काठमाडौं । सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरेको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले बुधबार संयुक्त वक्तव्य जारी गरी राष्ट्रपतिले संविधानको रक्षक र पालकको दायित्व भूलेको ठहर गरेको छ ।
“आज मिति २०७९/०६/०५ गते बसेको सरकारमा सहभागी दलहरुको सयुक्त बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित भई प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति समक्ष पेस भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको ठहर गर्दछ,” सत्ता गठबन्धनले भनेको विज्ञप्तिमा भनेको छ, “राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको छ ।”