site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
धनुषामा पूर्वमन्त्रीहरूकाे भिडन्त

जनकपुरधाम । धनुषामा प्रतिनिधिसभाको लागि आठजना पूर्वमन्त्रीहरू चुनावी मैदानमा छन् । चुनावी एजेण्डासहित उनीहरू मतदाता समक्ष पुगिरहेका छन् । जित हात पार्न निर्वाचन क्षेत्रमा उनीहरू दिनरात व्यस्त छन् ।

तर, विगतमा जितेर मन्त्री भइसकेकाहरूलाई जित्न कति सहज/असहज हुने सबैले चासोपूर्वक हेरिरहेक छन् । 

चार निर्वाचन क्षेत्र रहेको धनुषामा तीन क्षेत्रमा मन्त्री–मन्त्रीबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन क्षेत्र नम्बर २ मा तीन पूर्वमन्त्री उमेदवार छन् । यहाँ कुनै दलबीच चुनावी तालमेल हुन नसक्दा तीन पूर्वमन्त्रीहरूले आफ्नो दलबाट उमेदवारी दिएका छन् ।

नेकपा( एमाले)बाट पूर्वमन्त्री उमाशंकर अरगरिया, नेपाली कांग्रेसबाट रामकृष्ण यादव र नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री रामचन्द्र झा उमेदवार छन् । 

यहाँ उमाशंकर जित दोहाेर्‍याउने रणनीतिमा छन् भने रामकृष्ण उमाशंकरलाई हराएर ०७४ को बदला लिने तयारीमा छन् । रामभन्द्र झा पनि जित हात पारेर आफूलाई पुनः स्थापित गर्न जोडबल गरिरहेका छन् । उनीहरू मत आफ्नो पक्षमा ल्याउन अहोरात्र मेहनत गरिरहेका छन् ।

उमेदवारहरूको पार्टी फेरबदलका कारण यहाँको प्रतिस्पर्धामा अन्यौल देखिएको छ । यद्यपि, स्थानीय मतपरिणामअनुसार कांग्रेसको अवस्था अन्य दलभन्दा मजबुत देखिएको छ । 

४१ वटा वडा रहेको यस क्षेत्रका १९ वडामा पूरै सेट कांग्रेसले जितेको छ । ६ पालिका रहेको यस क्षेत्रमा एमाले, जसपा र कांग्रेसले समान दुई/दुई वटा पालिका प्रमुख जितेका छन् । यद्यपि, कांग्रेसले जितेको पालिकाको केही वडा मात्रै यस निर्वाचन क्षेत्रमा छन् । 

स्थानीय चुनावमा कांग्रेसले यहाँ २१ हजार दुईसय ३२ मत ल्याएर ठूलो दल बनेको छ । जसपाले १३ हजार आठसय ८९, एमालेले ११ हजार पाँचसय ८३, माओवादी केन्द्रले १० हजार सातसय ९४, एकीकृत समाजवादीले आठ हजार नौसय ९७ र लोकतान्तिक समाजवादी पार्टीले छ हजार सातसय मत पाएका छन् । 

यसअघि ०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट अरगरिया निर्वाचित भएका थिए । उनले रामकृष्णलाई पराजित गरेका थिए ।

तर, यसपटकको परिस्थिति फरक छ । निर्वाचनको मुखमा आएर अरगरिया लोसपा त्याग गरी एमालेबाट चुनावमा होमिएका छन् । एमाले त्याग गरी गंगाराम यादव जसपाबाट उमेदवार बनेका छन् । अन्तिम समयमा सहमति हुन नसक्दा नेकपा एकीकृत समाजवादीबाट रामचन्द्र झाको उमेदवारीले यहाँ प्रतिस्पर्धा थप रोचक बनाएको छ । उमेदवारको पार्टी फेरबदलले केही असर गर्ने अनुमान गरिएको छ । 

यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ मा पनि सबैको नजर छ । यहाँ मुख्यत दुवै गठबन्धनका उमेदवार एंव पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुँदैछ । एमाले–जसपाको साझा उमेदवार जुली महतो छन् भने पाँच दलीय गठबन्धनबाट लोसपाका अनिल झा उमेदवार छन् । यहाँ पनि रोचक प्रतिस्पर्धा छ ।

गठबन्धनबाट आएका दुवैजना यसपटकको लागि यी क्षेत्रमा नयाँ उमेदवार छन् । अनिल झाले यस क्षेत्रबाट पहिलोपटक उमेदवारी दिएका छन् भने जुलीले पनि यसयघि निर्वाचनमा भाग लिएकी थिइनन् । त्योभन्दा पहिले उनी कांग्रेस नेता विमलेन्द्र निधिसँग पराजित भएकी थिइन् । 

यहाँ एक लाख १४ हजार १३ मतदाता छन् । चार पालिका यस क्षेत्रमा पर्छन् । दुई पालिका कांग्रेस, जसपा र स्वतन्त्रले एक/एक पालिका जितेका छन् । यद्यपि, जनकपुरधाम उपमहानगरपालिकाबाट स्वतन्त्र उमेदवारी दिएर जितेका मनोज साह कांग्रेस निकट नै छन् । उनले अगामी निर्वाचनमा कांग्रेस  सर्मथक उमेदवारलाई नै सहयोग गर्न सक्ने अनुमान गरिएको छ । 

यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ पनि कडा प्रतिस्पर्धा छ । यहाँ पनि दुई पूर्वमन्त्रीबीच रोचक प्रतिस्पर्धा छ । एमालेका उमेदवार रघुविर महासेठ जित दोहाेर्‍याउने दाउमा छन् भने कांग्रेसका सह महामन्त्री महेन्द्र यादव महासेठलाई पराजित गरेर ०७४ को बदला लिने रणनीतिमा छन् ।

यहाँ तीनजनाबीच मुख्य प्रतिस्पर्धा छ । तीनै जना पुरानै उमेदवार छन् । जसपाबाट अन्तिम समयमा महाजन यादव उमेदवार बनेका छन् । याे क्षेत्रमा पनि प्रदेशसभाका उमेदवारले पार्टी फेरबदल गरेका छन् । जसले चुनावी आकलन अन्यौल छ । 

निर्वाचन क्षेत्र नम्बर १ मा एकजना मात्रै पूर्वमन्त्रीको उमेदवारी परेको छ । बाँकी तीन क्षेत्रमा मन्त्रीहरूबीच रोचक प्रतिस्पर्धा हुने देखिएकाे छ ।

निर्वाचन क्षेत्र १ मा पाँच दलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री मातृकाप्रसाद यादव उमेदवार छन् भने एमाले–जसपा गठबन्धनबाट दीपक कार्की छन् । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट यहाँ निर्वतमान सांसद किसोरी साह (कमल) पनि प्रतिस्पर्धा गरिरहेका छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  ०७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro