बुटवल । नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठोरले देश बचाउनका लागि पाँच दलीय गठबन्धन गरिएको बताएका छन् । सोमबार महिला संघको प्रशिक्षण कार्यक्रमलाई बुटवलमा सम्बोधन गर्दै सहमहामन्त्री राठोरले मंसिर ४ को आम निर्वाचनमा गठबन्धन हुने दोहोर्याउँदै देश बचाउनका लागि गठबन्धन गरिएको बताएका हुन् ।
उनले कम्युनिस्टहरूलाई विकास र लोकतन्त्रप्रति प्रतिबद्ध बनाउनको लागि गठबन्धन गरिएको बताए । "यो गठबन्धन कुनै दल विशेषलाई बचाउन र जोगाउनका लागि गरिएको होइन्, देश दुर्घटनामा जान लागेपछि गरिएको हो । त्यसैले यसलाई सबैले स्वीकार्दै गठबन्धनलाई विजयी बनाउनु आवश्यक छ," उनले भने ।
उनले नेकपा एमालेलाई नाम मात्रैको संज्ञा दिए । "नाम कम्युनिस्ट मात्रै हुने हो, विचार सिद्धान्त केही छैन," उनले भने ।
प्रशिक्षण कार्यक्रमको शुभारम्भ सत्रमा बोल्दै नेपाली कांग्रेस केन्द्रLय सदस्य तथा महिला संघकी पूर्वअध्यक्ष ईश्वरी न्यौपानेले पार्टिको निर्णायक तहमा महिला नहुँदा समस्या आएको बताइन् । अब महिलाहरूलाई निर्णायक तहमा पुर्याउन आवश्यक रहेकोमा उनले जोड दिइन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रूपा बिक, गंगा शाही, महिला संघ केन्द्र सदस्य उषा राउत मिश्र, लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरि, प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्री, पत्रकार अनिता बिन्दु लगायतले बोल्दै महिलालाई टिकट बितरणमा प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।