site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगीलाई मौसमी प्रकोप सम्झँदा अवस्था भयावह

काठमाडौं । डेंगी संक्रमण नियन्त्रण बाहिर गएपछि सरकारले यसलाई प्रकोप घोषणा गर्ने तयारी गरेको छ । तर, सरकारकै निष्क्रियताका कारण डेंगीले प्रकोपको रूप लिएको देखिन्छ ।  

डेंगीको उपचारमा संलग्न विषेशज्ञहरू तथा जनस्वास्थ्यविद् पनि सरकारले डेंगी नियन्त्रणमा पर्याप्त प्रतिकार्य गर्न नसकेको आरोप लगाइरहेका छन् । त्यसो त समयमै नियन्त्रणको कदम नचालेको भन्दै सत्ता पक्षकै सांसद तथा नेताले पनि सरकारको आलोचना गर्दै आएका छन् । 

डेंगी संक्रमितको संख्या १९ हजार बढी, २४ जनाको मृत्यु
असार यता तीव्र रूपमा फैलिइरहेको डेंगी संक्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या २४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ४ गतेसम्म संक्रमितको संख्या १९ हजार २३ र मृतकको संख्या २४ पुगेको हो । 

हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंमा पाँच हजार १३१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा पाँच हजार १०४ र भक्तपुरमा ७१३ गरी उपत्यकामा मात्रै डेंगी संक्रमितको संख्या १० हजार ९४८ पुगेको छ । 

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ८२९ जनामा संक्रमण देखिएको छ भने दाङमा एक हजार १८०, रुपन्देहीमा ६७९, चितवनमा ४५१, धादिङमा ३९९, गुल्मीमा २९२ र कैलालीमा २०२ जनामा संक्रमण पुष्टि भएको छ । अन्य जिल्लामा संक्रमितको संख्या दुईसयभन्दा कम रहेको महाशाखाको तथ्यांक छ । 

काठमाडौंका प्रमुख अस्पतालहरूका इमर्जेन्सीमा एउटै बेडमा दुईदेखि तीन जनासम्म डेंगीका बिरामी राखेर उपचार गराइरहेका छन् । 

देशभरको तथ्यांक संकलन गर्ने हो भने संक्रमितको संख्या तीन गुणासम्म बढ्ने विज्ञहरू बताउँछन् । अहिले देखिएको तथ्यांकले देशभरीका संक्रमितलाई नसमेटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् । 

“डेंगीको तथ्यांक संकलनमा पहिलेदेखि नै समस्या छ, हामीले रेकर्ड पठाउन इवार्स (इमर्जेन्सी वार्निङ एन्ड रिपोर्टिङ सिस्टम)लाई प्रयोग गर्ने गरेका छौँ । तर, यो सिस्टममा देशभरका ११८ वटा अस्पताल मात्रै समावेश छन् । कतिपय निजी अस्पताल र ल्याबमा भएका परीक्षणको रेकर्ड नै आउँदैन,” डा. दाहाल  थप्छन् “त्यसैले अहिले बाहिर देखिएको तथ्यांक नै डेंगी संक्रमितको अन्तिम तथ्यांक हो भन्नसक्ने अवस्था छैन । यद्यपि, हामीले एकीकृत तथ्यांक राख्न सक्दो प्रयास गरिरहेका छौँ ।” 

इवार्स सिस्टममा कतिपय ठूला अस्पतालहरूले पनि रेकर्ड इन्ट्री नगर्ने, समयमा रिपोर्टिङ नगर्नेजस्ता समस्याका कारण पनि एकीकृत तथ्यांक नआएको डा. दाहालको दाबी छ । संक्रमितको पहिचान र संक्रमण प्रभावित क्षेत्रहरूको सही पहिचान नहुँदा डेंगी नियन्त्रणमा चुनौती थपिएको विज्ञहरूको भनाइ छ ।

‘महामारीमा यति निष्क्रिय सरकार अहिलेसम्म देखेको थिइनँ’
डेंगी संक्रमणले प्रकोपको रूप लिइसक्दा समेत सरकारले कुनै प्रतिकार्य नगर्नुले स्वास्थ्य क्षेत्रमा लामो अनुभव बटुलेका विज्ञहरूलाई समेत हतोत्साहित बनाएको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन आफ्नो लामो समयको कार्यानुभवमा महामारीका बेला सरकार यति निष्क्रिय भएको कहिल्यै नदेखेको बताउँछन् । डेंगी संक्रमण नियन्त्रणमा सरकार दुई महिना पछाडि परेको डा. पुनको अनुभवले देखाँउछ । 

अहिलेको अवस्थामा घर, विद्यालय, कार्यालय बजारलगायत भीडभाड हुने क्षेत्रमा लामखुट्टे निर्मूल अभियानमा नै जोड दिनु नियन्त्रणको एकमात्र उपाय बाँकी रहेको उनी बताँउछन् । 

पहिचान, ज्ञान र स्रोतसाधन भएर पनि सरकार संक्रमण नियन्त्रणमा असफल
एकपछि अर्को गर्दै संक्रामक रोगको महामारी बढ्दै गएको नेपालका लागि डेंगी भने नयाँ प्रकोप होइन । सन् २००४ यता बर्सेनि बढ्दै गएको डेंगी संंक्रमणले सन् २०१९ मा आइपुग्दा ६ जनाको ज्यानसमेत लिएको थियो । 

त्यसयता बर्सेनि आउटबे्रक हुँदै आएको छ । डेंगी प्रतिकार्यका लागि सरकारले कुनै तयारी नगरेको जनस्वास्थ्यविद्हरूको आरोप छ । जनस्वास्थ्यविद् डा. शरद वन्त सरकारसँग डेंगीबारे ज्ञान, पर्याप्त स्रोतसाधन र पहिचान क्षमता हुँदाहुँदै पनि लापर्बाही गर्दा डेंगी नियन्त्रण बाहिर गएको धारणा राख्छन् ।

“डेंगी नियन्त्रणमा सरकार र आमनागरिक दुवै पक्षको दायित्व बराबर हुन्छ । तर, नागरिकलाई सजग बनाउने वातावरण बनाउन सरकारले नै नेतृत्व लिनुपर्छ, तर त्यो भएको देखिँदैन,” डा. वन्त भन्छन् । 

अहिलेको अवस्था भनेको सरकारका सबै निकाय डेंगी नियन्त्रणमा केन्द्रित  हुनपर्ने समय रहेको तर स्थानीय तहहरूले समेत डेंगी नियन्त्रणमा जिम्मेवार भूमिका नखेलेको डा. वन्त बताउँछन् । 

डेंगीलाई मौसमी प्रकोप सम्झँदा अवस्था भयावह 
अघिल्ला वर्षहरूका तथ्यांक हेर्दा डेगीं संक्रमण जेठदेखि असोज अन्तिमसम्म फैलिएको देखिन्छ । 

गतवर्ष असोज अन्तिमसम्म देखिएको संक्रमण यसवर्ष कात्तिक अन्तिमसम्म फैलिनेसक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोर्कण दाहाल बताँउछन् । 

अहिले देखिएको डेंगी सक्रमितको संख्या सन् २००४ यताकै उच्च रहेको महाशाखाको तथ्यांकले देखाँउछ । तर, डेंगीलाई वर्षायाममा देखिने मौसमी संक्रमणको रूपमा मात्रै हेरिँदा अवस्था भयावह बन्न पुगेको महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताँउछन् । 

“अहिले मृत्यु भएका संक्रमित बचाउन सकिने अवस्थाका थिए । सरकारले सन् २०१९ को डेंगी महामारीबाट केही सिकेर आउँदा वर्षहरूका लागि रेखाचित्र बनाएको भए संक्रमण नियन्त्रण बाहिर जाने थिएन,” उनको तर्क छ । 

तर, वर्षासँगै आफैँ प्रकोप हराएर जान्छ भन्ने बुझाइले लापर्बाही गर्दा अहिले ठूलो संख्यमा डेंगी फैलिएको र मृत्यु हुनेको संख्या पनि बढेको डा. मरासिनीको विश्लेषण छ । 
 
‘डेंगी नियन्त्रणमा सरकारले सकेजति काम गर्दैछ’
डेंगी संक्रमणबारे सचेतनाका लागि प्रचारप्रसारमा पर्याप्त खर्च गरेको सरकार एक्सनमा भने विरलै उत्रिएको देखिन्छ । 

ललितपुरबाटै डेंगी समुदायस्तरमा फैलिँदासमेत सरकार बेखबर जस्तै बन्यो । अहिले आएर अवस्था नियन्त्रण बाहिर जाँदा पनि सरकारका निकायहरू फिल्डमा उत्रिएर नियन्त्रणमा लागि परेको देखिदैँन । 

तर, डेंगी नियन्त्रणका लागि सरकारको तर्फबाट माथिदेखि तलसम्मै प्रयास भइरहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्वनलान दासको दाबी छ । 

“डेंगी नियन्त्रणमा सरकारको मात्र प्रयासले पुग्दैन । संघ र स्थानीय तह मिलेर एडभोकेसी, सचेतनालगायत कार्यक्रम गरिरहेका छौँ । तर, डेंगी नियन्त्रण मोडालिटी सहज नहुँदा नियन्त्रणमा कठिनाइ भइरहेको छ,” डा. दास भन्छन् ।

सरकारको प्रयासलाई जनसमुदायले साथ दिएको अवस्थामा मात्रै डेंगी नियन्त्रणमा आउने उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ०६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro