन नभएर गुरुङ यसपटक लोकतान्त्रिक बाम गठबन्धनबाट उमेदवार बनेका छन् ।

उनका प्रतिस्पर्धी पनि गण्डकीबाट एमालेमा सबैभन्दा हेभिवेट नेता पृथ्वीसुब्बा गुरुङ छन् । अघिल्लो निर्वाचनमा एकअर्कासँग सहकार्य गर्दै प्रतिनिधिसभा देव र प्रदेशमा पृथ्वीसुब्बाले जित हासिल गरेका थिए । यसपटक चाहिँ दुवै एकअर्काका प्रतिस्पर्धी बन्न पुगेका छन् ।

गण्डकीका संस्थापक मुख्यमन्त्रीसमेत रहेका गुरुङको चाहना यसपटक पनि प्रदेशमा नै लड्ने थियो । तर, पार्टीले उनलाई प्रतिनिधिसभाको टिकट दियो । अनिच्छाको प्रतिस्पर्धा गरेका पृथ्वीसुब्बा कांग्रेससहितको गठबन्धनका उमेदवारसँग भिड्दै छन् ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा लमजुङमा एमालेले ४० हजार १९७, कांग्रेसले ३५ हजार २७६, माओवादीले ६ हजार १२७, राप्रपाले १ हजार १८४ र जसपाले १९० मत ल्याएका छन् । गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको नतिजालाई आधार बनाउँदा यहाँ एमाले र गठबन्धनको कडा टक्कर हुने देखिन्छ । 

देवेन्द्रलाई कांग्रेसबाट नवप्रवेशीको चुनौती, बागीको डर

माओवादीका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल कांग्रेस र जनमोर्चाको साथ लिएर बागलुङ २ बाट चुनावी मैदानमा उत्रिएका छन् । २०७४ मा एमाले र जनमोर्चाको सहयोगमा कांग्रेसलाई पराजित गरेका पौडेल अहिले कांग्रेससहितको गठबन्धनको सहयोग लिएर एमालेकी मञ्जु चालिसेसँग भिड्दै छन् ।

गत स्थानीय निर्वाचनमा गलकोट नगर प्रमुखको टिकट नपाएर कांग्रेसबाट बागी उठेकी मञ्जु शर्मा चालिसे गत साउनमा एमाले प्रवेश गरेकी थिइन् । त्यसअघि, कांग्रेस महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिकी निर्वाचित सदस्य रहेकी चालिसेले ३ हजार २६२ मत ल्याएकी थिइन् । उनै, बागी चालिसेलाई एमालेले यसपटक आफ्नो उमेदवार बनाएर पौडेलसँग भिडाएको छ ।

कांग्रेसमा अवसर नपाएपछि एमाले प्रवेश गरेकी चालिसे गठबन्धन दलभित्रको असन्तुष्ट मत तानेर चुनाव जित्ने दाउमा छन् । नेता पौडेलले ०७४ मा कांग्रेसका नरबहादुर पुनलाई यसै क्षेत्रबाट पराजित गरेका थिए ।
 
गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उमेदवारको कूल मतभार जोड्दा यस क्षेत्रमा गठबन्धनका उमेदवारले एमालेको भन्दा १५ हजार ५१९ मत बढी पाएका छन् । गठबन्धन दलले वडाध्यक्षमा ३४ हजार ५६८ मत पाउँदा एमालेले १९ हजार ४९ मत पाएको थियो ।

त्यसैगरी गठबन्धनका तर्फबाट उमेदवार बनेका पौडेलविरुद्ध पनि आफ्नै पार्टीका तुलसी अर्यालले बागी उमेदवारी दिएका छन् । अर्यालले क्षेत्र नं २ बाट उमेदवार आकांक्षी थिए । तर, पार्टीले पौडेललाई उमेदवार बनाएपछि अर्याल रुष्ट बनेका हुन् ।

रामजीलाई पनि बागीको तगारो

सेनाले गोली हानेर हत्या गरेका सहिद परिवारको तर्फबाट अनिता भुर्तेल बागी बन्दा गठबन्धनका उमेदवार रामजी बराललाई कास्की ३ को चुनावमा केही अप्ठ्यारो पर्नेछ । माओवादीकै केही नेता कार्यकर्ताको सहानुभूति भुर्तेललाई भए पनि बरालसँग भने गठबन्धन छ ।

माओेवादी सशस्त्र संघर्षका क्रममा २०६१ वैशाखमा भुर्तेलका बुवा राजविक्रम र आमा सीता भुर्तेललाई नेपाली सेनाले हत्या गरेको थियो । त्यो बेला आफू १५ वर्ष मात्रै रहेको र साना भाइबहिनीको अभिभावक बनेर हुर्काउँदा पार्टीले नहेरेको उनको गुनासो छ ।

यो पटक कास्की क्षेत्र नम्बर ३ बाट उनको नाम पनि केन्द्रमा सिफारिस भएको थियो । तर, प्रतिनिधिसभा र प्रदेशसभामा पनि टिकट नपाएपछि उनले बागी उमेदवारी दिएकी हुन् ।

गण्डकीका बहालवाला अर्थमन्त्री बराल अघिल्लो निर्वाचनमा कास्की ३ (क) बाट चुनाव जितेका व्यक्ति हुन् । माओवादीले यसपटक उनलाई प्रतिनिधिसभामा अगाडि सारेको छ । कास्की ३ मा बरालका प्रतिस्पर्धी एमालेका दामोदर बैरागी हुन् । 

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उक्त क्षेत्रमा वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई हेर्दा गठबन्धन भन्दा एमालेको मत केही कम छ । एमालेले वडाध्यक्षमा २६ हजार ८३९ मत प्राप्त गरेको छ । कांग्रेसले २७ हजार ५१६ र माओवादीले २ हजार ४९८ तथा नेकपा (एकीकृत समाजवादी)ले ५०१ मत प्राप्त गरेका छन् । राप्रपा र अन्य पार्टीको मत क्रमशः १ हजार ४० र २ हजार ४२२ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  २०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro