site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पहिले सहकर्मी, अहिले प्रतिस्पर्धी

जनकपुरधाम । ०७४ सालको निर्वाचनमा हरिनारायण यादव र वृशेषचन्द्र लाल महन्थ ठाकुरका सहकर्मी थिए । उनलाई जिताउन नेताद्वयले निकै मिहिनेत गरेका थिए । योपटक ती दुवै नेता ठाकुरका प्रतिस्पर्धी छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष ठाकुर प्रतिनिधिसभातर्फ महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट सत्ता गठबन्धनका साझा उमेदवार छन् । ठाकुरलाई ०७४ मा सोही क्षेत्रबाट जिताउन नेताद्वयले अहं भूमिका खेलेका थिए ।

तर, अहिले यादव नेकपा (एमाले)–जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनका साझा उमेदवार भएर प्रतिस्र्धीका रूपमा उभिएका छन् । ठाकुरलाई यसअघि सघाएका वृशेषचन्द्र लालले पनि उनको विपक्षमा उमेदवारी दिएका छन् । ०७४ मा उनीहरू तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)मा आबद्ध थिए ।

लाल केही महिनाअघि तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बिउँताएर चुनावमा होमिएका छन् । उनी तामलोपाका अधयक्ष समेत हुन् ।

०७४ मा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र ठाकुर नेतृत्वको राजपाबीच चुनावी तालमेल भएको थियो । यादवले उपेन्द्र नेतृत्वको पार्टीबाट सहकर्मीका रूपमा ठाकुरलाई सघाएका थिए । लालले आफ्ना पार्टी अध्यक्ष ठाकुरलाई सहयोग गरेका थिए ।

अहिले ठाकुरविरुद्ध नेताद्वयको उमेदवारीलाई चासोका साथ हेरिएको छ । गएको स्थानीय तह निर्वाचनको मत परिणामानुसार ठाकुर थोरै मतान्तरले मजबुत देखिन्छन् ।

सो क्षेत्रमा पाँच पालिकाका ३५ वडा पर्छन् । गएको स्थानीय तह निर्वाचनमा त्यहाँ जसपाका तर्फबाट उमेदवारी दिएका वडाध्यक्ष पदका उमेदवारले १४ हजार ३५७, लोसपाका उमेदवारले १२ हजार ७३५, नेकपा (एमाले)का उमेदवारले १० हजार ८२०, नेपाली कांग्रेसका उमेदवारले नौ हजार ४३, नेकपा (माओवादी केन्द्र)का उमेदवारले पाँच हजार १९५ र नेकपा (एकीकृत समाजवादी)का उमेदवारले दुई हजार ५७० मत पाएका थिए ।

एमाले–जसपा गठबन्धनको मतलाई जोड्दा २५ हजार १७७ हुन्छ । पाँचदलीय गठबन्धको कुल मत २९ हजार ५४३ हुन्छ । यो आधारमा ठाकुर झिनो मतान्तरले अगाडि देखिन्छन् ।

पाँच पालिकाका प्रमुखमध्ये लोसपा र कांग्रेसले एक/एक ठाउँमा जितेका छन् । तीन पालिका प्रमुख जसपाले जितेको छ ।

अर्कोतर्फ, नेकपा (माओवादी केन्द्र)का रामकुमार शर्माले प्रदेशसभातर्फ महोत्तरी–३ ‘क’बाट उमेदवारी दिएका थिए । तर, उनलाई दबाब दिएर उमेदवारी फिर्ता गर्न लगाइएको छ । शर्मा पाँचदलीय गठबन्धनबाट रुष्ट बनेका छन् । एमालेमा जान सक्ने संकेत गरेका छन् । उनले ठाकुरलाई केही अप्ठ्यारो पार्न सक्ने अनुमान गरिएको छ ।

माओवादी केन्द्रका अर्का नेता रामआधार कापरले ठाकुरविरुद्ध स्वतन्त्र उमेदवारी दिएका छन् ।

०७४ मा ठाकुरलाई सघाएका दीपेन्द्र झा पनि महोत्तरी–३ ‘ख’बाट एमाले–जसपाका साझा उमेदवार बनेका छन् । उनी मधेस प्रदेशका पूर्वन्यायाधिवक्ता समेत हुन् । विपक्षी दलबाट उनको उमेदवारीले पनि ठाकुरलाई असर गर्ने नेताहरूको अनुमान छ ।

०७४ को संसदीय निर्वाचन ठाकुर २६ हजार ८४५ मतसहित विजयी भएका थिए । जसपा र कांग्रेसको पूर्ण समर्थन पाएका ठाकुरले तत्कालीन एमालेका उमेदवार विजय चौधरीलाई १८ हजार १६९ मतको फराकिलो अन्तरले पराजित गरेका थिए । चौधरीले आठ हजार ६७६ मत पाएका थिए । हाल एमाले र जसपाबीच चुनावी तालमेल छ ।

लोसपाका नेता समेत रहेका मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल मतदानको दिनसम्म ठाकुरको अवस्था बलियो हुने जिकिर गर्छन् । “ठाकुरको सम्भवतः यो अन्तिम चुनाव हो,” उनले भने, “त्यसकारण क्षेत्रका मतदाताले उनको पक्षमा मतदान गर्नेछन् ।”

जसपाका उमेदवार यादव भने आफ्नो जित सुनिश्चित भएको जिकिर गर्छन् । एमाले र जसपाको मतका अतिरिक्त कांग्रेस, माओवादी केन्द्र र लोसपाकै मत पनि आफूलाई प्राप्त हुने उनको विश्वास छ ।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro