काठमाडौं । नेपाली कथानक चलचित्र ‘के घर के डेरा’ले पुनः दर्शकको साथ पाएको छ । गत शुक्रबारबाट रिलिज भएको चलचित्रले आइतबार र सोमबार दर्शकको साथ तुलनात्मक रूपमा कम पाए पनि आजबाट पुनः अकुपेन्सी बढाएको छ ।
तिहारको बिदा सुरु भएसँगै ‘के घर के डेरा’मा दर्शकको उत्साहजनक सहभागिता देखिएको निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । “आइतबार र सोमबार दर्शक केही कम भएको हो । दर्शक कम हुँदा पनि अकुपेन्सी ४० भन्दा तल झरेको थिएन,” निर्देशक खनाल भन्छन्, “आजबाट पुनः चलचित्रमा दर्शकको ठूलो उपस्थिति देखिएको छ ।” कतिपय शोको बुकिङ फिलिङ फाष्टमा भइरहेको देखिएको छ ।
चलचित्र हेर्ने दर्शकले सिनेमा मन पराएको उनको भनाइ छ । “जति पनि दर्शकले सिनेमा हेर्नु भएको छ, उहाँहरूले मन पराउनु भएको छ । हलमा सिठी र ताली बजाएर रमाइलो लिइरहनु भएको छ,” उनी भन्छन्, “सिंगल थिएटरको समयमा जसरी राजेश हमाल र निखिल उप्रेतीका सिनेमा दर्शकले ताली पिट्दै र सिठी फुक्दै हेर्थे त्यस्तै माहोल हलमा देखिन्छ ।”
आजबाट प्रि–बुकिङ र अकुपेन्सी पनि बढेको र शोज पनि थपिएको उनी बताउँछन् । दर्शकको संख्या र अकुपेन्सी बढेपछि हलले शोज थपिएको उनको भनाइ छ । भोलिबाट शोज अझै थपिने दीपेन्द्र बताउँछन् ।
दयाहाङ राई, विपीन कार्की, वर्षा राउत, सुरक्षा पन्तलगायत यो चलचित्रको मुख्य भूमिकामा छन् । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रका कार्यकारी निर्देशक युवाराज कार्की हुन् ।