जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेतृ चन्दा चौधरीले पार्टी परित्याग गरेकी छन् । बुधबार उनले पार्टी त्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् ।
०७४ सालको निर्वाचनमा उनी महोत्तरीबाट तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट समानुपातिक सांसद बनेकी थिइन् । केपी ओली सरकारमा उनी पनि १८ दिनको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमेत बनेकी थिइन् ।
अब उनलाई सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उमेदवार बनाउने कांग्रेसको तयारी छ । उनले पार्टीको शीर्ष नेताबाट पनि सोही आश्वासन पाएकी छन् । उनको गृह क्षेत्र यही हो ।
तर, यहाँबाट कांग्रेस नेता अमरेश सिंहको पनि दाबी छ । जिल्ला र क्षेत्रीय समितिले सिंहको नाम उमेदवारको लागि सिफारिस गरेको थिएन । प्रदेश समितिले भने उनको निवेदनसहित केन्द्रमा पठाएको थियो ।