काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । बिहीबारको बैठकले सिटबाँडफाँटको अन्तिम टुंगो लगाउन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । आजको बैठकले कसले कति सिट लिने टुंगो लगाउने दाबी गरिएको छ ।
हिजोको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नो पार्टीलाई प्रस्ताव गरिएको सिटमा चित्त नबुझेपछि उनी बैठकको बीचमै उठेर हिँडेका थिए । एकीकृत समाजवादीले १६ सिट पाउने भनिए पछि उनी बीचमै हिँडेका थिए ।
हालसम्मको सहमतिअनुसार माओवादी केन्द्रले ४४ सिट पाउने भएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसले ८४ सिट लिने सहमति भएको छ ।
गठबन्धनको बैठक पटक–पटक बसे पनि सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन । नेपाली कांग्रेसका एक शीर्ष नेताका अनुसार सप्तरी, पर्सा र कास्कीमा सहमति जुट्न अझै बाँकी छ । केही निर्वाचन क्षेत्रमा दोहोरो दाबेदारी रहेका कारण सहमति जुट्न सकेको छैन ।