काठमाडौं । नेकपा (एमाले)ले अबका दुई वर्षभित्र सातै प्रदेशमा ५० शय्याको सरुवारोग अस्पताल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । मंगलबार सार्वजनिक एमालेको आसन्न निर्वाचनलक्षित घोषणापत्रमा यस्तो उल्लेख छ ।
घोषणापत्रमा जटिल तथा घातको रोगको उपचारका लागि काठमाडौं उपत्यकाभित्र ३०० शय्या र सातै प्रदेशमा ५० शय्याको अस्पताल निर्माण गरिने जनाइएको छ ।
हाल शिलान्यास भई निर्माणको चरणमा रहेका पाँच, १० र १५ शय्याका आधारभूत अस्पतालहरूमध्ये दुई वर्षभित्र ३९६ वटाको निर्माणकार्य सम्पन्न गरिने पनि घोषणापत्रमा उल्लेख छ ।
यस्तै, एमाले नेतृत्वको तत्कालीन सरकारले निर्माण सुरु गरेका जिल्ला अस्पताललाई २५ देखि ५० शय्या, प्रादेशिक अस्पताललाई २०० शय्या र केन्द्रीय अस्पताललाई ५०० शय्यामा स्तरोन्नति गर्ने कार्य दुई वर्षभित्र पूरा गर्ने एमालेको प्रतिबद्धता छ ।