काठमाडौं । नेपाल धितोपत्र बोर्डमा लामो समयदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि निवेदन दिएका कम्पनीहरू स्वीकृतिको पर्खाइमा छन् ।
अहिले पनि करिब तीन दर्जन कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । यी कम्पनीहरूले समयमा नै आवश्यक विवरण बोर्डमा बुझाउन नसक्दा ढिलाइ भएको बोर्डको भनाइ छ ।
नेपाल धितोपत्र बोर्डका नायब कार्यकारी निर्देशक तथा प्रवक्ता रूपेश केसी कम्पनीहरूले आवश्यक कागतपत्र नबुझाउँदा आईपीओ निष्कासन थाती रहेको बताउँछन् ।
“आईपीओ निष्कासन गर्न चाहने कम्पनीले निवेदन दिँदा ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’ मा भएको व्यवस्था अनुसार विवरण पुरा नबुझाउँदा ढिलाइ भएको हो । हामीले सम्भव भएसम्म फाइल रोक्ने गर्दैनौँ,” उनले भने, “हामीले विवरण अपडेट गर्नु भनेका हुन्छौँ । तर, कम्पनीले विवरण समयमा नै अपडेट गर्दैनन् । त्यही भएर पनि आईपीओ निष्कासनका लागि स्वीकृति दिन ढिलाइ भएको हो ।”
धितोपत्र बोर्डका अनुसार हालसम्म आईपीओ निष्कासन गर्न आवेदन दिएका कम्पनीहरूमध्ये पुरानो डिस मिडिया नेटवर्क लिमिटेड रहेको छ । यो कम्पनीले २०७७ असार ३० गते आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको थियो । तर, यो कम्पनीले दुई वर्ष पुग्दा पनि बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको छैन ।
बोर्डले २०७७ असोज १९ गते नै आवश्यक विवरण अद्यावधिक गर्न भनेको थियो । तर, त्यसयता यो कम्पनीले बोर्डमा आवश्यक विवरण पढाएको छैन । अन्य कम्पनीले पनि यसै गरिरहेका छन् ।
बोर्डमा कर्मचारी कम हुँदा पनि समस्या
बोर्डका प्रवक्ता केसीका अनुसार बोर्डमा कर्मचारी कम हुँदा पनि आईपीओ निष्कासन गर्न अनुमति दिन ढिलाइ भएको छ । उनले भने, “केही हदसम्म कर्मचारी कम हुँदा पनि आईपीओ निष्कासन गर्न आएका फाइलमा काम ढिलो पनि हुने गरेको छ । यसलाई बोर्डले पनि महसुस गरेको छ,” उनले भने, “तर, थोरै कार्मचारीमा पनि काम गर्नुपर्ने बाध्यता छ ।”
धितोपत्र बोर्डमा आईपीओ निष्कासन गर्नका लागि हाइड्रोपावर, लघुवित्त वित्तीय संस्था र बिमा कम्पनीहरूले आईपीओ निष्कासन गर्न निवेदन दिएका छन् ।