काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा आज (आइतबार) सुपर–१२ समूह–२ मा दक्षिण अफ्रिकाले भारतसामू चुनौती प्रस्तुत गर्दै छ ।
अस्ट्रेलियाको पर्थस्थित पर्थ क्रिकेट मैदानमा हुने खेलमा दुवै टिम जितसहित सेमिफाइनल सम्भावनालाई बलियो बनाउन चाहन्छन् । खेल नेपाली समयअनुसार अपराह्न ०४ः४५ बजेदेखि सुरु हुनेछ ।
समूह–२ मा दुई खेलबाट चार अंक जोडेको भारत तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट तीन अंक जोडेको दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । दुवै टिम प्रतियोगितामा अपराजित रहे पनि दक्षिण अफ्रिकाको पहिलो खेल वर्षाका कारण बिनानतिजा टुंगिएको थियो ।
भारतले पहिलो खेलमा पाकिस्तानलाई चार विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५६ रनले पराजित गरेको थियो । दक्षिण अफ्रिकाले वर्षाका कारण पहिलो खेलमा जिम्बाब्वेसँग अंक बाड्दा दोस्रो खेलमा बंगलादेशलाई १०४ रनले पराजित गरेको थियो ।
यी दुई टिमबीच हालसम्म ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २३ खेल भएका छन् । जसमा भारतले १३ जित्दा दक्षिण अफ्रिकाले ९ खेल आफ्नो पक्षमा पारेको छ ।
यस्तै, ट्वान्टी–२० विश्वकपमा यी दुई टिमबीच पाँच खेल भएका छन् । जसमध्ये चार खेल भारतले जित्दा एक खेलमा मात्र दक्षिण अफ्रिका विजयी भएको छ ।