site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१०२ मेगावाटको मध्यभोटेकोसी फागुनसम्म आउने

काठमाडौं । २०८० पुस अन्तिममा ‘वेट टेस्टिङ’ मा पानी चुहिएको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको उत्पादन मिति अझै दुई महिना पर धकेलिएको छ । पानी चुहिएर ‘रेट्रोफिटिङ’ गरिएको आयोजनामा पुनः समस्या देखिएपछि उत्पादन मिति फागुनसम्म धकेलिएको हो । निर्माण कार्यमा लापरबाही हुँदा आयोजना दोस्रो पटकको परीक्षण पनि असफल भएको हो ।

१०२ मेगावाटको आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनियरिङ, खरिद र निर्माण (इपिसी) ढाँचामा चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रीकल कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्माणमा लापरबाही गर्दा आयोजना ११ वर्षसम्म उत्पादनमा जान सकेको छैन । 

आयोजनामा अघिल्लोपटक चुहिएकै ठाउँबाट पुनः पानी चुहिने समस्या देखिएको आयोजना प्रमुख रामगोपाल शिवाकोटीले जानकारी दिए । “पछिल्लोपटक चुहिएको ठाउँको पहिचानपश्चात त्यसलाई टाल्ने काम आगामी हप्ताबाट सुरु हन्छ,” उनले भने, “परीक्षण फागुनमा सुरु गर्ने लक्ष्य राखिएको छ ।”

Dabur Nepal
NIC Asia

१०२ मेगावाट क्षमताको आयोजना एक वर्ष धकेलिँदा १ अर्ब ५० करोडको हाराहारीमा घाटा भएको छ । आयोजना ठेक्का हुँदा ‘क्लास थ्री रक’ भएका कारण ‘लाइनिङ’ को सट्टा ग्राउटिङ गरिएको थियो । ‘रेट्रोफिटिङ’मा ठेकेदार कम्पनीले राम्रोसँग ग्राउटिङ नगरेका कारण आयोजना पुनः चुहिएको हो । 

आयोजनाको सुरुङ ७ किलोमिटर लामो छ । “आयोजनाको पछिल्लो रिर्पोटमा अघिल्लोपटक जस्तो पानी चुहिएको छैन । ३/४ सय मिटर रेन्जमा ३ ठाउँबाट आएको छ । त्यसलाई राम्रोसँग टालेर फागुनभित्र चार्ज गर्छौं,” उनले भने । 

मध्यभोटेकोसी जलविद्युत् कम्पनीले निर्माण गरेको आयोजना अघिल्लो वर्षको निर्माण सकिएर ‘वेट टेस्टिङ’का क्रममा सुरुङबाट पानी चुहिएको थियो । करिब ७ महिना लगाएर ‘रेट्रोफिट’ गरिएपनि ठेकेदारले लापरबाही गर्दा आयोजनामा डेढ अर्बको हाराहारीमा क्षति भएको हो । 

यसअघि पनि पटक–पटक व्यावसायिक उत्पादन मिति सार्दै आएको आयोजनाले पछिल्लो पटक २०८१ को कात्तिक अन्तिममा पुर्‍याएको थियो । उक्त परीक्षणमा पनि समस्या देखिएपछि २०८१ फागुनमा पुर्‍याएको छ । आयोजनाको प्रसारण लाइनको निर्माण पनि सकिएको छैन ।

आयोजना चार वर्षमा सक्ने गरी २०७० मा निर्माण सुरु भएको थियो । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भने २०६८ सालमै भएको थियो । पीपीएको १३ वर्ष तथा निर्माण सुरु भएकै ११ वर्षसम्म पनि आयोजना निर्माण हुन नसक्दा अर्बौ घाटा भएको छ ।

समयमै आयोजना निर्माण हुन नसक्नुमा २०७२ को भुकम्प, भारतीय नाकाबन्दी, कोभिड लगायतका कारण रहेको शिवाकोटी बताउँछन् । यस्तै सिन्धुपाल्चोकको जुरे पहिरोका कारण पनि आयोजना निर्माण लामो समय रोकिएको उनको दाबी छ । 

आयोजना २०७० मा निर्माण सुरु भई २०७४ मा सक्ने योजना थियो । तर, आयोजना निर्माण कम्पनीले भुकम्प र नाकाबन्दीको कारण देखाएर विद्युत् उत्पादन मिति २०७६ पुर्‍यायो । २०७६ पछि कोभिड–१९ तथा आर्थिक मन्दीको असर भन्दै २०७८ पुर्‍याएको आयोजनामा प्रसारण लाइनको लगायतका समस्या कारण पनि निर्माण सुस्त भएको कम्पनीको भनाइ छ ।

आयोजनामा भएको ढिलाइसँगै लागतमा पनि उच्च वृद्धि भएको छ । सुरुमा १२ अर्ब २८ करोड रहेको लागत आयोजनामा भएको ढिलाइसँगै २० अर्बको हाराहारीमा पुगेको छ । ‘वेट टेस्टिङ’ र आयोजना परीक्षण उत्पादन गरी गत वर्षको चैतबाटै व्यवसायिक उत्पादन सुरु गर्ने कम्पनीको तयारी थियो । तर, आयोजनाको गुणस्तरमा ध्यान नदिएका कारण ‘वेट टेस्टिङ’ गर्दा सुरुङबाट पानी चुहिएपछि एक वर्षपछि धकेलिएको छ । 

गतवर्ष सुरुङबाट पानी चुहिएपछि प्राविधिक विशेषज्ञले अध्ययन गर्न नै झण्डै ३ महिना लागेको थियो । सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनियरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा ठेक्का लिएको चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कार्यसम्पादन कमजोर हुँदा पनि आयोजनाको काम निकै ढिला भएको थियो । 

आयोजनाको प्रवद्र्धक मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरणको दश प्रतिशत संस्थापक सेयर छ । मध्य भोटेकोसीमा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेस्टमेण्ट कम्पनीको १ र सिन्धु भोटेकोसी हाइड्रोपावरको १ प्रतिशत गरी ५१ प्रतिशत संस्थापक सेयरधनी रहेका छन् ।

त्यस्तै ४९ प्रतिशत साधारण सेयरधनीमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकवासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर छ । 

कम्पनीले साधारण सेयर निस्कासन गरी रकम संकलन गरेको थियो । कम्पनीका साधारण लगानीकर्ताहरू १० लाख ७५ हजार छन् । आयोजनाले वार्षिक रूपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।

प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्ने सम्झौता भएको थियो । आयोजना सञ्चालनमा आएपछि वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जनाएको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro