पोखरा । प्रतिनिधिसभाको गत निर्वाचनलाई हेर्ने हो भने प्रत्यक्षतर्फका १८ मध्ये एक सिटमा चुनाव जितेर तत्कालीन कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले गण्डकी प्रदेशमा कांग्रेसको साख जोगाइदिएका थिए । एमाले र माओवादी केन्द्रको तालमेलपछि तत्कालीन धौलागिरि र गण्डकी अञ्चलमा कांग्रेस निल नै भयो ।
शासकीय संरचना फेर्ने प्रदेशको नाम र सीमांकन हुँदा लुम्बिनी अञ्चलमा रहेको नवलपरासी जिल्ला टुक्रियो । बर्दघाट सुस्तापूर्व र पश्चिमको नाममा जिल्ला टुक्रिएपछि पूर्वी जिल्ला गण्डकीमा समेटियो ।
प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको यही जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट उनै सशांकले चुनाव जितेर प्रदेशमा कांग्रेसको इज्जत राखिदिएका थिए ।
अघिल्लो निर्वाचनमा वाम तालमेलकै कारण प्रत्यक्षमा १३ प्रतिशतमा खुम्चिएको कांग्रेस अहिले गठबन्धनको सहारामा पहिलो पार्टी बन्ने प्रयासमा छ ।
आउँदो संसदीय निर्वाचनमा गठबन्धनका पाँच दल मिलेर चुनावमा जाँदै छन् । अहिले गठबन्धनमा सिट र निर्वाचन क्षेत्र बाँडफाँटको काम भइरहेको छ ।
औपचारिक घोषणा नभएपनि हालसम्म कार्यदलका सदस्यहरूले खुलासा गरेको सिट बाँडफाँट हेर्दा गण्डकीका दुई जिल्लामा कांग्रेसका उमेदवार नै हुने छैनन् । गण्डकीमा प्रतिनिधिसभाका १८ वटा निर्वाचन क्षेत्र छन् । तीमध्ये तीनवटा निर्वाचन क्षेत्र कास्कीमा मात्रै छ भने दुईवटा निर्वाचन क्षेत्रका भएका जिल्लामा तनहुँ, स्याङजा, गोरखा, नवलपुर र बागलुङ हुन् । बाँकी लमजुङ, मनाङ, म्याग्दी, मुस्ताङ र पर्वतमा एक एक निर्वाचन क्षेत्र छन् ।
कास्कीको तीनवटै क्षेत्रमा कांग्रेसको दाबी छ । क्षेत्र नम्बर १ कांग्रेसले पाउने पक्काजस्तै भएको छ भने २ मा एकीकृत समाजवादी र ३ मा माओवादी केन्द्रको पनि दाबी छ । कार्यदलका एक सदस्यका अनुसार कास्कीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक क्षेत्र लिने सम्भावना बढी छ ।
कार्यदलले टुंग्याएको भनिएको सिट बाँडफाँट अनुसार ११ मध्ये २ जिल्लामा कांग्रेसका उमेदवार नै हुने छैनन् भने उसले गण्डकीमा १० सिट पाउने निश्चित देखिएको छ । दुई सिट भने कसले लिने भन्ने टुंगो लागिसकेको छैन ।
साविक धौलागिरि क्षेत्रमा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको बागलुङमा गठबन्धनका सहायक दलका हेभिवेट उमेदवारका कारण कांग्रेस निल बन्ने अवस्था आएको हो ।
बागलुङबाट माओवादीको केन्द्रीय राजनीतिमा प्रभाव राख्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल छन् । माओवादीका सचिव रहेका पौडेलको क्षेत्र बागलुङ २ हो । यस क्षेत्रबाट उनले अघिल्लो निर्वाचनमा वाम गठबन्धनको सहयोगमा कांग्रेसका उमेदवार नरबहादुर पुनलाई भन्डै ९ हजार मतान्तरले हराएका थिए ।
