site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
पुस्तक परिचय

फेरि नफर्किने ती दिनहरू
(संस्मरणसंग्रह : विनयराज गौतम)

साहित्यकार विनयराज गौतमको दोस्रो कृति संस्मरणसंग्रहका रूपमा आएको छ, ‘फेरि नफर्किने ती दिनहरू’ । यसअघि उनको ‘मृत्युको छहारीमा’ कथाकृति र ‘नेपालको शिक्षामा राजनीतिको प्रभाव’ गरेर दुई पुस्तक सार्वजनिक भइसकेको छ ।

यस पुस्तकको लेखकीयमा गौतम लेख्छन्, ‘मेरा विगतका पानाहरूमा कोरिएका अक्षर तथा भावहरूले यहाँहरूलाई अरू केही नभए पनि आफ्नो संसारसँग परिचित अवश्य नै गराउलान्, यही मैले विश्वास लिएको छु ।...।’

Dabur Nepal
NIC Asia

कृतिको भूमिकामा साहित्यकार डा. गीता त्रिपाठी लेख्छिन्, ‘फेरि नफर्किने ती दिनहरू’ संस्मरण निबन्धभित्र सामाजिक न्यायका निम्ति शैक्षिक संस्था प्राथमिकतामा पर्नुपर्ने उच्च विचार प्रकट भएको छ । ...समग्रमा ‘फेरि नफर्किने ती दिनहरू’ संस्मरण निबन्ध संग्रहका निबन्धहरूले जीवन र मृत्युका बीचको अन्तरालमा घटित हुने मानवीय सामाजिक प्रक्रियाको यथार्थ र नैतिक अपेक्षाको अभ्युत्खनन गरेका छन् ।...।’

निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ कृतिभित्र लेख्छन्, ‘यो उहाँको पाँच दशकभन्दा बढी समयको आरोह–अवरोहको संग्रह हो । संस्मरणकार गौतमले भोग्नुभएको तत्कालीन समाजको दस्ताबेज पनि हो ।...।’

यस संग्रहभित्र गौतमका २६ वटा संस्मरणात्मक निबन्धहरू समेटिएका छन् ।

तन्नेरी प्रकाशनद्वारा प्रकाशित १३२ पृष्ठको यस पुस्तकको मूल्य ९००/– रुपैयाँ राखिएको छ ।

०००

आरम्भ 
(निबन्धसंग्रह : शीतल गिरी)

साहित्यकार शीतल गिरी पछिल्लो समय आध्यात्मिक तथा सांस्कृतिक लेखनतर्फ केन्द्रित छन् । तथापि, बेलाबखत उनका निबन्ध र अन्य कृति पनि प्रकाशित हुँदै आएको छ । केही समयअघि प्रकाशनमा आएको उनको व्यक्ति निबन्धकृति हो, ‘आरम्भ’ ।

आरम्भको आरम्भमा भावकेशर बरालको भूमिका छ । उनी ‘आरम्भ हो आरम्भ होइन’मा लेख्छन्, ‘... विवेच्य कृति आरम्भचाहिँ उनको व्यक्तिकेन्द्रित समालोचनात्मक निबन्धसंग्रह हो । यसमा गिरीले बहुविध क्षेत्रका २५ जना व्यक्तिमाथि आफ्नो आलोचनात्मक दृष्टि प्रस्तुत गरेका छन् ।’

लेखक गिरी ‘मेरो कुरा’मा लेख्छन्, ‘संग्रहमा कस्ताकस्ता निबन्ध समावेश गर्ने ? यस कुरोले मलाई रन्थन्याएको थियो । साहित्यलाई जीवन ठानेको हुँदा मैले जिन्दगीलाई यस संग्रहमा समावेश गरेँ । इतिहासदेखि वर्तमानसम्म ।’

शारदा पराजुलीले कृतिको ब्लर्बमा लेखेकी छन्, ‘शीतल गिरीद्वारा रचित ‘आरम्भ’ निबन्धसंग्रहले चर्चित व्यक्तित्व मात्र होइन, ओझेलमा परेका व्यक्तिलाई समेत अगाडि ल्याएको छ ।...।’

साहित्यकार गिरीको यस कृतिभित्र अरनिको, द्रव्य शाह, पृथ्वीनारायण, अमरसिंह, लखन थापा, भानुभक्तसहित २५ जनाको व्यक्ति निबन्ध राखिएको छ ।

ओरिएन्टल पब्लिकेसनद्वारा प्रकाशित १९२ पृष्ठको यस पुस्तकको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।

००० 

विनय ग्रन्थ
(समग्रकृति : लेखक विनय रावल÷सम्पादक डा. तुलसी भट्टराई)

नेपाली कवितामा एउटा पृथक धार ‘तरलवाद’को थालनी गर्ने कविमध्येका एक विनय रावल आज यो भूलोकमा छैनन् । तर, उनका कृतिहरू अहिले पनि यहीँ छ र समग्रकृतिका रूपमा प्रकाशित भएर आएको छ । दिवंगत कवि विनय रावलका प्रकाशित चार कृतिहरू ‘विनय ग्रन्थ’भित्र समेटिएको छ । कवि, पत्रकार तथा बैंकर रावलको यस समग्रकृतिको सम्पादन साहित्यकार डा. तुलसी भट्टराईले गरेका छन् ।

डा. भट्टराईले ‘स्रष्टा विनय रावलप्रति’मा लेखेका छन् : ‘विनय रावलको पार्थिव चोला उठेको १८ वर्ष भइसकेको छ । यतिबेला आएर हामीले विनय रावलका चारवटा प्रकाशित कृतिहरू र विनयको लेखनबारेका एक दर्जनभन्दा बढी स्रष्टाका विचारहरू समेटेर एउटा ग्रन्थ तयार पारेका छौँ ।...।’

यस समग्रकृतिभित्र विनय रावलका कविताकृतिहरू ‘मलाई तिमी आफूजस्तै बनाऊ’ र ‘सपनाको देशमा’, विचारसंग्रह ‘समय प्रवाह’ र नियात्राकृति ‘ठूल्दिदीको देश’ समेटिएको छ ।

त्यस्तै, व्यक्तिका दृष्टिमा विनय रावल शीर्षकमा उनका बारेमा लेखिएका संस्मरण तथा विचार प्रस्तुत छ ।

विनय रावल स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ४१६ पृष्ठको यस ग्रन्थको मूल्य भने तोकिएको छैन ।

०००

खास्टो 
(लघुकथासंग्रह : मनीषकुमार शर्मा ‘समित’)

केही समययता लघुकथा लेखनमा सर्जकहरूको सक्रियता बढ्दो छ । आख्यान विधाको पनि लघुतम रूप मानिने लघुकथा लेखनमा लाग्दै आएका स्रष्टा हुन्, मनीषकुमार शर्मा ‘समित’ र उनको पछिल्लो प्रकाशित कृति हो, ‘खास्टो’ ।

कृतिकार शर्मा आफ्नो लघुअभिव्यक्तिमा लेख्छन्, ‘पछिल्लो समय लघुकथाको मानकलाई अझ गहिरिएर अध्ययन गर्ने र मनन गर्ने समय मिल्यो । विशेष त हाम्रो लघुकथा (पाठशाला) केन्द्रको नियमित कार्यक्रममा अग्रजहरूबाट गरिएका परिचर्चा र विश्लेषण तथा पाठकीय प्रतिक्रियाहरूबाट सकारात्मक ऊर्जा प्राप्त भयो ।...।’

साहित्यकार धु्रव मधिकर्मीले भूमिकामा लेखेका छन्, ‘लघुकथाका स्रष्टा मनीषकुमार शर्मा सामाजिक सञ्जालकै देन हुन् । यद्यपि उनलाई लेख्ने अवसर कोरोनाको बन्दाबन्दीले प्रेरित ग¥यो, तर त्यसका लागि मञ्च भने सामाजिक सञ्जाल फेसबुकले प्रदान ग¥यो ।...।’

यस लघुकथा कृतिभित्र मनीषले लेखेका ४९ वटा लघुकथा समावेश छ ।

हाम्रो लघुकथा केन्द्र नेपाल, दक्षिणकालीद्वारा प्रकाशित ८८ पृष्ठको यस पुस्तकको मूल्य २००/– रुपैयाँ राखिएको छ ।

०००

लछमनियाको गौना
(कथासंग्रह : सनत रेग्मी)

नेपाली आख्यान जगतमा चिरिपरिचत नाम हो, सनत रेग्मी । नेपालगन्जमा बसेर कथा साहित्यमा निरन्तर क्रियाशील स्रष्टा रेग्मीको चर्चित कथाकृति ‘लछमनियाको गौना’को अर्को संस्करण फेरि पाठकमाझ आएको छ ।

यस कथाकृतिको पहिलो संस्करण ०५१ सालमा प्रकाशित भएको थियो भने ३० वर्ष लामो अन्तरालमा परिवद्र्धित तथा परिमार्जित रूपमा दोस्रो संस्करण प्रकाशित भएको हो ।

