काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताएका छन् ।
आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने बताए । उनले संसद्को कार्यकाल सकिएको नभएर सांसदहरुको मात्रै कार्यकाल सकिएको भन्दै प्रधानन्यायाधीशको महाअभियोगको सम्बन्धमा आगामी संसद्ले प्रष्ट पार्ने बताए ।
“सांसदहरुको कार्यकाल सकिएको छ । तर, कार्यकाल सकिनुभन्दा पहिला नै यति धेरै प्रक्रिया अगाडि बढिसक्यो कि उहाँसँग बयान लिइयो । त्यसपछि प्रतिवेदन बन्यो,” उनल भने, “प्रतिवेदन बनाएर फुल हाउस समक्ष पेस गरेको छ । अब त्यो आगामी संसद्ले त्यसलाई प्रष्ट गर्नेछ ।”
घिमिरेले महाअभियोग सिफारिस समितिले संसद्लाई प्रतिवेदनसमेत पेस गरिसकेको अवस्थामा प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि नै मजाक गरेको बताए ।
“मलाई के लाग्दछ भने अब फेरि उहाँ फर्केर आउने भन्ने कुरा रहँदैन । यो केवल अदालतमाथि मजाक भइराखेको छ । सांसदहरुको कार्यकाल सकिएको हो,” उनले भने, “संसद् सकिएको होइन । संसद् सकियो भन्ने तर्क गरिँदैछ, त्यो गलत हो । संसद् अविच्छिन्न उत्तराधिकारवाला संस्था हो । त्यसैले गर्दा संसद् सकिँदैन ।”
घिमिरेले बारले हालसम्म कुनै विरोधको कार्यक्रम तय नगरेको स्पष्ट पारे । प्रधानन्यायाधीश जबरा सर्वोच्च आउन खोजेमा भने विरोधको कार्यक्रम हुने उनको भनाइ छ ।