अहिले उनै पौडेललाई कांग्रेसले भोट हाल्नुपर्ने छ भने प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिनबाटै पनि वञ्चित हुनुपर्ने अवस्था छ ।
गठबन्धनबाट यहाँको अर्को क्षेत्र राष्ट्रिय जनमोर्चाले पाउने छ । जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले पनि प्रत्यक्षमा निर्वाचन लड्ने इच्छा जाहेर गरेका छन् । उनी बागलुङ १ बाट उमेदवार बन्दा २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फका तीनवटै सिट जितेको कांग्रेस भने उमेदवारविहीन बन्नेछ ।
माओवादीलाई सघाउँदा कांग्रेस निल बन्ने अर्को जिल्ला हो, लमजुङ । यहाँबाट अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उमेदवार देव गुरुङ विजयी भएका थिए । उनले कांग्रेसका दिलबहादुर घर्तीलाई हराएका थिए ।
गुरुङ अहिले माओवादी केन्द्रका महासचिव हुन् । उनलाई अहिले अघिल्लो चुनाव हारेका उनै घर्तीसहितको कांग्रेसले साझा उमेदवार बनाउने सम्भावना छ ।
अघिल्लो निर्वाचनमा माओवादीले प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी नदिएका जिल्ला कांग्रेसको भागमा परेका छन् । तनहुँ र स्याङ्जाको (१ र २) दुवै क्षेत्र कांग्रेसले पाउने छ भने मुस्ताङ, मनाङ, म्याग्दी र पर्वत कांग्रेसले लिने छ ।
प्रदेश राजधानी कास्कीको बाँडफाँट पनि करिब टुंगो लागिसकेको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको यहाँका तीनवटा क्षेत्र कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले पाउने सम्भावना छ । कास्की १ मा कांग्रेसको निश्चितजस्तै भएपनि अन्य दुई क्षेत्रमा भने बाँकी दलसहित कांग्रेसले पनि दाबी गरिरहेको छ ।
गोरखाको दुवै क्षेत्रमा माओवादीको दाबी छ । तर कांग्रेस भने एउटा क्षेत्र आफूले पाउनुपर्ने अडानमा छ । नवलपरासी पूर्व १ मा कांग्रेसको मात्र दाबी छ भने २ मा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्र गरी तीन दलको दाबी छ ।
अघिल्लो निर्वाचनमा गण्डकीमा कांग्रेसले प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको थियो । नवलपुर १ बाट कांग्रेसका तत्कालीन महामन्त्री डा. सशांक कोइरालालले मात्रै चुनाव जितेका थिए । एमालेले साविक धौलागिरिका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङसहित कास्कीका तीनवटै क्षेत्र, नवलपुर २, मनाङ, तनहुँ, स्याङ्जाका गरी १४ वटा क्षेत्रमा प्रत्यक्ष जितेको थियो ।
तनहुँमा एमालेबाट निर्वाचित भएका किसानकुमार श्रेष्ठ अहिले एकीकृत समाजवादीमा लागेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका श्रेष्ठ यसपटक भने बाराबाट चुनाव लड्ने भएका छन् । अघिल्लो निर्वाचनमा उनले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका थिए ।
माओवादीले चाहिँ लमजुङमा चुनाव जितेको थियो भने गोरखा २ मा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले जितेका थिए । गोरखाकै अर्को क्षेत्र माओवादीका हरिराज अधिकारीले चुनाव जितेका थिए ।
एक्लै भिड्दा एमाले नै बलियो
०७४ को स्थानीय तहको चुनावमा कांग्रेस पहिलो स्थानमा आएको थियो । तर, अहिलेको चुनाव हेर्दा कांग्रेसका लागि सहज छैन । गोरखा र नवलपुरमा अघिल्लोपटक जितेका धेरै क्षेत्र कांग्रेसले यसपटक गुमाएको छ ।
एमालेमा विभाजनका बाबजुद गण्डकीमा एमालेले यसपटकको स्थानीय तहमा अघिल्लोपटक भन्दा बढी पालिका जित्न सफल भयो । गठबन्धन नभई एकल चुनाव लडेमा स्थानीय तहलाई आधार मान्दा एमाले नै बलियो देखिन्छ ।
स्थानीय तहको नतिजाअनुसार एमाले ११, कांग्रेस ६ र माओवादी एक स्थानमा अगाडि छ । एमाले कास्की २, कास्की ३, तनहुँ २, पर्वत, नवलपुर २, बागलुङ १ र २, मनाङ, मुस्ताङ, म्याग्दी र लमजुङमा अघि छ । कांग्रेस कास्की १, गोरखा १, तनहुँ १, नवलपुर १, स्याङजा १ र २ मा अगाडि छ । माओवादी गोरखा २ मा अघि छ ।
मुस्ताङ, मनाङ, स्याङ्जा १, कास्की ३ र तनहुँ २ मा एमाले कांग्रेसभन्दा हजारभन्दा कम मतले अगाडि छ । मनाङ, मुस्ताङ, पर्वत र नवलपुर २ मा एमालेको मत धेरै छ । गोरखाका २ क्षेत्रमा एमाले तेस्रो स्थानमा छ । एउटा क्षेत्रमा कांग्रेस र दोस्रो क्षेत्रमा माओवादी अगाडि छ ।
गण्डकीका प्रतिनिधिसभाका १८ निर्वाचन क्षेत्रमा दलगत मत (गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा ) :
- कास्की १– कांग्रेस ३३८३७, एमाले ३०१९६, माओवादी ३२७८, राप्रपा १८१८
- कास्की २– एमाले २११६४, कांग्रेस १९००८, राप्रपा २०७९, एस २०५३, माओवादी ११९८, जसपा १५३
- कास्की ३– एमाले २९८०५, कांग्रेस २८८४६, माओवादी २४००, राप्रपा १०६५, एस ५०१
- गोरखा १– कांग्रेस २७०८४, माओवादी २५४७२, एमाले १४५६६, जसपा २७५४, राप्रपा २२७, एस ७०
- गोरखा २– माओवादी २२२५०, कांग्रेस २११३६, एमाले ७९२६, जसपा ७५०४, राप्रपा ८७८
- तनहुँ १– कांग्रेस ३३१०६, एमाले २२२१०, माओवादी ८४७४, राप्रपा १७७५, एस ८९२, जसपा ५४
- तनहुँ २– एमाले ३०९६२, कांग्रेस ३०६०६, माओवादी ६८३६, एस १२५२, राप्रपा ९५५
- पर्वत– एमाले ३५७१६, कांग्रेस २९३४४, माओवादी ५३६१, एस ५४६, राप्रपा ४९३
- नवलपुर १– कांग्रेस ४०५११, एमाले ३९९५१, राप्रपा २३७३, माओवादी १९२१, जसपा १८८
- नवलपुर २– एमाले ४१७९८, कांग्रेस ३८६१९, राप्रपा २३५५, माओवादी १७४२, जसपा ३०३, एस २१४
- बागलुङ १– एमाले २१९७८, कांग्रेस १९५१३, राजमो ६०६७, माओवादी २५२९, एस २४५१
- बागलुङ २– एमाले १९०३०, कांग्रेस १७७५१, माओवादी ९७५१, राजमो ६६७८, एस ३८८
- मनाङ– एमाले १२५८, कांग्रेस १२२०
- मुस्ताङ– एमाले ३१२८, कांग्रेस २७४२, राप्रपा १८
- म्याग्दी– एमाले २३२१०, कांग्रेस २००३८, माओवादी ८५९३, राप्रपा २१७
- लमजुङ– एमाले ४०१९७, कांग्रेस ३५२७६, माओवादी ६१२७, राप्रपा ११८४, जसपा १९०
- स्याङ्जा १– कांग्रेस ३७५१०, एमाले ३६८४५, माओवादी १९८४, राप्रपा १००२
- स्याङ्जा २– कांग्रेस ३६८०६, एमाले ३४८०९, माओवादी १२४३, राप्रपा ५११, एस २३३