कृतिको भूमिकामा डा. दयाराम श्रेष्ठले लेखेका छन्, ‘...समाजमा दलित, सीमान्तीकृत र पछाडि पारिएका विभिन्न वर्गका जीवनमूल्य र आम लोकसंस्कारका सौन्दर्यलाई समेटेर उनले समग्रमा यस संग्रहलाई एउटा चित्रावली (शब्दमा एल्बम) तयार पारेका छन् ।...।’

लेखकीय मन्तव्यमा कथाकार रेग्मी लेख्छन्, ‘...यस संग्रहमा मैले ०२६ सालमा लेखेको र हराइरहेको कथा ‘बाढी’देखि ताजा कथा ‘अजीजा चच्ची’सम्म जम्मा २३ कथा समेटिएका छन् ।’

ओरिएन्टल पब्लिकेसनद्वारा प्रकाशित १९६ पृष्ठको पुस्तकको मूल्य ४५०/– तोकिएको छ ।

०००

लघुकथा : प्रक्रिया र पाठ
(सोध–अनुसन्धान : गोपाल अश्क) 

साहित्यकार गोपाल अश्कले लेखेर बजारमा आएको पुस्तक हो, ‘लघुकथा : प्रक्रिया र पाठ’ । दोस्रो संस्करणका रूपमा प्रकाशित यो पुस्तक मूलतः लघुकथा लेखनमा कलम चलाउने सर्जकहरूका लागि उपयोगी सिद्ध हुने देखिन्छ । लघुकथाको रचना कसरी गर्ने र त्यसका लागि कथाकारले के–के गर्नुपर्छ भन्ने विषय यस पुस्तकमा समेटिएको छ । साथै यसभित्र विभिन्न चर्चित लघुकथाकारका केही लघुकथा पनि समावेश गरिएको छ ।

कथा, कविता, गजल, व्याकरण, शोध–अनुसन्धान, समालोचना, अनुवादसहित दर्जनौँ कृति प्रकाशन गरिसकेका अश्क कृतिभित्र आफ्नो दुई शब्दमा लेख्छन्, ‘...मैले आफ्नो ‘लघुकथा : प्रक्रिया र पाठ’लाई धेरै चलाएको छैन । किनभने म आज पनि लघुकथाको सैद्धान्तिक पक्ष र नेपाली लघुकथाको विकास प्रक्रियाको बारेमा पहिलाझैँ स्पष्ट छु, अलिकति पनि द्विविधामा छैन । हो, बदलेको समयको कारणले गर्दा अलिकति परिमार्जित एवं परिवद्र्धित गर्ने प्रयत्न गरेको छु ।...।’ 

कृतिभित्र डा. विदुर चालिसेले भूमिकामा लेखेका छन्, ‘नेपाली लघुकथाको विकास प्रक्रियामा यसको विषयारम्भ, नेपाली लघुकथाको उद्भव, नेपाली लघुकथाको विकास प्रक्रिया, नेपाली लघुकथाको कालविभाजन समेतको विस्तृत व्याख्यान गर्दै नेपाली लघुकथाको इतिहासलाई स्पष्ट पारिएको छ ।...।’

पहिलो संस्करणको प्रकाशकीयमा साझा प्रकाशनले लेखेको छ, ‘...समयको व्यस्ततासँगै आख्यान साहित्यमा लघुविधाप्रतिको लोकप्रियता लेखक पाठक दुवैमा बढेको छ । ‘लघुकथाः प्रक्रिया र पाठ’मा लघुकथाको सैद्धान्तिक विश्लेषण र विविध कथाकारका उत्कृष्ट कथा समाहित छन् ।’

घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ प्रकाशकीयमा लेख्छन्, ‘यस मञ्चले लघुकथाको श्रीवृद्धिमा योगदान गर्नका लागि चालेको अभियानमा लघुकथा लेखकहरूको रचना प्रकाशन गर्नुका साथै यसको उन्नयनका लागि नेपाली लघुकथाको समालोचनासम्बन्धी पुस्तक यसभन्दा अगाडि नै प्रकाशन गरेर योगदान गरिरहेको छ ।...।’

कृतिभित्र साहित्यकार अश्कले आठ अध्यायमा लघुकथाको सामान्य परिचय, लघुकथाको स्वरूप, संरचना र तत्त्वहरूको निरूपण, लघुकथा : पूर्वेली र पश्चिमेली, नेपाली लघुकथाको विकास प्रक्रियालगायत विषय प्रस्तुत गरेका छन् ।

नमस्ते आधुनिक लघुकथा मञ्च नेपाल, चितवनद्वारा प्रकाशित २६० पृष्ठको यस पुस्तकको मूल्य ६९९/– रुपैयाँ राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro