site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘वसन्ते’ र ‘बांगे’ ले आफ्नो चलचित्र अस्करमा छनोट भएको थाहा पाए होला ?

काठमाडौं । सोमबार दिउँसो ‘ऐना झ्यालको पुतली’को फेसबुक म्यासेन्जर गु्रपमा एउटा म्यासेज अपडेट भयो । म्यासेज थियो, बधाईको । र, त्यो बधाई थियो– चलचित्र ‘ऐना झ्यालको पुतली’ अस्कर अवार्डमा सिफारिस भएको अवसरको । 

म्यासेन्जरमा विद्या (कञ्चन चिमौरिया)लाई पनि बधाई दिइएको थियो । बधाई देखेर कञ्चनलाई खुसी लाग्यो । कताकती कञ्चनले अस्कर अवार्ड सुनेकी थिइन् । त्यसमा आफू अभिनीत चलचित्र जाँदा खुसी नहुनुपर्ने कारण पनि के नै थियो र ? थिएन । 

“मलाई त सुरुमा प्रकाश, राधा र हाम्रो गरी तीनवटा चलचित्र अस्करका लागि छनोट भए भन्ने लागेको थियो । तर, त्यसबाट पनि एउटा छनोट हुने रहेछ । बधाई म्यासेज आएपछि पो थाहा पाएँ,” बालसुलभ कञ्चन जवाफ दिन्छिन् । अस्करका लागि ‘ऐना झ्यालको पुतली’सँगै ‘प्रकाश’ र ‘राधा’ले पनि आवेदन दिएका थिए । 

कञ्चनले अभिनय गरेको पहिलो चलचित्र नै अस्कारका लागि सिफारिस भयो । उनलाई बधाई दिनेको ओइरो छ । बधाईसँगै कञ्चनलाई सुझाव पनि आउँछन् । ‘तिम्रो पहिलो चलचित्र नै सफल भयो । अब यसमै करिअर खोज्दा पनि हुन्छ । हिरोइन बन, राम्रो हुन्छ ।’ 

सुझाव ठिकै हो, अरुले दर्जनौँ चलचित्रमा काम गर्दा नपाएको सफलता उनले पहिलो चलचित्रबाटै पाइन् । 

त्यसो त आफन्तबाट मात्रै होइन सुझाव आफ्नै घरपरिवाबाट पनि आउँछ । तर, घरबाट उनलाई सिनेमाभन्दा पनि अरू नै पेसा उपयुक्त हुन्छ कि भनेर सुझाव आइरहेको कञ्चन सुनाउँछिन् । यो सुझावलाई उनले बाधक भने मानेकी छैनन् । 

प्लस टू सकेर बसेकी उनी एकैसाथ अष्ट्रेलिया जाने र नर्सिङको तयारी गरिरहेकी छन् । “फरेन स्टडीका लागि मिल्यो भने उतै जान्छु होला, मिलेन भने नर्सिङ पढ्छु,” कञ्चनलाई न कसैलाई ढाँट्नु छ, न त कसैलाई झुक्याउनु नै । त्यसैले जे तयारी हो, त्यही भनिन् । 
 
‘ऐना झ्यालको पुतली’की विद्याको अभिनय धेरैले मन पराए । सिनेमा हेर्ने दर्शकले । समीक्षा गर्ने समीक्षकले । र, सिनेमा बनाउने मेकरले पनि । त्यसैले त उनलाई सिनेमाका एक निर्माताले आफ्नो चलचित्रका लागि अभिनेत्रीमा अफर गरे । ‘मेरो सिनेमामा अभिनय गर्ने हो ?’ उनले जवाफ दिइन्– ‘मलाई थाहा छैन ।’

“खोइ, को हो म चिन्दिनँ । उहाँले मलाई मेरो चलचित्रमा खेल्ने हो भनेर सोध्नु भयो । मैले खोइ मलाई थाहा छैन, मेरो सरहरूलाई नै सोध्नु भनेर भनेँ,” कञ्चनले सुनाइन् । 

अस्कर अवार्ड भनेको के हो ? सोध्यो भने उनी भन्छिन्, चलचित्रको ठूलो अवार्ड हो, जहाँ विश्वभरका राम्रा चलचित्रबीच प्रतिस्पर्धा हुन्छ । उनले बुझेको अस्कार अवार्ड यत्ति हो । कञ्चनले यसबारे बुझ्नै बाँकी छ । 

समयले उनलाई नेपालले हालसम्म अस्कार अवार्ड जितेको छैन भन्ने पनि बिस्तारै थाहा दिँदै जानेछ । त्यसैले त हो कञ्चनसहित यो चलचित्रमा अभिनय गर्ने बाल कलाकारको प्रशंशा भएको । आफूले काम गरेको क्षेत्रबारे धेरै बुझ्न बाँकी छँदै उनीहरूले कति लोभलाग्दो काम गरे । 

कञ्चन त काठमाडौंमै थिइन् । उनले आफ्नो सफलताको समाचार सुनिन् । वसन्त (दिनेश खत्री) र बांगे (उमेश श्रेष्ठ)ले यो खबर सुन्न पाए कि पाएनन् होला ? 

केही समयअघि चलचित्र प्रोमोसनका लागि ‘कमेडी क्लब विथ च्याम्पियन’ पुगेका उमेश भन्दै थिए, ‘मैले साथीहरूलाई चलचित्र खेलेको भनेको थिइनँ । त्यसैले थाहा पाएपछि साथीहरूले तैँले त फिल्म पनि खेलेको रछस् हामीलाई भनिनस् भन्थे । ट्रेलर आएपछि अब तँ सेलिब्रेटी रछस् भने ।” 

उमेशले चलचित्र मात्रै खेलेनन्, उनको कामको मूल्यांकन पनि भयो । चलचित्र अस्करमा पुग्यो । उनलाई अहिले साथीहरूले के भनिरहेका छन् होला ? “उनीहरूको अहिले एक्जाम चलिरहेको छ । त्यसैले हामीले उनीहरूलाई घर पठायौँ,” निर्देशक सुजित विडारी भन्छन्, “पढाइ बिग्रिएला भनेर उनीहरूलाई फेसबुक र मोबाइलसमेत नचलाउन भनेका छौँ ।”  

दिनेशलाई साथीहरू भन्थे, ‘चलचित्र खेलिछस्, अब त हामीसँग बोल्दैनस् होला ।’ “तर, म चलचित्र रिलिज भएर गाउँ गएपछि पनि साथीहरूसँग बोल्छु,” उनको यो जवाफ कति निश्चल छ, पढ्ने जो कोहीले सहजै बुझ्न सक्छन् । 
 
उमेर सानै छ, ओस्करको महत्त्व उनले बुझ्ने बेला भएको छैन । त्यसैले उनले ओस्कारको फूर्ति त साथीसंगीसँग लगाउन सकिरहेका छैनन् होला । तर, पक्कै बुझ्नेहरूले बधाई त दिइरहेकै होलान् ।

गाउँमा मौकाले चलचित्रको युनिट पुग्यो । भाग्यले साथ दियो । उनीहरूले खेल्न पाए । ठूल्ठूला क्यामेरा, एक्सन अनि कट । कहिल्यै नदेखेको नसुनेको काम । खेल्न चाहिँ कठिन भयो । तर, सिनेमा नचल्दै साथीहरूले सेलिब्रिटी भन्दिए । उनीहरूलाई रमाइलो लाग्यो । 

सिनेमा चलेपछि सबैले कस्तो राम्रो भन्दिए, खुसी हुने नै भए । सिनेमा रिलिजको दुई साता अगाडि काठमाडौं आएका उनीहरू भन्दै थिए, “पहिला सोच्दै नसोची खेल्न पाइयो । अब कसैले खेल्न दियो भने खेल्ने हो, हिरो हुने रहर छ ।”

सुजितले ट्रयाक खोलिदिए । अब त्यसलाई फराकिलो बनाउने वा अर्कै बाटो हिँड्ने त्यो उनीहरूकै काँधमा छ । उमेर, अवसर र चाहले यही क्षेत्रमा डोरिने अथवा अर्कै बाटो हिँड्ने तय गर्ने नै छ । 

निर्देशक सुजितले सिनेमाको कथा आफैँ लेखे । आफैँ निर्देशन गरे । चलचित्र निर्माणका साझेदार पनि हुन् उनी । नन्एक्टर लिए । दुःखले चलचित्र बन्यो । प्री र छायांकनमा मात्रै होइन पोष्टमा दुःखले चलचित्र सके । सिनेमा जब उनले सिनेमा बुझ्नेहरूलाई देखाए, तारिफको ओइरो लाग्यो । बनाउँदाको दुःख भाग्यो । तर, डर भागेन । 

डर ? 

हो । 

कस्तो डर ? 

सबै राम्रा सिनेमा कहाँ चलेका छन् र ?

छैनन् । त्यसैले उनलाई डर थियो । त्यसमा पनि क्रिएटिभ चलचित्र हेर्न दर्शक हलसम्म आउँछन् भन्ने भर थिएन । कारण विगत त्यस्तै थियो । डरले घर किन त्यसै गथ्र्यो र । नभन्दै रिलिजको अघिल्लो दिन अबेर साँझसम्म देशकै ठूलो मल्टिप्लेक्स चेनमा शो उपलब्ध भएन । 

किन ?

कारण के हो खोजी गर्न माग गर्दै सुजित स्वयं पत्रकार सम्मेलन गर्न बाध्य भए । जसै सिनेमा रिलिज भयो । हेर्ने दर्शकले भने, राम्रो चलचित्र । सिनेमा बुझ्नेहरूले अझ एक कदम अगाडि बढेर भने– दशककै राम्रो चलचित्र । 

कसरी बन्दो रहेछ राम्रो चलचित्र ? 

ठोस जवाफ त स्वयं सुजितसँग पनि छैन । तर, उनी भन्छन्, सायद मिहिनेत कै कारण हो । यद्यपि, अरू चलचित्रले मिहिनेत नै गरेनन् भनेर उनी भन्दैनन् । सायद जहाँ विशेष मिहिनेतको खाँचो हुन्छ त्यहाँ ध्यान पुगेन कि ! उनले भने । 

प्राविधिक पक्षमा झल्याकझिलिक बनाउन केन्द्रित हुँदा सिनेमाको मुख्य पाटो कथामा नेपाली सिनेमाले मार खाइरहेको कसैबाट छिपेको छैन । यसैतर्फ सुजित संकेत गर्छन् । 
 
‘ऐना झ्यालको पुतली’ अस्करको ९५ औँ संस्करणका लागि सिफारिस भयो । सुजितलाई अपेक्षा थियो ? थिएन । 

“मैले त्यसरी कहिल्यै सोचिनँ । र, सोच्ने कुरा पनि थिएन । मात्रै जसरी हुन्छ दर्शकले मन पराउने सिनेमा बन्नु पर्छ र बनाउनु पर्छ भन्ने कुराले भने लपेटिरहन्थ्यो,” सुजित स्मरण गर्छन् ।

सिनेमा रिलिज भयो । आफैँले आइडल मानेका मेकरले दशक/दुई दशककै उत्कृष्ट सिनेमा भन्दा उनी त्यसमै सन्तुष्ट थिए । 

अस्करमा उनको चलचित्र सिफारिस भयो । अब त्यहाँका जुरीमा आफ्नो चलचित्र नोटिस गराउनु उनका लागि फलामको चिउरा चपाउनु सरह हुनेछ । 

नेपालमात्रै होइन दक्षिण एसियाकै चलचित्रलाई अस्करका जुरीले धेरै महत्त्व दिँदैनन् । यसका लागि एउटा मेकरको पहुँच र प्रभावले उति धेरै असर गर्दैन । त्यसैले त अस्करमा सिफारिस भएपछि सम्बन्धित देशको सरकारले त्यो सिनेमालाई सकेको सहयोग गर्छ । 

हाम्रो सरकारले ? 

जगजाहेर छ । यहाँ अहिले चलचित्र क्षेत्र केको आरोप–प्रत्यारोपमा छ । आँखा अगाडि सबैले देखिरहेको तथ्य हछ । “चलचित्र र चलचित्रकर्मीको अस्त्विलाई नै स्वीकार गर्न नसकेको अवस्थामा यो अपेक्षा राख्नु नै बेकार हुँदैन र ?” अस्करमा चलचित्र सिफारिस भएका निर्देशक सुजित प्रतिप्रश्न गर्छन् ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro