काठमाडौं । बलिउड फर्मुलाभन्दा बाहिर रहेर बनाइएका सिनेमा नेपालमा किन अपेक्षित रूपमा चल्दैनन् ? प्रदर्शक (सिनेमा हल सञ्चालक)लाई सोधे ‘राम्रो नभएर’ भन्ने जवाफ आउँछ । सिनेमा निर्देशक र निर्माताको जवाफ भने अर्कै आउँछ । उनीहरू क्रिएटिभ सिनेमा नचल्नुको कारण प्रदर्शक पनि भएको ठहर गर्छन् । पर्याप्त शो उपयुक्त समयमा नदिनु पनि यस्ता सिनेमा सोचेअनुसार नचल्नुको कारण रहेको मेकरहरू बताउँछन् ।
‘चिसो मान्छे’यता ‘ऐना झ्यालको पुतली’सम्म आइपुग्दा ६ वटा क्रिएटिभ सिनेमा रिलिज भए । तर, यी सबै चलचित्रले उल्लेखनीय व्यापार गर्न सकेनन् । राम्रो हाइप बनाएका चलचित्र पनि चलेनन् । चलचित्र हेर्ने दर्शकले सिनेमा राम्रो भन्ने, समीक्षकबाट पनि राम्रो समीक्षा आउने तर हल किन खाली हुन्छन् ?
निर्देशक नवीन सुब्बा दर्शकको रुचि नै क्रिएटिभ सिनेमामा नरहेको बताउँछन् । सिनेमा आफैँमा समस्या हुनु र समस्या नरहेका राम्रा चलचित्रमा पनि दर्शक नआउनुको कारण भने क्रिएटिभ सिनेमामा रुचि नै नहुनु रहेको नीवनको ठहर छ ।
“हामीले अहिले क्रिएटिभ भनिएका मध्ये केही सिनेमा मैले पनि हेरेँ । केही सिनेमामा एउटा मात्रै होइन, मल्टिपल लेयरमा समस्या छन् । मुख्य त स्क्रिप्टमा नै समस्या छ । बाँकी क्यामेरा वर्क, अभिनय र ट्रिटमेन्टमा पनि समस्या छ,” नवीन भन्छन्, “क्रिएटिभ होस् वा कमर्सियल पहिला त सिनेमा दर्शकलाई इंगेज गराउने नै हुनुपर्छ, यसमा पनि सिनेमा चुकेको यथार्थलाई लुकाउनु हुँदैन ।”
तर, राम्रो बनेका केही सिनेमामा पनि दर्शक नआउनु भनेको रुचिमा नै समस्या रहेको उनको निष्कर्ष छ । रुचिमा परिवर्तन रातारात नहुने भन्दै उनी यसका लागि लामो चरण पार गर्नुपर्ने बताउँछन् ।
निर्देशक निश्चल बस्नेत पब्लिसिटी पहिलो र इन्फ्ल्युएन्सरहरूको गलत सूचना क्रिएटिभ सिनेमा नचल्नुको दोस्रो कारण भएको बताउँछन् । राम्रो सिनेमा बने पनि आम पब्लिकसामु त्यो चलचित्रबारे जानकारी नभएको अवस्थामा हलसम्म दर्शक नआउने उनी बताउँछन् । ठूलो समुदायमा चलचित्रबारे जानकारी पुगेको अवस्थामा त्यही समुदायबाट केही दर्शक आउने भन्दै पब्लिसिटी नै नभए हल आउने दर्शक रोकिने उनको धारणा छ । पछिल्लो समय सामाजिक सञ्जालबाट हुने पब्लिसिटीको ‘रिच’ पनि न्यून रहेको उनी बताउँछन् ।
“इन्फ्लुएन्सर पनि अर्को कारण हो । सामान्य चलचित्रलाई पनि उनीहरू विभिन्न कारणले राम्रो भनिरहेका हुन्छन् । उनीहरूलाई विश्वास गरेर हलमा गएका दर्शक निराश भएर फर्किने अवस्था आएको छ,” निश्चल भन्छन्, “इन्फ्लुएन्सरका कारण सिनेमा हेर्न गएको दर्शक उसले भनेजस्तो नपाएपछि यिनीहरूले झुट बोल्छन् भनेर पनि दर्शक चलचित्र हेर्न नगएको अवस्था छ ।”
कमर्सियल चलचित्रजस्तो क्रिएटिभ मुभीले ठूलो हाइप नबनाउने र यस्ता सिनेमा फुर्सदमा हेर्ने हो भन्ने मानसिकता नेपालमा मात्र होइन, विश्वभर छ । मेकरका लागि क्रिएटिभ मुभी बन्नुपर्छ भन्ने लागे पनि आमदर्शकको रोजाइ भने मनोरञ्जनात्मक सिनेमा नै रहेको पाइन्छ । यसको उदाहरणका रूपमा ‘छक्का पञ्जा’ र ‘कबड्डी’लाई लिन सकिन्छ ।
‘कमर्सियल सिनेमाको कन्टेन्ट जस्तो होस्, चारैतिरबाट पब्लिसिटी गरिरहेको हुन्छ । चौतर्फी रूपमा सिनेमाको कुरा आएपछि दर्शकलाई हेर्नुपर्छ कि क्या हो भन्ने हुन्छ,” निश्चल भन्छन्, “त्यसैले यो ठूलो समुदायबाट केही दर्शक आउँदा पनि धेरै हुन्छ । त्यसैले चलचित्र राम्रो बनाएर मात्रै हुँदैन, त्यसलाई प्रचार गर्न पनि सक्नुपर्छ ।”
यसको उदाहरणका रूपमा उनी ‘ऐना झ्यालको पुतली’लाई लिन्छन् । बुसान पुगेर न्यु–करेन्ट सेक्सनमा प्रतिस्पर्धा गरेको यो चलचित्रले यसलाई नेपालमा प्रचार समेत गर्न नसकेको उनको बुझाइ छ । निर्माण पक्षले यसैलाई प्रचारको साधन बनाउन नसकेको उनी बताउँछन् ।
तर, निर्देशक नवीन भने प्रचार गरेर मात्र सिनेमा नचल्ने तर्क गर्छन् । दर्शकको रुचिअनुसार उसले हेर्ने सिनेमा चयन गर्ने उनी बताउँछन् । दर्शकको रुचि निर्माण स्कुल तहदेखि हुने र यसलाई समाजका विभिन्न आयामहरूले प्रभाव पार्ने उनी बताउँछन् ।
पछिल्लो समय सिनेमा कसले बनायो र कसले खेलेको छ भन्ने बुझेर पनि चलचित्र हेर्ने गरिएको भन्दै निश्चल आक्रामक बजार प्रवर्द्धन नगर्नु पनि अर्को कारण भएको बताउँछन् ।
सिनेमा नचल्दाको डर
क्रिएटिभ सिनेमाको कमजोर बजारका कारण यस्ता सिनेमा बनाउन मेकरलाई डर सिर्जना भइरहेको निश्चल बताउँछन् । यस्तो सिनेमाको लगानी मात्र उठे पनि निर्माता र निर्देशकलाई ठूलो राहत महसुस हुने उनको अनुभव छ ।
क्रिएटिभ मुभीको बजार विस्तारमा पनि कमर्सियल चलचित्रको हात हुने उनको धारणा छ । “कमर्सियल चलचित्र लगातार चलेको अवस्थामा नेपाली सिनेमाप्रति दर्शकको विश्वास बढ्दै जान्छ । नेपाली सिनेमाप्रति विश्वास बढेर हलमा दर्शकको संख्या बड्दै जाँदा त्यहीँबाट क्रिएटिभ मुभी हेर्ने दर्शकको संख्या थपिँदै जाने हो,” निश्चल अगाडि थप्छन्, “तर, यो अवस्था आउन पनि कमर्सियल चलचित्र दर्शकले मन पराउने राम्रा बन्नुपर्छ । दर्शकलाई निराश बनाउने चलचित्र हुनु हुँदैन । कमर्सियल सिनेमाको बीचमा आएका चलचित्रप्रति पनि दर्शकको चासो बढ्दै जान्छ । नेपाली फिल्मप्रति नै चासो भएन भने जस्तोसुकै राम्रो चलचित्र पनि चल्दैन ।”
कर्मसियल सिनेमाको दर्शक वर्ल्डवाइड नै थोरै हुुन्छन् । उदाहरणका लागि विश्वभर वाहवाही पाएर थुप्रै इन्टरनेसनल फिल्म फेस्टिभल घुमेको सिनेमा ‘लञ्च बक्स’को कमाइ भारतमा निकै कम थियो । एक अर्ब आसपास मात्र हो, यो चलचित्रको बक्सअफिस रिपोर्ट ।
शोकै समस्या
राम्रा चलचित्रलाई हलले पर्याप्त शो नदिइरहेको यथार्थलाई नजरअन्दाज गर्न नसकिने निर्देशक निश्चल बताउँछन् । राम्रो समीक्षा र हेर्ने दर्शक सबैले राम्रो भनेका सिनेमाले पनि अपेक्षित शो नपाउनु दुःखद भएको उनको अनुभव छ ।
हल व्यवसायीका लागि सिनेमा व्यापार मात्र भएको सत्य भए पनि राम्रा नेपाली चलचित्रलाई भने बेवास्ता गर्न नहुनेमा उनको जोड छ । “उहाँहरू हामीले कानुनभन्दा बाहिर गएर केही गरेको छैन भन्नुहुन्छ, सरसरती हेर्दा हो पनि,” निश्चल भन्छन्, “तर, सबैले राम्रो भनेको, प्रि–रिलिज र रिभ्युमा सबैले तारिफ गरेको सिनेमाप्रति सकारात्मक हुनुपर्छ भन्ने मेरो बुझाइ र आग्रह हो ।”
नेपाली सिनेमाको प्रवर्द्धन गर्नुपर्छ भन्ने, समस्याबारे गफ गर्ने तर कोही पनि समाधानका लागि अग्रसर नहुने गरेको उनको दुखेसो छ ।
समस्याको समाधान कसले खोज्ने ?
“व्यापारिक शोबाहेक यो फिल्म चल्नुपर्छ भनेर सबै लागेको अवस्थामा प्रदर्शकले पनि नेपाली चलचित्रको प्रवर्द्धनका लागि मात्रै भए पनि केही सोच्नुपर्छ भन्ने मेरो धारणा हो,” निश्चल अगाडि थप्छन्, “एक्जिविटरमा यो सोच कहिलेबाट आउने हो । हिन्दी सिनेमाले मात्रै हामीलाई पैसा दिन्छ भनेर सोच्नु भएन । हामी हिन्दी सिनेमासँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनौँ लभनेर पनि सोच्नुपर्छ ।”
फिल्म चल्दै गएपछि शो थप्नु व्यापारिक सोच मात्र भएको भन्दै मागअनुसार बढ्छ भन्नु जिम्मेवार जवाफ नभएको निर्माताहरूको भनाइ छ ।
जिम्मेवार निकाय मौन बस्दा त्यसले मेकरहरूलाई निराश बनाएको निश्चलको भनाइ छ । चलचित्र विकास बोर्डले अप्ठ्यारो पर्दा नबोलेको निश्चलको गुनासो छ । चलचित्रकर्मीका लागि बोर्ड र सञ्चार मन्त्रालय नै सर्वोच्च निकाय भएको तर संस्कृतिसँग जोडिएर प्रश्न आउँदा जिम्मेवार निकाय मौन बस्नु उचित नभएको उनको गुनासो छ ।
“सबैले समस्याका कुरा गर्ने, नेपाली चलचित्रलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने तर व्यवहारतः कसैले पनि केही गर्ने देखिएन,” उनी भन्छन्, “प्राथमिकता भनेको के हो र कसरी दिने पिन पोइन्ट गरेर सोध्न र सम्बन्धित निकायले पनि उपयुक्त जवाफ दिन सक्नुपर्छ ।”
अधिकांश दर्शकले राम्रो भनेर प्रशंसा गरेको र मेकरले राम्रो हुँदाहुँदै पनि शो नपाएको भनेर गुहारिरहँदा बोड र सञ्चार मन्त्रालयल मौन बस्नु जायज नभएको उनको तर्क छ । राज्यका निकाय किन मौन छन् भन्ने प्रश्न गम्भीर भएको उनी बताउँछन् । “शो पाएन भनेर सबैले भनेको अवस्थामा यी निकायले केही भूमिका निर्वाह गर्न सक्दैन थिए ?,” उनको प्रश्न छ ।
