site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्काउटलाई भाडा बुझाउन मन्त्री खड्काको अझै आनाकानी !

काठमाडौं । ऊर्जा मन्त्री दीपक खड्कालाई चोख्याउने गरी स्काउट नेपाल र खड्काल्यान्ड डेभलपमेन्ट प्रालिले जारी गरेको संयुक्त विज्ञप्ति विवादमा परेको छ । संस्थाका आयुक्त महेन्द्रराज रन्जित र खड्काल्याण्डका तर्फबाट बिकल थापा क्षेत्रीको हस्ताक्षरसहित भाडा विवाद समाधान भएको जिकिरसहित विज्ञप्ति जारी गरेपछि विवाद बल्झिएको हो ।

स्काउटका आयुक्त रन्जितले संस्थाका अन्य सदस्यहरूलाई जानकारी समेत नगराई संयुक्त विज्ञप्ति निकालेपछि अन्य पदाधिकारीले विरोध जनाएका हुन् । रन्जितले आफूखुसी एकल निर्णय विज्ञप्ति निकालेको दाबीसहित अन्य पदाधिकारीले विरोध गरेका हुन् ।

मंसिर २६ गते स्काउट र खड्काल्याण्ड डेभलपमेन्टले भाडाको विषयमा कुनै पनि समस्या नरहेको र मन्त्री खड्कालाई मुछेर व्यक्तिगत लाञ्छना लगाउने एवम् व्यक्तिगत चरित्रमाथि समेत प्रहार गर्ने नियोजित उद्देश्यले भ्रामक एवम् तथ्यहीन समाचार प्रकाशन गरेको भन्दै ध्यानाकर्षण व्यहोरा संयुक्त विज्ञप्ति जारी गरेका थिए । तर, उक्त विज्ञप्तिमा संस्थाका अन्य पदाधिकारीबीच सल्लाह नभएको संस्थाकै एक पदाधिकारी बताउँछन् । 

Dabur Nepal
NIC Asia

स्काउट र खड्काल्याण्डबीच २०६५ मा १० वर्षका लागि भाडा सम्झौता भएको थियो । स्काउटको लैनचौरस्थित भवन तथा तीन रोपनी जग्गा १० वर्षका लागि भाडामा लिने सम्झौता भएपनि थप ९ रोपनी भोगचलन गरेको र सम्झौता अवधि एकपक्षीय रूपमा १५ वर्ष पु¥याएको थियो । १० वर्षको अवधि सकिएपछि भाडा विवाद उत्पन भएको थियो ।

भाडा विवाद संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उठेपछि स्काउट र खड्काल्याण्डबीच भाडाका विषयमा लिएर कुनै विवाद नरहेको विज्ञप्ति जारी गरेका थिए ।

खड्काल्याण्डले २०७५ सालसम्म नियमित भाडा तिरेको र त्यसपछि जग्गा र भवन उपयोग गरिरहे पनि भाडा तिर्न आनाकानी गरेका थिए । भाडा पनि नतिर्ने र जग्गा पनि खाली नगरेपछि वैशाखमा काठमाडौं जिल्ला प्रशासनले बल प्रयोग गरेर खाली गराएको थियो ।

२०७५ पछि नियमित भाडा समेत तिर्न छाडेपछि सम्झौताअनुसार दैनिक २ सय ५० रूपैयाँको दरले जरिवाना लगाउन थालेको थियो । सम्झौता अवधि सकिएपछि पनि खड्काले जग्गा खाली गरेका थिएनन् । उक्त अवधिको समेत गरी ६ करोड ६९ लाख रकममा २०८१ लागेपछि १ करोड ५० लाख रूपैयाँ बुझाएका थिए । 

स्काउटले राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको विवरणअनुसार खड्काको खड्का डेभलपमेन्ट प्रालिले भाडा र जरिवानाबापतको ५ करोड १९ लाख २७ हजार ८५१ रूपैयाँ तिर्न बाँकी छ ।

विवरणअनुसार व्यवसायिक भवन प्रथम तथा दोस्रो र ३ रोपनी जग्गाको २०८० चैत्र महिनासम्म ९ करोड ४५ लाख २३ हजार ९८२ तथा त्यही अवधिको जरिवाना २ करोड ७८ लाख ६१ हजार ५ रूपैयाँ छ । 

