पोखरा । गण्डकीका संस्थापक मुख्यमन्त्री हुन्, एमाले नेता पृथ्वीसुब्बा गुरुङ । अघिल्लोपटक प्रत्यक्षमा १७ र समानुपातिकमा १० सिट जितेर ठुलो दल बनेको एमालेले माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थनसहित नेकपाको दुई तिहाइ बहुमतको सरकार बनायो ।
उनै संस्थापक मुख्यमन्त्री अहिले अनिच्छाले प्रतिनिधिसभाको उमेदवार बनेका छन् । प्रदेशसभामा नै झर्ने र फेरि मुख्यमन्त्री बन्ने इच्छा राखेका पृथ्वीसुब्बालाई पार्टीले प्रदेशमा होइन, प्रतिनिधिसभामा अगाडि सार्यो । लमजुङबाट उमेदवार बनेका गुरुङविरुद्ध गठबन्धनका बलिया उमेदवार छन्, माओवादी केन्द्रका शक्तिशाली महासचिव देव गुरुङ ।
प्रदेशसभामा सहज जित आकलन गरेका पृथ्वीसुब्बालाई प्रतिनिधिसभाको चुनाव फलामे च्युरासरह नै छ भन्ने गणित स्थानीय तहको निर्वाचनले देखाउँछ ।
गण्डकीमा पृथ्वीसुब्बा नेतृत्वको सरकार सर्वोच्च अदालतले एमाले र माओवादीलाई ब्युँताइदिएपछि ढल्न पुग्यो । माओवादी छुट्टिएर कांग्रेससँग सरकार बनाउन पुग्यो । राष्ट्रिय जनमोर्चा, तत्कालीन जनता समाजवादी पार्टी (हाल नेपाल समाजवादी पार्टी) पनि गठबन्धनमा पुगे ।
त्यो गठबन्धनले कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई गण्डकीको दोस्रो मुख्यमन्त्री बनायो ।
नवलपुर १ (क) बाट विजयी बनेका पोखरेल संसदीय राजनीतिबाट नै बिदा लिँदैछन् । यसपटकको कुनै पनि चुनावमा उनको उमेदवारी छैन ।
सार्वजनिक लेखा समितिमा रहेर काम गरेका तथा अहिले गण्डकी सरकारका प्रवक्ता रहेका भौतिक पूर्वाधार, सहरी विकासमन्त्री कुमार खड्काको संसदीय राजनीति पनि तत्कालका लागि बन्द भएको छ । अघिल्लोपटक समानुपातिकबाट सांसद बनेर मालदार मन्त्रालय सम्हालेका खड्कालाई पार्टीले टिकट दिएन ।
एमालेको पर्वत जिल्ला अध्यक्ष बनेका विकास लम्सालले पनि पार्टीको टिकट ल्याउन सकेनन् । ०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका लम्साल ०७४ मा पर्वत (ख) बाट चुनाव जितेर प्रदेशसभा सदस्य हुँदै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका थिए ।
यसपटक संघीय सांसदको दाबी गरिरहेका लम्साललाई एमालेले टिकट दिएन ।
गण्डकी सरकारकै वर्तमान वाणिज्य, आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल पनि संसदीय राजनीतिबाट बाहिरिएका छन् । बागलुङबाट समानुपातिक सांसद बनेर प्रदेशसभा सदस्य बनेका कँडेलको संसदीय राजनीतिको च्याप्टर क्लोज भएको छ ।
स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङ, वनमन्त्री दीपक चर्तीमगर र कृषिमन्त्री चन्द्रबहादुर बुढाले माओवादी केन्द्रबाट टिकट पाएनन् ।
गठबन्धनको भागमा माओवादी केन्द्र परेपनि स्याङ्जा १ (क) मा झगडै गरेर गण्डकीका शिक्षामन्त्री मेखलाल श्रेष्ठले पार्टीको टिकट ल्याएर उमेदवारी दर्ता गराए । अघिल्लो निर्वाचनमा माओवादीले जितेको यस क्षेत्रबाट अमृता थापामगरको पनि उमेदवारी पर्यो । गठबन्धन नै टुट्ने देखिएपछि शीर्ष नेताहरूले यो क्षेत्र माओवादीलाई नै दिने निर्णय गरेपछि मन्त्री श्रेष्ठ पछि हटे । उनले उमेदवारी फिर्ता लिए ।
समानुपातिकबाट सांसद बनेका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा पनि यो चुनावमा सहभागी छैनन् ।
जनता समाजवादी पार्टीबाट मन्त्री बनेका हरिशरण आचार्यले पार्टी नेता डा. बाबुराम भट्टराइसँग असन्तुष्टि जनाउँदै गोरखा २ (क)मा बागी उमेदवारी दिए ।
अन्ततः उनले पनि आफ्नो उमेदवारी फिर्ता लिन बाध्य भए ।
पृथ्वीसुब्बा नेतृत्वको सरकारमा मन्त्री बनेका माओवादीका लेखबहादुर थापामगर र एमालेका नरदेवी पुनमगर पनि यो चुनावमा देखिने छैनन् ।
बहालवाला मन्त्रीमध्येमा प्रत्यक्ष टिकट पाउनेमा कास्की २ (ख) मा विन्दुकुमार थापा, कास्की ३ मा अर्थमन्त्री रामजीप्रसाद बराल छन् ।
उनीहरूलाई पार्टीले टिकट दिएको छ र गठबन्धनबाट चुनाव लड्दैछन् ।
दलीय उमेदवार बनेर चुनाव जितेका गण्डकीका अधिकांश मन्त्री टिकटविहीन बन्दा केही चाहिँ पुनः गठबन्धनबाटै दोहोरिने दाउमा छन् । प्रदेशसभामा नै दोहोरिने गरि पार्टीबाट टिकट पाउने बहालवाला मन्त्री विन्दुकुमार थापामात्रै हुन् । रामजी बराल प्रतिनिधिसभाका उमेदवार बनेका छन् । गण्डकीको पहिलो सरकारमा सहभागी आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान पनि प्रदेशसभामा नै दोहोरिएर उमेदवार बनेका छन् । किरण गुरुङ प्रतिनिधिसभाको उमेदवार बनेका छन् ।
दलका मन्त्री नै टिकटविहीन बनिरहँदा गण्डकीमा एकजना यस्ता पनि सांसद छन्, जो स्वतन्त्र उठ्छन्, चुनाव जित्छन् र मन्त्री पनि बन्छन् । यसपटक त उनले नयाँ रेकर्ड नै राखे ।
देशभरि मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि मतदान हुँदै छ । तर, उनी अहिले नै निर्विरोध भइसके । उनकै समर्थनका लागि भनेर गठबन्धन र एमालेले आफ्ना उमेदवार नै उठाएनन् । स्वतन्त्र उमेदवारी हालेका अर्का आकांक्षीले आफ्नो उमेदवारी फिर्ता लिए ।
डेंगी लागेर उपचारको क्रममा रहेका र बिहीबारसम्म 'भ्वाइस रेस्ट'मा रहेका र आसन्न चुनावमा देशकै पहिलो प्रदेशसभामा निर्वाचित सांसद हुन्, राजीव गुरुङ उर्फ दीपक मनाङे । उनी गण्डकीका युवा तथा खेलकुदमन्त्री पनि हुन् ।
विवादित छविका कारण उनी चर्चामा आइरहन्छन् । उनको चर्चा अहिलेको चुनावमा जति छ, त्यति चर्चा अघिल्लो निर्वाचनमा उनी उमेदवार बन्दाताका पनि थियो ।
मनाङ ‘ख’ बाट स्वतन्त्र उमेदवार बनेका मनाङेसँग प्रतिष्पर्धामा उत्रिएका थिए, अर्का स्वतन्त्र उमेदवार दोर्जे लामा गुरुङ । २३ गते उमेदवारी दर्ता गराएतापनि दोर्जेले बुधबार आफ्नो उमेदवारी फिर्ता लिएर मनाङेलाई निर्वाचित हुन सहयोग पुर्याए ।
निर्वाचित भएका देशकै पहिलो सांसद मनाङेको पछिल्लो हप्तादेखि फोन अफ थियो । एकाध बेला फोन अन हुँदा पनि उनले फोन रिसिभ गरेका थिएनन् । बुधबारको गण्डकी सरकारको मन्त्रिपरिषद् बैठकमा पनि डेंगी लागेका कारण उनी सहभागी भएनन् ।
फोन गर्दा उनका सहयोगीले उठाउँछन् । निर्वाचित भइसकेपछि मनाङेलाई फोन गर्दा उनका सहयोगीले फोन उठाए र भने, “दिउँसो राष्ट्रपतिका स्वकीय सचिवले पनि फोन गर्नुभएको थियो, तर दाइ ढोका लगाएर बस्नुभएको छ । उहाँ भोलिसम्म कसैसँग बोल्नुहुन्न ।”
उनका अनुसार मनाङेलाई चिकित्सकले बिहीबारसम्म 'भ्वाइस रेस्ट'मा बस्न भनेका छन् ।
“डाक्टरले नै आजको दिन नबोल्न भन्नुभएको छ, भेट्न आउने, फोन गर्ने सबैलाई हामीले फर्काइदिएका छौँ । भोलितिर फोन गर्नुहोला, दाइ बोल्नुहुन्छ कि,” उनले भने ।
उमेदवारी दर्ता गराउन २३ गते मनाङ आएका मनाङे आफू निर्विरोध हुने निश्चित भएपछि मंगलबार नै हेलिकप्टर लिएर काठमाडौं गएका छन् । काठमाडौंमा नै उनले आफूलाई भ्वाइस रेस्ट गर्ने भन्दै कोठामा बन्द गरेर राखेका छन् । गठबन्धनदेखि एमालेका शीर्ष तहका नेताले उनलाई सम्पर्ककको प्रयास गरेका छन् । तर, मनाङे मौन छन् ।
मनाङेलाई गठबन्धन र एमालेले किन प्राथमिकतामा राखेका छन् त ?
जिल्ला जाँदा कहिल्यै खाली हात नजाने मनाङेको पछाडि ठुलो युवाको जमात छ । जहाँ जाँदापनि मनाङेको स्वागत सत्कारका लागि युवाहरूको भिड देखिन्छ । उनलाई सेलिब्रेटी मान्नेको संख्या पनि ठुलो छ ।
गण्डकीका दुवै सरकारमा मन्त्री बनेपछि उनले जिल्लामा बजेट पनि भित्र्याए । युवाको पंक्ति त छँदैथियो, बजेटको सम्बोधनपछि जिल्लामा उनको प्रभाव झनै बढ्दै गयो ।
यही प्रभाव क्यास गर्न उनी गठबन्धन र एमाले दुवैको तानातानमा परेका हुन् ।
त्यही प्रभाव बुझेर नै कांग्रेसले आफ्नो भागमा परेको उक्त क्षेत्रमा उमेदवार नै खडा गरेन । मनाङेका लागि भनेर समर्थनसहित क्षेत्र छाडिदियो । एमालेले पनि त्यसै गर्यो । तर, रिस्क नलिने भन्दै एमाले निकट दोर्जेले स्वतन्त्र बनेर उमेदवारी दिएका थिए । तर, उनले पनि बाटो खाली गरिदिए ।
दुवै समूहले मनाङेलाई तान्नुको पछाडि चाहिँ प्रतिनिधिसभा निर्वाचनको स्वार्थ छ ।
एक प्रतिनिधिसभा क्षेत्र रहेको मनाङमा एमालेले पाल्देन छोपाङ गुरुङ र कांग्रेसले टेकप्रसाद गुरुङलाई उमेदवार बनाएको छ । यी दुईमध्ये कसलाई चुनाव जिताउने भन्ने निर्णय मनाङेको हातमा छ । सोहीकारण उनी तानातानमा छन् भने दुवै समूहप्रति समदुरी राखेका छन् । मनाङकै कांग्रेसनिकट एक कार्यकर्ताको भनाइलाई मान्ने हो भने, “मनाङेले दुवै समूहलाई समदुरीमा राखेर आफ्नो बार्गेनिङ बढाइरहेका छन् ।”
०७४ मा पनि स्वतन्त्र, स्वार्थ हेरेर दल परिवर्तन
०७४ को निर्वाचनमा मनाङको प्रदेश (ख) बाट प्रदेशसभामा एक हजार ४१० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा उनी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए ।
०५०/०५१ सालतिर ठमेलमा मनाङका मानिसले होटल तथा रेस्टुरेन्ट खोल्न थालेपछि ठमेल भनेकै मनाङेहरूको हो भन्ने अफवाह फैलाउँदै मनाङेले हप्ता एवं मासिक असुली गर्न थालेका थिए । धम्क्याउँदै पैसा असुल्दै आएका उनको आपराधिक यात्राको बाधक बने केही समय चक्रे मिलन । राप्रपामा खासै उपलब्धि नभएपछि उनी लक्ष्मण चौधरीको संघीय समाजवादी पार्टीमा प्रवेश गरे । ०६८ मा उक्त पार्टीमा प्रवेश गरेका उनी केही समय भूमिगतजस्तै बने ।
ठमेलमा रेस्टुरेन्ट व्यवसायीबाट सलामी (कमिसन) उठाउने मनाङे पटक–पटक पक्राउ पर्दै जेल परेर छुटेका अभियुक्त थिए । अकूत सम्पत्तिमा सम्पत्ति शुद्धीकरण विभागले मनाङेविरुद्ध विशेष अदालतमा मुद्दासमेत चलाएको थियो तर उनले सफाइ पाए ।
गुन्डागर्दीसँगै ठेक्कापट्टा, होटल, डान्सबार र रेस्टुरेन्ट सञ्चालकसमेत बने । राजनीति गरे अपराध छिपाउन सकिन्छ र प्रहरी चंगुलबाट बच्न सकिन्छ भन्ने अभिप्रायले नै उनी विभिन्न दलमा प्रवेश गरे ।
०६० साल पुस ११ गते चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा उनी पक्राउ परेका थिए । जेल बसेर छुटेका उनी त्यसपछि ०६५ साल फागुन र ०७० साल फागुनमा पक्राउ परे । सेनाका मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मनाङेलाई तत्कालीन काठमाडौंका सीडीओले ६ महिना कैद सुनाएपछि पछि अदालतले एक वर्ष कैद सजाय सुनाएको थिए ।
उनी महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमानढोका परिसर, टेकु परिसरसँगै काठमाडौंका धेरै प्रहरी कार्यालयका थुनामा बसिसकेका छन् । ०७३ पुस २८ गते राप्रपा प्रवेश गरेका उनी ०७४ असोजमा एकाएक एमालेमा पुगे । तर एमालेबाट टिकट नपाएपछि उनी स्वतन्त्रबाट सांसद बनेका थिए ।
सांसद बनेपनि उनले तत्काल शपथ खान भने पाएनन् ।
पुरानो मुद्दामा उनलाई पुनरावेदन अदालत पाटनले उनलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । तर, लामो समय गोप्य राखिएको फैसला पाँच वर्षपछि २०७४ साल माघ २ गते सार्वजनिक भयो । त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
अन्ततः २०७५ वैशाख ६ गते उनी पक्राउ परे, जतिबेला उनी चुनाव जितर गण्डकी प्रदेश सभाको सांसद बनिसकेका थिए । उनलाई स्वयम्भूको तीनधारा क्षेत्रबाट पक्राउ गरिएको थियो । ०७५ साल पुस ५ गते सर्वोच्चको आदेशमा उनी रिहा भए ।
सर्वोच्चको आदेशमा पुसको पहिलो साता थुनामुक्त भएपछि प्रदेशसभा सचिवालयमा प्रतिनिधिमार्फत पुस ११ गते मनाङेले शपथग्रहणका लागि निवेदन दिएका थिए । १५ माघ ०७५ मा शपथ लिएपछि प्रदेशसभा सदस्य बनेका उनी गण्डकी सरकारको हेरफेरमा पनि तानातानमा परे ।
सुरुमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मन्त्री बनेका मनाङे पछि गठबन्धनसँग मिसिन पुगे र मन्त्री नै बने । उनी अहिले पनि गठबन्धनकै तर्फबाट मन्त्री छन् ।