चलचित्र विकास बोर्डले भने शो बाँडफाँटमा आफ्नो भूमिका नहुने जनाउँदै आएको छ । आफूसँग अधिकार नभएको विषयसँग जोडेर आफूलाई बदनाम गराउने प्रयास गरिएको चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बताउँदै आएका छन् । विज्ञप्ति निकाल्नेदेखि सार्वजनिक कार्यक्रममा समेत उनले शो बाँडफाँटको विषयमा बोर्डलाई नजोड्न आग्रह गर्दै आएका छन् ।
क्रिएटिभ र कमर्सियल दुवै सिनेमा निर्माण र प्रदर्शनमा ध्यान दिनुपर्ने निर्देशक विशाल भण्डारी बताउँछन् । एउटै विषय र जानराका सिनेमा एकैपटक निर्माण र रिलिज हुँदा पनि त्यसले अपेक्षित बजार नपाउने उनको भनाइ छ ।
“हाम्रोमा एकैपटक करिब–करिब उस्तै विषय र प्रस्तुतिका सिनेमा आए । एकै खालका सिनेमा एकैपटक आउँदा पनि यो समय दर्शक क्रिएटिभ सिनेमा हेर्न आएनन् कि भन्ने लाग्छ,” विशाल अगाडि थप्छन्, “सायद तीन/चार महिनाको अन्तरमा यी सिनेमा आएको भए सिनेमाको टेस्ट परिवर्तनका लागि पनि दर्शकले हेर्थे कि भन्ने लाग्छ ।”
सिनेमामा मनोरञ्जनकै खोजी
समाज पुनर्संरचनामा गइरहेको समयमा दुःखका कथा कति हेर्ने भन्ने मनोविज्ञानमा दर्शक छन् कि भन्ने तथ्यलाई पनि भुल्न नहुने विशाल औँल्याउँछन् । नेपालमा यी चलचित्र हेर्न दर्शकले उत्साह नदेखाए पनि विदेशी बजारमा नेपालको प्रतिनिधित्त्व गर्न भने अहिले आएको सिनेमा उपयुक्त भएको उनको धारणा छ ।
“एकपछि अर्को सिनेमा लगातार आउनु र कुनैलाई पनि दर्शकले नहेर्नु भनेको म यस्तो सिनेमा हेर्दिनँ भनेर दर्शकले भनेको हो,” विशाल भन्छन्, “यो सिनेमा हेर्ने दर्शक सीमित छन् । त्यसैले मेनस्ट्रिमजस्तो लगातार आउँदा दर्शक पाएनन् भन्ने मेरो बुझाइ छ ।”
दर्शकका लागि सिनेमा मनोरञ्जन मात्र रहेको र ‘छक्का पञ्जा’, ‘जात्रा’ हेर्न तयार भएर बसेको उनको भनाइ छ । दर्शकले खोजेजस्तो कन्टेन्ट बनाउन नसकेको बताउने उनी भन्छन्, “अहिले एउटा सिनेमा हेर्न जाँदा दर्शकको हजार रुपैयाँ खर्च हुन्छ । हजार रुपैयाँ किन खर्च गर्ने भनेर उसले सोच्छ । तनावपूर्ण जिन्दगीबाट एक छिन भए पनि मुक्ति मिलोस् भनेर मनोरञ्जनकै लागि हल जाने हो ।”
रमाइलो नै दर्शकको रोजाइमा पर्ने भएकै कारण पछिल्लो समय दक्षिण भारतीय सिनेमा रोजाइमा पर्ने गरेको आँखैअगाडिको तथ्यलाई भुल्न नहुने विशाल बताउँछन् । बलिउडका सिनेमा कन्टेन्टकेन्द्रित हुँदै जाँदा साउथबाट आएका रमाइला चलचित्रले हिन्दी सिनेमालाई छायामा पारेको तथ्य नेपालमा पनि लागु भइरहेको उनको निष्कर्ष छ ।
“हामी फिल्म लिट्रेसीको कुरा गर्छौँ । हामी फिल्म लिट्रेसी भएका मेकर हौँ भनेर जबर्जस्ती दिमागमा राखेर हिँडिरहेका छौँ,” उनी भन्छन्, “यथार्थमा हामी फिल्म लिट्रेड छैनौँ । हामी आफैँले आफैँलाई जबर्जस्ती मान्दिरहेका छौँ । तर, हाम्रो कम्मर अहिले पनि ‘चिज बडी हे मस्त मस्त...’ मै हल्लिन्छ ।”