महेन्द्रनगर । कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुंगे पुल बगाएको छ । बाढीले शुक्लाफाँटा नगरपालिका–१२ स्थित बनहरा नदीमाथिको झोलुंगे पुल बगाएको हो । सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो ।
तीन वर्षअघि उक्त नदीमा झोलुंगे पुल निर्माण गरिएको हो । बाढीले पुल बगाएपछि स्थानीयलाई आवतजावत गर्न गाह्रो भएको छ । नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको स्थानीय लक्ष्मण चौधरीले जानकारी दिए ।
बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ । बाढीले नदी किनारका बस्तीमा क्षति पुर्याएको छ । शुक्लाफाँटा–१२ मा बाढीले गाईवस्तु समेत बगाएको छ ।
नदी किनारका बस्ती डुबानमा परेका छन् । बाढीका कारण कृष्णपुर, लालझाडी, बेलौरीलगायत क्षेत्रका बस्ती डुबानमा परेका छन् । रासस