पोखरा । नेकपा (एमाले)का ‘हेभीवेट’ नेता तथा संस्थापक मुख्यमन्त्रीहरू सबैले आसन्न निर्वाचनमा संघ रोजिरहँदा ढुक्कका साथ प्रदेशकै चुनाव लड्ने तयारीमा थिए, गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ । गएको वैशाखमा अरू प्रदेशमा एमालेले पराजय व्यहोर्दा गण्डकीमा भने थप दुई पालिका बढी जितेको थियो ।
अर्कातर्फ, वडाध्यक्षको मत हेर्दा पनि संसदीय चुनाव जित्न सकिने तथा समानुपातिकमा पहिलो बन्न सकिने आकलनका साथ गण्डकीमा पहिलो पार्टी बन्ने र पुनः मुख्यमन्त्रीमा दोहोरिने विश्लेषण गुरुङको थियो । यतिसम्म कि उनले आफूनिकटका सुरक्षा निकायका अधिकारीहरूबाट पनि निरन्तर सूचना लिइरहेका थिए ।
गठबन्धनका नाममा सिट बाँडफाँटमा असन्तुष्टि हुने र त्यसले पनि एमालेलाई नै फाइदा हुने हुँदा पहिलो दलको हैसियतमा फेरि गण्डकीको सरकार बनाउन सक्ने हिसाब गुरुङको थियो । सोहीअनुरूप उनको इच्छा पनि प्रदेशमा नै थियो । प्रदेशमा नै चुनाव लड्ने र सरकार प्रमुख बन्नेबारे उनले सार्वजनिक रूपमा नै खुलेर बताउँदै आएका थिए ।
समग्र गण्डकी सरकारको नेतृत्व लिने उनको चाहना भएता पनि एमालेमा उनलाई प्रतिनिधिसभातर्फको टिकट दिइएको छ ।
अर्कातर्फ, एमालेले आउँदो मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि इच्छुकको नाम टिपायो । त्यति बेला एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी जापानमा थिए । कास्की क्षेत्र नम्बर–१ बाट निर्वाचन लड्दै आएका अधिकारीको इच्छा पुनः संघीय निर्वाचन लड्ने भन्नेमै थियो । तर, पृथ्वीसुब्बा प्रदेशमा लड्ने भएपछि शुभेच्छुकले उनको नाम प्रदेशसभा सदस्यमा पनि हालिदिए ।
अधिकारीले यसलाई शुभेच्छुकले आफ्नो नाम टिपाइदिएको र आफू प्रदेशमा नभई संघीय चुनाव लड्ने बताउँदै आइरहे ।
तर, गण्डकीको एमाले राजनीतिमा गुरुङ र अधिकारीबीच टकराव छ भन्ने एमालेजनबाहेक अरू दललाई पनि छ । पार्टीका विभिन्न चुनावहरूमा देखिने धु्रवीय राजनीतिले पनि यसलाई पुष्टि गर्छ ।
जापानमा रहेका अधिकारीको नाम प्रदेशमा राखिनुमा पनि यी दुईजनाको शक्तिसंघर्षकै उपज हो ।
एमाले कास्कीको गएको जिल्ला अधिवेशन नै हेर्ने हो भने प्रस्ट रूपमा यहाँ गुरुङ गुट र अधिकारी गुट आमने–सामने भए । देशभरिका प्रायः जिल्लामा सर्वसम्मत नेतृत्व चयन हुँदा गण्डकीको राजधानी कास्कीमा एमालेभित्र चुनाव गरियो । जहाँ गुरुङपक्षीय उमेदवार मनबहादुर गुरुङ विजयी भए भने अधिकारीले अघि सारेका दामोदर वैरागी पराजित भए ।
त्यसपछि यी दुई समूहको शक्तिसंघर्ष झनै झांगिँदै गयो । गएको स्थानीय तह निर्वाचनमा पनि यी दुईको टकराव सतहमा देखियो ।
गुरुङ र अधिकारीको टकराव पोखरा महानगरपालिकाको मेयर उमेदवार सिफारिसका क्रममा समेत देखिएको थियो । सुरुमा टिकट पाएका दीपक पौडेलको टिकट खोसियो भने बहालवाला प्रदेश सांसद कृष्ण थापाले टिकट पाए । पछि थापा पनि चुनाव हारे । मतगणनाकै क्रममा गुरुङको नाम लिएर एमालेकै कार्यकर्ताले कथापालाई हराउनुपर्ने भन्दै गरेको संवाद ‘भाइरल’ पनि बन्यो ।
एमाले स्रोतका अनुसार सोही अडियोलाई लिएर गुरुङमाथि कारबाही गर्न भन्दै कास्कीको एमाले टोली काठमाडौं पनि पुगेको थियो ।
गण्डकीको राजनीतिमा प्रभाव राख्ने यी दुई नेता अहिले पुनः चर्चामा छन् । मुख्यमन्त्रीको चाहना राखेका गुरुङले संघको टिकट पाए । संघको चुनाव लड्ने चाहना राखेका अधिकारीचाहिँ प्रदेशमा परे ।
गएको हप्ता मात्र पोखरामा अधिकारीले केही पत्रकारलाई बोलाएर आफू र गुरुङबीच प्रतिस्पर्धा नरहेको र आफ्नो चाहना संघमा नै रहेको प्रस्ट पारेका थिए । गुरुङ प्रदेशमा आए मुख्यमन्त्रीमा आफूले सघाउने उनको भनाइ थियो ।
तर, उनले यो भन्नुपूर्व पृथ्वीसुब्बाको गृहजिल्ला लमजुङको एमाले नेतृत्वले गुरुङलाई नै थाहा नदिई बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको थियो ।
उक्त भेटमा उनीहरूले लमजुङबाट लगातार पृथ्वीसुब्बाले मात्र टिकट पाउँदा अरू नेता–कार्यकर्ताले अवसर नपाएको गुनासो गरे । एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले ओलीलाई त्यस्तो ‘ब्रिफिङ’ गरेको थियो । ओलीले उनीहरूको कुरालाई सकारात्मक लिएका थिए ।
मुख्यमन्त्रीका रूपमा प्रदेशमा नै बस्ने तयारीमा रहेका गुरुङ उक्त भेटपछि झस्किए । अर्कातर्फ, गण्डकीमा एमालेले नै सरकार बनाएता पनि गुरुङलाई मुख्यमन्त्री नबनाउने मुडमा ओली रहेको अधिकारीनिकट नेता–कार्यकर्ता बताउँछन् ।
“प्रदेशमा झर्ने तर मुख्यमन्त्री नबन्ने भएपछि यही साता मात्रै पृथ्वीसुब्बाले संघमा जान खोजेका हुन्,” ती नेताले भने ।
प्रदेशमा इच्छा नै नदेखाएका खगराजले प्रदेशको टिकट पाउनुमा भने बालकोटले उनलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको ती नेताको भनाइ छ ।
प्रदेशमा एकार्कालाई रोक्न उद्धत यी दुई नेताले नै आफूले भनेअनुसारको टिकट पाउन सकेनन् ।
लमजुङमा प्रतिनिधिसभातर्फ गुरुङले टिकट पाउँदा प्रदेशसभातर्फ ‘क’मा जमिन्द्रमान घले र ‘ख’मा कृष्ण अधिकारीले टिकट पाएका छन् ।
यता, कास्की–१ मा प्रतिनिधिसभातर्फ एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङले टिकट पाउँदा प्रदेशसभातर्फ ‘क’मा खगराज अधिकारी र ‘ख’मा वेदबहादुर गुरुङले टिकट पाएका छन् ।