काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो संकल्पपत्र सार्वजनिक गरेका छन् । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य उमेदवार डा. कोइरालाले शनिबार संकल्पपत्र सार्वजनिक गरेका हुन् ।
संकल्पत्रमा डा. कोइरालाले मोरङ क्षेत्र नम्बर ६ मात्र होइन राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निभाउन आफूलाई मत आवश्यक भएको उल्लेख गरेका छन् । उनले समग्र नेपाली कांग्रेसभित्र पुस्तान्तरण र रुपान्तरणका लागि मात्र लडिरहेको भन्दै मोरङको गौरवशाली इतिहास र परम्परालाई समेत निरन्तरता दिने बाचा गरेका छन् ।
“आज जब म तपाईंहरुसँग विवेकको प्रयोग गर्नुहोस् भनी मतको अनुरोध गरिरहेको छु, तब म आधुनिक नेपालको इतिहास निर्माता बीपी कोइरालालाई सम्झिरहेको छु,” उनले संकल्पपत्रमा लेखेका छन्, “बीपी जसलाई हामी सबै (सान्दाजु) भनी सम्बोधन गर्दथ्यौँ, संयोगले म उहाँले नै चुनाव लड्नुभएको क्षेत्रमा भोट माग्न तपाईंहरुको घरदैलोमा आएको छु । यो त्यही क्षेत्र हो जहाँ गिरिजाप्रसाद कोइराला आफ्नो प्रतिनिधि छान्न मतदान गर्नुहुन्थ्यो ।”
संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि आफूले संकल्पपत्र सार्वजनिक गरेको उनले जानकारी दिए । संकल्पत्रमार्फत डा. कोइरालाले आफ्नो निर्वाचन क्षेत्रको आर्थिक असमानता र गरिबीलगायत शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्ने प्रतिवद्धता जनाएका छन् ।
“युवा बेरोजगारीको समस्या डरलाग्दो छ । यसको सम्बोधन नगरी लोकतन्त्र स्थिर र उन्नत हुन सम्भव छैन । हाम्रा सम्मानित ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारसँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम हामी ल्याउँदै छौँ,” संकल्पपत्रमा कोइरालाले लेखेका छन् ।
संकल्पपत्रमार्फत उनले गछिया, केशलिया (बुढी), सिगिंया नदीको कटान र बस्ती प्रवेश रोक्न बलियो तटबन्ध निर्माणलाई उच्च प्राथमिकतामा राखिने उल्लेख गरेका छन् । साथै विराटनगर विमानस्थलको स्तरोन्नति, पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधार र मेडिकल कलेज यथाशीघ्र सञ्चालनमा ल्याउने र बिराटनगर चक्रपथको काम सम्पन्न गरी यथासक्य छिटो सञ्चालनमा ल्याउने प्रतिवद्धता जाहेर गरेका छन् ।