भाडा र जरिवानासहित २०८० चैतसम्म १२ करोड २३ लाख ८५ हजार ४८२ रूपैयाँ बक्यौतामा ४ करोड ९२ लाख ३५ हजार २१ रूपैयाँ बैक दाखिला तथा ६२ लाख २२ हजार ६१० धरौटी जफत समेत गरी ५ करोड ५४ लाख ५७ हजार ६३१ रूपैयाँ बाँकी थियो । 

कम्पनीले २०८१ कात्तिक २, मंसिर २, मंसिर १६ र मंसिर २६ मा समेत गरी १ करोड ५० लाख रूपैयाँ बुझाएपछि ५ करोड १९ लाख रूपैयाँ बक्यौता बाँकी रहेको लेखा अधिकृत चुडामणी कार्कीले समितिमा बुझाएको विवरणमा उल्लेख छ ।

२०७५ पछि भाडा पनि नतिर्ने र भवन पनि खाली नगरेपछि स्काउटको तत्कालीन कार्यसमितिले खड्काबाट जग्गा र भवन खाली गर्न राष्ट्रपति, अख्तियार तथा महानगर पालिका तथा राज्य व्यवस्था तथा सुशासन समितिमा लगायतमा निवेदन दिएको थियो । तर, मन्त्री खड्काले शक्तिको आडमा बक्यौता तिर्न आनाकानी गर्दै आइरहेका छन् । 

पाँच करोड १९ लाख रकम तिर्न आनाकानी गरिरहेको खड्कालाई चोख्याउने किसिमले स्काउटबाटै विज्ञप्ति आएपछि अन्य पदाधिकारीले विरोध जनाएका छन् । “यो कार्यसमितिले निर्णय गरेको होइन, आयुक्तज्यूले विधि प्रक्रियाबाट निर्णय गरेको पनि होइन । संस्थाका अन्य सदस्यहरूलाई थाहै नदिइ विज्ञप्ति आयो,” स्काउटका एक पदाधिकारीले भने ।

उनका अनुसार, “बैशाखपछाडि उहाँहरूले ठाउँ छाड्नु भएको थियो । ठाउँ छाड्दा ६ करोड ६९ लाख बाँकी थियो । भाडाका विषय निरन्तर मिडियामा आएपछि १ करोड ५० लाख उहाँहरूले तिर्नु भएको छ । जरिवानाबापतको रकम तिर्दिनँ भन्ने खड्का पक्षको कुरा हो । यसमा प्रमुख आयुक्तज्यू पनि छुट दिनुपर्छ भन्ने पक्षमा लाग्नु भएको छ । तर, बोर्डले छुट दिन सक्दैन ।”

संयुक्त विज्ञप्तिका विषयमा अन्य पदाधिकारीलाई समेत कुनै जानकारी नभएको उनको भनाइ छ । “उहाँहरूले के÷कति कारणले त्यो प्रेस नोट निकाल्नुभएको थियो । यसबारेमा संस्थाका अन्य कुनै पनि पदाधिकारीलाई जानकारी छैन,” ती पदाधिकारी भन्छन्, “संस्थाका बहुमत सदस्यहरू यस विषयमा अनविज्ञ र असहमत छन् । अझै पाँच करोड १९ लाख रूपैयाँ खड्काल्याण्डले स्काउटलाई बुझाउन बाँकी छ । रन्जितले नै हर्जनासहित पैसा उठाउनपर्छ भनी अदालतमा मुद्दा हाल्नु भएको हो ।” 

उता आयुक्त रञ्जित भने आफूले सकारात्मक समाचार आओस् भनेर मात्रै विज्ञप्ति निकालेको दावी गर्छन् । “उहाँहरूसँग निरन्तर संवादमा छौं । यसबीचमा निकै नकारात्मक समाचार आए । त्यसकारण हामीले सकारात्मक हिसाबले विवाद नरहेको सकारात्मक विज्ञप्ति जारी गरेका हौं,” आयुक्त रन्जितले बाह्रखरीसँग भने, “हाम्रो उद्देश्य पैसा उठाउने हो । यसमा सकारात्मक भइरहेका कारण र निरन्तर नकारात्मक समाचार आएपछि संयुक्त विज्ञप्ति जारी गरेका हौं ।”

खड्काल्यान्डले जरिवाना छुटको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । स्काउटले जरिवानासहित बक्यौता असुलको आदेश माग गर्दै अर्को मुद्दा दायर गरेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro