site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा 'कांग्रेसले नेतृत्व गरेका' मन्त्रालयको बजेट सिलिङ घट्यो, चुलिँदै छ असन्तुष्टि !

विराटनगर । कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसले नेतृत्व गरेका मन्त्रालयहरूको बजेट सिलिङ घटेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा समावेश हुने योजना तथा कार्यक्रमको तयारी गरिरहेको छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट सीमा र मागर्दशन सम्बन्धमा मन्त्रालय तथा मातहत निकायलाई पत्राचार गर्दै ‘बजेट सिलिङ’ तोकिसकेको छ । अर्थले आगामी आर्थिक वर्ष सञ्चालन गरिने कार्यक्रम र सोका लागि आवश्यक पर्ने रकम मन्त्रालयगत बजेट सूचना प्रणालीमा पठाएर बजेट सीमा (सिलिङ) उपलब्ध गराउन भनेको छ । यही वैशाख २२ गतेभित्र प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट गरिसक्न अर्थले मन्त्रालयहरूलाई सूचित गरेको हो ।

अर्थको पत्रानुसार, नेपाली कांग्रेसले नेतृत्व गरेका मन्त्रालयहरूको बजेट घटाएर पठाएको पाइएपछि सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले असन्तुष्टि जनाएका छन् ।

कोसीमा नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार छ । सरकारको नेतृत्व एमालेका हिक्मत कार्कीले गरिरहेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री एमालेकै रामबहादुर मगर छन् । प्रदेशका नौमध्ये चारवटा मन्त्रालय कांग्रेसको भागमा छन् । कोसी प्रदेशमा भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग, कृषि तथा सहकारी र पर्यटन वन तथा वातावरण मन्त्रालयमा कांग्रेसका मन्त्री छन् ।

सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट आगामी आर्थिक वर्ष दुई अर्ब घट्ने भएको छ । अर्थले पठाएको पत्रानुसार, चालु आर्थिक वर्षको तुलनामा दुई अर्ब घटाएर योजना तथा कार्यक्रम छनोट गर्न भनिएको छ । चालु आवमा भौतिकको बजेट १० अर्ब ३९ करोड ५१ लाख ६५ हजार रुपैयाँ छ । पुँजीगततर्फ नौ अर्ब ९३ करोड ६१ लाख २७ र चालुतर्फ ४५ करोड ९० लाख ३८ विनियोजित छ ।

भौतिक पूर्वाधारमन्त्री भुपेन्द्र राईले सिलिङ घटेर आएको बताउँदै भने, “यस विषयमा छलफल गरिरहेका छौँ । नीति तथा कार्यक्रम पछि तय हुने र सभामा पेस हुनुअगावै बजेटमा पुनर्विचार हुन सक्छ ।”

उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सिलिङ आगामी वर्षका लागि २२ करोड रुपैयाँ घटेको छ । यस मन्त्रालयको चालु आवको बजेट दुई अर्ब १० करोड २४ लाख नौहजार विनियोजित छ ।

अर्थद्वारा दिइएको सीमाभित्र योजना तथा कार्यक्रम पठाउन भनेको बताउँदै कृषि मन्त्री खगेनसिं हाङगमाले भने, “सरकार सञ्चालनमा कांग्रेस र एमालेको उच्चस्तरीय संयन्त्र पनि छ । घटाइएको बजेटको विषयमा त्यहाँ पनि कुरा राख्छौँ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा समेत यस विषयमा गम्भीर कुरा उठेको छ । दलबाट समेत कुरा राखिने छ ।”

न्यूनतम साझा कार्यक्रम तयार गर्दा दुई दलबीच छलफल हुने भएकाले कांग्रेसले नेतृत्व गरेका मन्त्रालयमा सिलिङ घटाइएको विषयमा छलफल गर्ने मन्त्री हाङगामले बताए ।

कांग्रेसले नै नेतृत्व गरिरहेको पर्यटन वन तथा वातावरण मन्त्रालयको समेत सिलिङ घटेपछि यसबारे मुख्यमन्त्री र आर्थिक मामिलामन्त्रीसँग समेत छलफल गर्ने पर्यटनमन्त्री सदानन्द मण्डले बताएका छन् । चालु आवमा पर्यटन मन्त्रालयको विनियोजित बजेट दुई अर्ब ३८ करोड २१ लाख ९० हजार ४०० रुपैयाँ छ ।

“मैले नेतृत्व गरेको मन्त्रालयको १४ करोड बजेट घटाइएको छ । म पर्यटन वर्षको कार्यक्रममा प्रदेश राजधानीबाहिर रहेकाले थप अध्ययन गर्न बाँकी छ । विराटनगर फर्किएपछि मुख्यमन्त्रीसँग यस विषयमा कुराकानी गर्छु ।”

यता, स्वास्थ्य मन्त्रालयको बजेट आगामी आर्थिक वर्षका लागि बढेर आउने भएको छ । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मन्त्री भुपेन्द्र राईका अनुसार, स्वास्थ्यमा ६० करोड रुपैयाँ थप भएर आएको सिलिङ आएको छ ।

मन्त्री राई भन्छन्, “एउटा मन्त्रालयमा भने बजेट बढेर आएको छ । कांग्रेसले नेतृत्व गरेका मन्त्रालयको मात्र सिलिङ घटाइएको हो भने त्यसलाई सुधार गरेर जानुपर्छ । ” चालु आवमा स्वास्थ्यको बजेट तीन अर्ब ४६ करोड ३४ लाख ९२ हजार छ ।”

कोसी सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । चालुतर्फ १८ अर्ब ७२ करोड ४९ लाख ११ हजार ४००, पुँजीगततर्फ १६ अर्ब ५३ करोड, ४३ लाख ८८ हजार ६०० र वित्तीयतर्फ दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चैत १६ गतेसम्म बजेट खर्च १३ अर्ब १३ करोड ६५ लाख रुपैयाँ छ ।

सरकारको कार्यशैलीप्रति चुलिँदै छ असन्तुष्टि
यसैबीच, सरकार सञ्चालनको प्रक्रिया र उसका गतिविधिबारे नेपाली कांग्रेस कोसी संसदीय दलमा समेत छलफल भएको छ । मंगलबार प्रदेशसभा सचिवालयका बसेको दलको बैठकमा पदाधिकारी तथा कांग्रेस सांसदले सरकारका गतिविधिमा कांग्रेसका सांसदहरूलाई सहभागी नगराइएको विषयमा प्रश्न उठाएका थिए ।

संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार, सरकारका कार्यक्रममा आफूहरूलाई औपचारिक जानकारी नदिइने गरेको भन्दै सांसदहरूले रोष प्रकट गरेका थिए ।

“सरकार सञ्चालनमा सहयोग गर्न हाम्रो दलका नेतासमेत रहेको उच्चस्तरीय राजनीतिक सयन्त्रसमेत छ । तर, सांसदहरू नै सरकारका गतिविधिबारे अनभिज्ञ हुनुहुन्छ,” तामाङले भने, “यसबारे समेत सांसदहरूले ध्यानाकर्षण गराउनुभएको छ ।”

दुई दलको दुईतिहाइ सरकार हुँदासमेत सरकारका निर्णय कार्यान्वयनमा ढिलासुस्ती हुने गरेको प्रति बैठकका सहभागी सांसदले कुरा राखेको तामाङले बताए ।

तेह्रथुममा भएको पर्यटन वर्ष उद्घाटन कार्यक्रममा कांग्रेसको सहभागिता र शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा उदासीनता देखाइएको भन्दै कांग्रेस सांसदले असन्तुष्टि जनाएका थिए ।

कांग्रेसले सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न प्रमुख सचेतक तामाङको संयोजकत्वमा एउटा समिति गठन गरेको छ । यसमा पूर्वमन्त्रीद्वय शम्शेर राई र प्रदीप सुनुवार, सांसद शोभा चेम्जोङ र योजना आयोगका सदस्य नारायण कोइराला सदस्य छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro